
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुईजना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुर्वजना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवैजना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।
कांग्रेसबाट विद्रोह गरेका आठ र एमालेका ३९ सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई शनिबार बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री हुनुभएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आहृवान गर्नुभएको थियो । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो । कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बन्नुभएको हो । कोशीमा एक वर्षको अवधिमा पाँचौं पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।
कोशीमा राजनीतिक संकट हट्यो- मुख्यमन्त्री कार्की
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीको राजनीतिक संकट हटेको बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले कोशीमा प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने चिन्ता हटेको बताउनुभएको हो । ‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने जनतामा चिन्ता र चासो थियो । राज्यको ढुकुकी बीचमै खर्च हुने पो हो कि भन्ने चिन्ता थियो त्यो हटेको छ, उहाँले भन्नुभयो, ‘कोशीमा राजनीतिक संकट समाधान भएको छ ।’
मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने पनि बताउनुभएको छ । ‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ । प्रदेशसभा विघटन नहुने भएको छ,’ उहाँले भन्नुभयोे, ‘अब सहमतिको सरकार बन्छ ।’ उहाँँले प्रदेशमा संविधानका साथै संघीयता कार्यान्वयन गर्ने प्रमुख अवसर रहेको पनि बताउनुभयो । ‘यो प्रदेश राजनीतिक रूपमा अत्यन्त अस्थिर छ । त्यसैले स्थिर सरकार सञ्चालन गरेर राजनीतिलाई स्थिर र गतिशील बनाउनु पहिलो दायित्व रहनेछ,’ उहाँले भन्नुभयो, ‘शून्य सहनशीलता कायम गर्नुका साथै सुशासनको प्रत्याभूति गराउँदै सहजरूपमा प्रदेश सरकारको प्रभावकारी सेवा प्रवाह गरी प्रदेशवासीलाई संघीयताको अनुभूति गराउनु छ ।’
उहाँले उत्पादन र उत्पादकत्व वृद्धिका साथै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर प्रदेश निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । सबभन्दा महŒवपूर्ण आन्दोलनरत पहिचान पक्षधरलाई सम्मानजनक रूपमा पहिचानको प्रत्याभूति गराउने आफूले प्राप्त गरेको अवसर सबै राजनीतिक दल, कर्मचारी, सञ्चारकर्मीलगायत सम्पूर्ण प्रदेशवासीको सहयोगमा पूरा गर्ने कार्कीको भनाइ थियो । उहाँले प्रदेशसभाबाट चाँडै विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने धारणा राख्नुभयो ।
गठबन्धन नभत्किने गरी सहमतीय सरकार बन्छ- विश्वकर्मा
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री र सभापति देउवालाई जानकारी दिएरै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा एमालेलाई पनि सहभागी गराएको दाबी गर्नुभएको छ । ‘कोशीमा गठबन्धन नभत्कने गरी गठबन्धनकै नेतृत्वमा सहमति सरकार बनाउने तयारी भइरहेको छ,’ विश्वकर्माले भन्नुभयो, ‘राप्रपालगायत सहभागी गराएर अहिलेको सरकारलाई सहमतिको सरकार बनाउने पहल हुन्छ ।’
कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ जनाले हस्ताक्षर गरेकाले मन्त्री बनाउनुलाई स्वभाविक रूपमै लिनुपर्ने उहाँको भनाइ छ । ‘कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको पनि लगानी छ,’ उहाँले भन्नुभयोे, ‘विश्वासको मत लिनका लागि पनि एमालेको साथ लिनुपर्ने हुन्छ, अहिलेको सरकारलाई सहमतिको सरकार बनाउने पहल पनि भइरहेकै छ ।’
हामी सहमतीय सरकारको पक्षमा छैनौं- कार्की
तर नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्कीले भने सहमतीय सरकारको पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादीसहितका दलहरू सहभागी हुने भए भने एमाले सरकारमा नरहने उहाँको भनाइ थियो । ‘सरकारमा अरू दल पनि सहभागी गराउने निर्णयमा मुख्यमन्त्री पुग्नुभयो भने हामी यो सरकारमा सहभागी हुँदैनौं,’ कार्कीले भन्नुभयो, ‘उहाँलाई मुख्यमन्त्री बनाउँदाको सहमति कायम भयो भने सरकारलाई समर्थन पनि रहन्छ, विश्वासको मत पनि दिन्छौं र सहभागी पनि हुन्छौं ।’
गठबन्धन संसद्को पूर्ण कार्यकालसम्म रहन्छ- प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी, जनमतलगायत राजनीतिक दलहरूको सत्तारुढ गठबन्धनले संसद्को पूर्ण कार्यकाल कायम रहने बताउनुभएको छ । चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले केही दलहरूले गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको तर त्यो सफल नहुने बताउनुभयो । कांग्रेस, माओवादीसहितको गठबन्धन पूर्ण कार्यकाल चल्ने दाबी गर्नुभएको हो ।
‘एकथरी मान्छेहरू छटपटिएका छन् । उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने, के गरी यो गठबन्धन उल्ट्याउने, यो गठबन्धन यसरी नै सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, अनि देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने, भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो । यसबाट अब कहिल्यै पनि सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरीहरू निकै विक्षिप्त भएको पनि तपाईंहरूले महसुस गर्नुभएको होला,’ उहाँले भन्नुभयोे,’ अब यो गठबन्धन पूर्ण कार्यकाल यही स्पिडमा राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु ।’
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको रूपमा प्रधानमन्त्री दाहालले अथ्र्याउनुभयो । सरकारले राम्रो काम गरिरहेको कुरा सहन नसकेर गठबन्धन फुटाउन खोजेको दाबी उहाँको थियो । ‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरूले पनि देख्नुभयो होला यही गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजनान्तर्गत ती कामहरू थिए,’ उहाँले भन्नुभयो । गठबन्धन जोगाउन कांग्रेस र माओवादी केन्द्र एकताबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
मध्यावधि रोक्नका लागि कोशीमा कांग्रेसको विद्रोही पक्षलाई सघायौं- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताउनुभएको छ । आइतबार प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताउनुभएको हो । ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ’, ओलीले भन्नुभयोे, ‘किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालले जे भन्छन् त्यो मात्रै गरे ।’
केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठूलो दल कांग्रेस लागेको भन्दै उहाँले कोशीमा पनि आठ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको जिकिर गर्नुभयो । उहाँले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताउनुभयो । ‘कोशी प्रदेश मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो हामी तयार थियौं तर देशको आर्थिक अवस्था नाजुक छ’, ओलीले भन्नुभयो, ‘यस्तो अवस्थामा एउटा प्रदेश मध्यावधिमा गयो भने देशमा ठूलो खतरा पनि हुनसक्छ भनेर मध्यावधिबाट जोगाउन यसपटक हामीले जोसुकैलाई सहयोग गरेर भए पनि रोक्यौ । कांग्रेसका विद्रोहीहरूलाई साथ समर्थन गर्यौ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच