सभामुखको प्रश्न : हामी सामन्तवादकै सिको त गरिरहेका छैनौँ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरुलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताउनुभएका लेखकको पुस्तक भएकाले पत्रकारहरु नै प्रमुख अतिथि बनाउन योग्य हुने उहाँको भनाइ थियो । राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा उद्घाटन, शिलान्यासलगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुप¥यो होला ? यो विवेचनाको विषय हो । तपाईहरुले यसमा विवेचना गर्नुस्, निस्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस् । त्यसको मतलव के हो भने म भन्दा अरुलाई बोलाएर यो कामको उद्घाटन गर्नु बेटर हुन्थ्यो । किनभने विगतमा हाम्रो राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा गासिन्थे । विभिन्न ठाउँमा लगेर उहाँहरुलाई उद्घाटन, शिलान्यासका कार्यक्रमहरु अर्थात् कुनै न कुनै रुपबाट गासिन्थ्यो । किनभन्दा त्यो एउटा सेन्टर पावर थियो, पावरको नजिक जान पाइयो भने त्यसले सफलता हासिल गर्न, आइपर्ने समस्या टार्नका लागि त्यसले संरक्षण गर्छ भन्ने सोचबाट त्यो काम हुन्थ्यो । र धेरै कामहरु गरिन्थ्यो । अहिले डरलाग्दो महामारी चीनबाट शुरु भएको, त्यस्तो एउटा महामारी, जसबाट नेपाल कमै प्रभावित भयो भन्ने मेरो अनुमान छ । त्यस कितावको लोकर्पण गर्ने काम कोबाट गर्दा राम्रो हुन्थ्यो । मलाई लाग्छ, चन्द्रशेखर कार्कीजीलाई नै प्रमुख अतिथि बनाएर पत्रकारबाट नै प्रकाशित गर्ने र दिनुपर्ने सन्देश दिएर प्रकाशन गरेको भए सायद यो व्यवहारिक हुनुपर्दथ्यो की । प्रेस काउन्सिलको अध्यक्ष हाम्रो बालकृष्णजीलाई प्रमुख अतिथि बनाएर गरेको भएपनि हुन्थ्यो । सामन्तवादलाई अन्त्य गर्नको लागि खेलेको भुमिकामा पत्रकार जगतको भुमिका महत्वपूर्ण छ, तर हामी त्यसकै सिको त गरिरहेका छैनौँ ?’

सभामुख घिमिरेले पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पत्रकार वा साहित्यकार बनाएको भए व्यवहारिक हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?