व्यवसायिक विद्युत् उत्पादन सुरु भएपछि न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

लमजुङ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ ।

प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनु भयो । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले-मध्यर्मस्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।

गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको आयोजनाबाट करिव २४ दिनको परिक्षण उत्पादन मानेर २७ गते देखि उत्पादित विद्युतको शुल्क तिर्नेगरी सहमति भएको आयोजनाका प्रशासकिय अधिकृत बासु गर्तौलाले बताउनुभयो । उहाँका अनुसार पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रशारण लाईन नहुँदा विद्युत उत्पादन रोकिएको थियो । १५-१५ मेगावाट क्षमताका दुईवटा युनिट रहेको सो आयोजनामा परिक्षणको क्रममा दुवै युनिटबाट २० युनिटसम्म विद्युत उत्पादन भएको र अव क्रमिक रुपमा पुरै क्षमतामा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिएको छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।

बुटवल पावर कम्पनी (बीपीसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो ।

नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?