अरनिको : विदेशमा नाम स्वदेशमा गुमनाम

Read Time = 17 mins

✍️ प्रा.डा तीर्थप्रसाद मिश्र

नेपालले आफ्नो इतिहासको विभिन्न कालखण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति राख्ने व्यक्तित्व पाएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने तथा नेपाल र नेपालीको ख्याति अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउने व्यक्ति हुन्, अरनिको । उनी मुलुकको छवि उजागर गर्ने नेपाली सपूतमध्ये सर्वाधिक स्तुत्य, स्मरणीय र वन्दनीयपात्र हुन् । महान् चित्रकार, कलाकार तथा वास्तुकलाविद् पनि हुन्, अरनिको । यस्ता महत्वपूर्ण व्यक्तित्वका विषयमा नेपाली स्रोतहरू मौन छन् । नेपालमा उपलब्ध ऐतिहासिक स्रोतहरूमा यी चर्चित व्यक्तिले स्थान नै पाएनन् वा यसको प्रमाण हामीले खोजी गरेनौँ ? अथवा प्राप्त नै हुन नसकेको पो हो कि ?

यो विषय गम्भीर, पेचिलो र संवेदनशील छ । चीन मंगोलिया र इण्डोनेसियालगायत मुलुकमा आदर तथा सम्मानपूर्वक लिइने नाम हो, वास्तुकलाविद् अरनिको । सातौं शताब्दीमा नेपालको प्रसिद्धि तिब्बत, भोट तथा चीनमा पुर्‍याउने नेपाली राजकुमारी भृकुटीका बारेमा स्वदेशी ऐतिहासिक स्रोत मौन (हेर्नुहोस-हिमालय टाइम्स, २७ माघ २०७८ इतिहासको पानाबाट, विदेशमा नाम स्वदेशमा गुमनाम) भएजस्तै अरनिकोको सन्दर्भमा पनि यही अवस्था लागू हुन्छ । चिनियाँँ स्रोतको अध्ययन, विश्लेषण र स्थलगत अवलोकनका आधारमा शताब्दीपुरुष सत्यमोहन जोशी र मीनबहादुर शाक्यजस्ता अन्वेषक विद्वान्हरूले प्रयास नगरेको भए अरनिको इतिहासकै गर्भमा हराउने थिए । महान् कलाकार अरनिकोलाई श्रद्धासुमन व्यक्त गर्ने उद्देश्यले यो आलेख पाठकसमक्ष प्रस्तुत छ ।

अरनिकोको समाधिस्थल हालको चीनको राजधानी बेइजिङको समीप स्याङ सान स्यान काङ थ्रुआनको कीर्तिस्तम्भ नै अरनिकोको जीवन व्यक्तित्व र उनका कृतिहरूको विस्तृत विवरण प्रवाह गर्ने प्रमुख स्रोत बनेको छ । यसैबाट र अन्य चिनियाँ सूचनाकै आधारमा अरनिकोको चर्चा गरिएको पाइन्छ । चिनियाँँ स्रोतकै भरमा लुसियानो पटैक, सत्यमोहन जोशी, ज्ञानमणि नेपाल जस्ता विद्वान्हरूले ती नेपाली कलाकारका कौशल, सीप, दक्षता र योगदानका विषयमा चर्चा गरेका छन् ।

अरनिकोले नेपालमा छँदा नै वास्तुकलाका विविध पक्षमा दक्षता हासिल गरिसकेका थिए । नेपालबाट जाने सबै कालिगडहरू नेवार समुदायकै बौद्धमार्गी भएको अनुमान गर्न सकिन्छ । यी नेपाली कलाकारहरू नेपालको कुन स्थानबाट कुन-कुन सर्तमा केकसरी गए भन्ने कुनै ऐतिहासिक दस्ताबेज उपलब्ध छैन ।

चीनमा पुगेर प्रसिद्धि कमाउने अरनिकोका विषयमा चर्चा गर्दा नेपाल भोट चीन सम्बन्धको पूर्वसन्दर्भलाई पृथक राख्न सकिँदैन । नेपालको सम्बन्धमा उत्तरका मुलुक खासगरी भोट र चीनसँग घनिष्टता ल्याउने सर्वाधिक महत्वपूर्ण भूमिका बौद्ध धर्मले निर्वाह गरेको सर्वविदित तथ्य हो । शान्तिभद्र, अनन्तश्री, जेत कर्ण, सुमन कीर्ति, शान्तिश्री, पुस्वाजस्ता बौद्ध धर्मका पण्डित नेपालबाटै भोट पुगेका थिए । यसैगरी पद्मसम्भव पनि नेपाल भएरै भोट पुगी मानसम्मान पाउन सफल भए । यसैगरी नेवारी पण्डित महान् ज्ञानी (स्थानीयले दिएको नाम ग्रेट मर्सी तर खास नाम अज्ञात) ले त भोटबाट फर्कँदा एक हजार सुन दक्षिणा नै पाएका थिए (तीर्थप्रसाद मिश्र, दि टेमिङ अफ तिब्बत, दिल्ली १९९१ पृष्ठ २९-३०) ।

सातौं शताब्दीमा नै कुती र केरुङ मार्ग प्रचलनमा आएपछि चीनका भारत भ्रमण गर्ने तीर्थयात्री एवम् भिक्षुहरू नेपाल भएर नै जाने आउने गरेका दृष्टान्त पाइन्छन् । सोही शताब्दीमा नै नेपाली राजकुमारी भृकुटीले ल्हासामा झोकाङ मन्दिर निर्माण गराएकी थिइन् । उक्त मन्दिरको निर्माण नेपाली कालिगडहरूले गरेको अनुमान गरिएको छ । सोही समयदेखि नेपाली कालिगड, कलाकार, वास्तुकलाविद् जस्ता जनशक्तिको माग भोटमा हुने गरेको थियो । भोटमा रहेको प्रसिद्ध साक्या (स्याक्या) गुम्बाहरू बौद्ध धर्मालम्बीका लागि आकर्षणको केन्द्र थियो र नेपालका भिक्षु बाँडाहरूलाई उक्त गुम्बा गन्तव्यस्थल थियो ।

तेह्रौँ शताब्दीमा चीनलाई आफ्नो हातमा नचाउन सफल चंगेज खानसमेत साक्या गुम्बा र सम्बन्धित धार्मिक मठबाट निकै प्रभावित भएका थिए । यिनै चंगेजका नाति कुब्लाई खान सर्वत्र दिग्विजय गरी शक्तिशाली बादशाह हुन पुगेका थिए । उनले साक्या गुम्बाका संयनायक नाम गरेका व्यक्तिसँग बौद्ध धर्मदर्शनको दीक्षा लिए । यिनै कुब्लाई खानको आदेशमा साक्या गुम्बाका प्रमुखले सोही स्थानमा सुवर्ण चैत्य निर्माण गर्न नेपालका राजालाई सयजना वास्तुकलाकार/शिल्पकार पठाइदिन अनुरोध गरे ।

सोहीअनुसार नेपालका मल्ल राजा जयभीम मल्ल (अनन्त मल्ल) ले कालिगडको एक टोली भोट पठाइदिए । भनिन्छ, यस टोलीको नेतृत्व अरनिकोले गरेका थिए । अरनिकोले नेपालमा छँदा नै वास्तुकलाका विविध पक्षमा दक्षता हासिल गरिसकेका थिए । नेपालबाट जाने सबै कालिगडहरू नेवार समुदायकै बौद्धमार्गी भएको अनुमान गर्न सकिन्छ । यी नेपाली कलाकारहरू नेपालको कुन स्थानबाट कुन कुन सर्तमा केकसरी गए भन्ने कुनै ऐतिहासिक दस्तावेज उपलब्ध छैन । नेपाली कलाकारहरू अरनिकोको निर्देशनमा साक्या गुम्बाको सुवर्ण चैत्य निर्माण गरी सुनका मसीले कंग्युर र तंग्युर जस्ता बौद्धधर्म कृतिहरू उतार गरी शाक्यमुनि बुद्धको सुवर्ण मूर्ति, सुवर्ण चैत्य र अनेकौं बौद्ध मूर्ति बनाएको चर्चा सत्यमोहन जोशीले गरेका छन् (नेपाल र चीनको सांस्कृतिक सम्बन्धः प्राचीनकालदेखि अरनिकोसम्म, ललितपुर २०७६ पृष्ठ ९) । यो समय सन् १२६० आसपासको थियो ।

अरनिकोको प्रतिभा, कार्यदक्षता तथा सीपबाट साक्या गुम्बाका संयनायक पाहसपाले उनलाई कुब्लाई खानको दरबार पेचिङ लिएर गए । अरनिकोका अतिरिक्त कतिजना कलाकार तिब्बत गएका थिए भन्ने कुराको तथ्य उपलब्ध छैन । संयनायकद्वारा अरनिकोको प्रतिभा र अभूतपूर्व कलाकारिताको प्रशंसा सुनेका सम्राट कुब्लाई खान अरनिकोबाट प्रभावित भए । उनले बिग्रेर थन्किएको एउटा ढलोटको मूर्ति मर्मत गर्ने आदेश दिए । अरनिकोले तत्परताका साथ आफूलाई प्रदान गरिएको दायित्व पूरा गरी ढलोटको मूर्तिलाई मर्मत गरी आफ्नो सीप र दक्षताको परिचय दिए ।

यस कार्यबाट बादसाह प्रसन्न भई बेइजिङको श्वेत चैत्य महानिर्माण गर्ने दायित्व प्रदान गरे । अरनिकोकै नेतृत्वमा सन् १२७१ मा कार्य प्रारम्भ गरी आठ वर्ष लगाएर सो योजना पूरा भयो । यसपछि अर्को आठ वर्ष लगाएर उक्त चैत्यको परिसरमा नै एक बौद्ध विहार निर्माण गरे । यसपछि अरनिकोले चीनका अन्य प्रान्तमा पनि बौद्ध मूर्ति एवं कलाकृतिबाट सजिएका बौद्ध विहार बनाएका थिए (उही, पृष्ठ १०) । उक्त समयसम्म अरनिकोले धेरै चिनियाँँहरूलाई ढलोटकलामा दक्ष कालीगड बनाइसकेका थिए ।

कुब्लाई खानले अरनिकोको कौशल र सीपको सम्मान गर्दै वास्तुकला प्रमुखमा नियुक्त गरे (उही, पृष्ठ ११) । उनले चीनको राजधानीमा नै स्थानीयसँग विवाह गरी घरजम गरे । कार्यरत नै रहँदाको अवस्थामा ६२-६३ वर्षको उमेरमा उनको देहान्त भयो । त्यसबेलासम्म उनका छोराहरू पनि बाबुको काँध थाप्न सक्ने हैसियतमा पुगिसकेका थिए । भनिन्छ, अरनिकोपश्चात् उनैका छोराहरू वास्तुकला विभागमा कार्यरत रहे ।

अरनिको केबल वास्तुकलाविद् मात्र थिएनन्, उनी त एक कुशल चित्रकार पनि थिए । उनले बनाएको कुब्लाई खानको मुहारचित्र र साम्राज्ञीको छविचित्र ताइवानको ताइपे संग्रहालयमा सुरक्षित रहेको तथ्य मीनबहादुर शाक्यले पत्ता लगाई सोकोछायाप्रति पनि उपलब्ध गराए । जुन नेपाल आर्ट काउन्सिल बबरमहल ग्यालरीमा सजाइएको छ । अरनिकोको मृत्युपश्चात् चिनियाँँ सम्राटले उनलाई मरणोपरान्त प्रदान गरिने विशेष सम्मान मिङ हुई सम्मानबाट श्रद्धाञ्जलि दिएका थिए । आजसम्म चीनमा उनका कलाकृतिहरू देख्न सकिन्छ । बेइजिङमा उनको समाधिस्थलमा सन् १३११ मा खडा गरिएको कीर्तिस्तम्भ नै उनको जीवनी र कार्यका विषयमा जानकारी दिने एक भरपर्दो स्रोत हो ।

अरनिकोको विलक्षण प्रतिभाका विषयमा नेपाली समाजमा विभिन्न जनश्रुति विद्यमान छन् । बाबुआमासँग मन्दिर भ्रमण गर्दा सो मन्दिरको वास्तुकला तर निर्माणकर्ताका विषयमा उनी जिज्ञासा राख्थे भन्ने जनश्रुति पनि छ । हुन त ख्यातिप्राप्त व्यक्तित्वका विषयमा यस्ताखाले अनेकौँ अतिरञ्जित कुराहरू सुन्न पाइन्छ । जेहोस् नेपालका तर्फबाट चीनको पहिलो अवैतनिक सांस्कृतिक दूत अरनिको नै हुन् । अरनिकोका विषयमा नेपाली स्रोत मौन रहँदा कतिपय प्रश्न हालसम्म अनुत्तरित नै छन् । सही उत्तर पाउन पनि मुस्किल नै होला ।
अरनिकोको खास नाम के थियो भन्ने विषयमा पनि अलमल छ कसैले आनिक वा अरनिक भनेका छन् त कसैले उनको नाम चिनियाँँ भाषामा उच्चारण गर्दा अरनिको भएको चर्चा गरेका छन् । बाबुराम आचार्यले उनको नाम बलबाहु भएको जनाएका छन् । उनको जन्म कहिले भएको हो र सन् १२४४ मा भोट जाँदा उनी कति वर्षका थिए भन्ने पनि यकिन हुन सकेको छैन ।

अरनिकोको खास नाम के थियो भन्ने विषयमा पनि अलमल छ कसैले आनिक वा अरनिक भनेका छन् त कसैले उनको नाम चिनियाँँ भाषामा उच्चारण गर्दा अरनिको भएको चर्चा गरेका छन् । बाबुराम आचार्यले उनको नाम बलबाहु भएको जनाएका छन् ।

चीनमा रहँदा अरनिकोले धेरै विवाह गरेका थिए । र, कतिलाई त पारपाचुके पनि दिएका थिए भन्ने कथन छ । मृत्युकालीन समयमा नेपाली श्रीमतीबाहेक दुईजना मंगोलियन र सातजना चिनियाँँ श्रीमती रहेको उल्लेख पाइन्छ । उनले नेपालबाट श्रीमती लिएर भोट जान सम्भव देखिँदैन किनकि भोट जाने कसैले पनि श्रीमती लिएर गएको प्रमाण भेटिँदैन । उनका छोराछोरी चीनमै बसोबास गरेका र नेपालसँग कुनै सम्पर्क नभएको अनुमान हुन्छ । अरनिकोले देहत्याग गरेका थिए भन्नेसम्मका टिप्पणी पनि गरिएको पाइन्छ । उनी नेपालको कुन ठाउँबाट गएका हुन् भन्ने यकिन हुन सकेको छैन । ललितपुरमा कालिगडी कलाकारहरूको बाहुल्य रहेकाले सोही ठाउँबाट उनी भोट गएको अनुमान बाबुराम आचार्यले गरेका हुनसक्छन् ।

भोट तथा चीनमा प्रसिद्धि कमाएका नेपाली कलाकार अरनिकोका विषयमा नेपालमा कुनै ऐतिहासिक प्रमाण नपाइनु साँच्चिकै खड्किने विषय हो । चिनियाँँ स्रोतले प्रवाह गरेको सूचनाको आधारमा उनको योगदानको चर्चा गरिएको धेरैपछि मात्र नेपालमा अरनिकोको विषयमा चर्चा परिचर्चाहरू हुन थालेको हो । जेहोस् अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान दिनु, उनकै नामबाट कोदारी राजमार्गको नामकरण हुनु, उनको नाममा हुलाक टिकट प्रकाशन हुनु तथा पाटनमा उनको पूर्णकदको सालिक निर्माण हुनु निश्चय नै इतिहासलाई सम्मान दिने कार्य हुन् । अरनिको बहुआयामिक प्रतिभासम्पन्न धर्तीपुत्र हुन् । उनै महान् सपूतप्रति शब्दश्रद्धाका साथ लेखनीलाई विश्राम दिन्छु । अस्तु ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu sapkota.
Bishnu sapkota.
2022-10-09 7:28 pm

बिदेशमा नाम स्वदेशमा गुमनाम भएका ब्यक्तिका बारेमा तयार पारिएको याे आलेखले अरनिको बिषयमा बिबिध काेणबाट प्रस्तुत गरिएको छ।साथै यसले सकारात्मक सन्देश दिएको छ।

Arjun Deuba
Arjun Deuba
2022-10-10 8:41 am

अरनीकाे जस्तै गुमनाम अर्काे पात्र भृकुटी पनि हुन । तर दुर्भाग्य विदेशमा त्यत्राे मानसम्मानले सुशाेभित नेपाली चेलीकाे बारे नेपाली स्राेत नै नभेटिनु रहस्यकाे विषय बन्न पुगेकाे छ । हालसम्म पनि भृकुटीलाई अंशुबर्मा कि छाेरीकाे रुपमा चिनाउदै आइएकाे छ जुन तिथी मिती र घटनाक्रमसँग मेल खाँदैन । त्यसैले अरनीकाे , भृकुटी, सिता जस्ता राष्ट्रिय विभूतीहरुकाे बारे स्वदेश र विदेशमा प्राप्त ऐतिहासिक स्राेतहरुकाे तुलनात्मक अध्ययनकाे आधारमा ठाेस निर्क्याैलमा पुग्नु जरुरी देखिन्छ । यसाे हुनसकेछ भने मात्र इतिहास प्रति विश्वास र भराेसा पलाउने छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?