म्याग्दी । दशैँमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ । तर, रहर भएर के गर्नु, यस बर्ष मुस्ताङी भेडाच्यांग्राको मूल्य अत्यधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन् । दशैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट निकासी भएका च्यांग्रा बजारमा आएका छन् ।
म्याग्दी, बागलुङ, पर्वत कास्की हुँदै काठमाडौंलगायत जिल्लाबाट व्यापारीहरू मुस्ताङका गाउँगाउँमा र किसानका गोठहरूमा नै पुगेर खरिद गरेका च्याङ्ग्रा बजारमा ल्याइपुर्याएका हुन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले शुक्रबारसम्म करिब दुई हजार भेडा च्याङ्ग्रा मुस्ताङ बाहिर निकासी भएको जानकारी दिनुभयो । यसवर्ष दशैँका लागि मुुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडा च्याङ्ग्रा निकासी हुने अनुमान गरेको उहाँले बताउनुभयो ।
हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दशैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । मुस्ताङमा ६५ वटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जंगली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।
एउटा च्याङ्ग्राको मूल्य ५० हजार
मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडा च्याङ्ग्राको मूल्य रोज्जाको ५० हजारसम्म पुगेको छ । त्यसैगरी, सबैभन्दा सानो र सबैले छाडेको च्याङ्ग्राको मूल्य पनि ३० हजारको हाराहारीमा पर्ने मुस्ताङबाट च्याङ्ग्रा लिएर पोखरातिर लैजाँदै गर्नुभएका व्यापारी यामबहादुर केसीले बताउनुभयो । उहाँसँग चार जनाको समूहले ३५० वटा च्याङ्ग्रा खरिद गरेर बेनी हुँदै पोखरातर्फ लैजाँदै हुनुहुन्छ । उहाँका अनुसार चार वर्षअघि ३० देखि ३५ हजारसम्म पर्ने च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजार पुगेको छ । मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मूल्य बढेको हो । घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ ।
मुस्ताङमा व्यापारीहरूले प्रतिगोटा च्याङ्ग्राको ४२ हजारसम्म मूल्य परेको बताएका छन् । केही वर्ष अघिसम्म २० देखि २२ हजारमा पाइने च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बरले बढेको व्यापारीहरूको गुनासोे छ । जोमसोम र लेतेमा पशु चिकित्सकहरूले मुस्ताङबाट बाहिरिने भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।
गत वर्ष ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको भेडा च्याङ्ग्रालाई व्यापारीले किसानबाट २० हजार देखि २५ हजार रुपैयाँसम्ममा खरिद गरेका थिए । मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चीनको तिब्बतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडा च्याङ्ग्रा आउने गरेका छन् ।
उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ । तिब्बती च्याङ्ग्राको तौल र मूल्य फरक हुने भएकाले पनि उपभोक्ताले व्यापारीसँग बुकिङ गर्ने गरेका छन् । पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित कृषकहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुलनामा भेडा च्याङ्ग्रा पालनमा आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र मुस्ताङले जनाएको छ ।
स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिइएको छ । मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्यांक संकलनसँगै स्वास्थ्य परीक्षणमा खटिएका छन् । बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरूलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यसवर्ष विगतमा भन्दा छिट्टै व्यापारी मुस्ताङमा पुगे पनि कृषकले व्यापारीबीच नै मूल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको व्यापारीको भनाइ छ ।
यसैबीच दशैँ तिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडापालन गरिएको छ । दशैँमा म्याग्दीबाट समेत एक करोडको भेडा च्याङ्ग्रा बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ । पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषकहरू बताउँछन् । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुुका लागि बजार पठाउने गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच