काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युटले संयुक्तरूपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत् नेपाल बिजनेस समिट २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कृत गरेको छ ।
सिबिफिन उपाध्यक्ष राजेश उपाध्यायले विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्र माथि उकास्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताउनुभयो । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्ने उहाँको भनाइ थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा समिटका क्रममा भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, सांसद, गभर्नर, सचिवलगायत दातृ निकायका प्रतिनिधिका प्रतिबद्धता र सुझाव समेटिएका छन् ।
उद्योगमन्त्री रिजालले प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालालाई सहकार्यसहित अघि बढ्न मार्गनिर्देश गरेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्राडा कुसुम शाक्य, सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानलगायतले बोलेका थिए ।
नेपाल बिजनेस इन्ष्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई उद्योगमन्त्रीले नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।
प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरूले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः नगद एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकार कमलबहादुर कठायत, अमृता बजगाई, रूपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मतबहादुर नेपाली र वेणुप्रसाद अधिकारीले प्रोत्साहनस्वरूप नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच