छोइनसक्नु महँगी : ऋण लिएर दशैँ

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । दशैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दशैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य अत्याधिक बढेको हो । बजारमा दशैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।

बजारमा महँगी बढेपछि दशैँ चहलपहलमा समेत कमी आएको छ । ग्रामीण क्षेत्रका बासिन्दामा खासै उत्साह छैन । आइतबार घटनास्थापनासँगै दशैँ सुरु भए पनि महँगीका कारण बजारमा किनमेल पातलो छ । तानसेन-३ भगवती टोलकी नारायणी गाहाले चिनी, दाल, कपडा सबैको मूल्य बढ्दा आफु जस्ता सामान्य आए भएकाहरु मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘साउनदेखि यता मूल्य एकदमै बढेको छ । सबै खाद्यन्नको मूल्य बढ्दा गाह्रो भएको छ । आयआर्जन छैन ।’

‘धेरै वर्षपछि दशैँ नरमाइलो लागेको छ,’ माथागढी गाउँपालिका झडेवाकी मिना सारुले भन्नुभयो, ‘महँगीको मार खपिसक्नु छैन ।’ गाउँघरको उत्पादनले दशैँ धान्न सक्दैन । अन्य आम्दानीको स्रोत नहुँदा सर्वसाधारण ऋण लिएर दशैँ मनाउनुपर्ने बाध्यतामा छन् । गुल्मी इस्मा गाउँपालिकाका प्रेम पाण्डेले भन्नुभयो ‘सामान्य जागिरले दशैँ धान्न मुस्किल छ, छोरोको जागिरबाट आएको थोरै रकमले धान्नै नसक्ने अवस्था छ ।’ छोरोले विदेशबाट पठाएको २० हजार रुपैयाँले दशैँमा आवश्यक पर्ने मासु, बालबच्चालाई कपडा र नुनतेल मरमसलाको जोहो गर्नु भनेको उहाँले सुनाउनुभयो । ‘२० हजारभन्दा धेरै पठाउन सकिएन, त्यसैले पुर्‍याउनु है बुबा भनेको छ,’ पाण्डेले भन्नुभयो, त्यति पैसाले नपुगेर १० हजार ऋण खोजेर छोराछोरीलाई कपडा किनिदिएको उहाँले सुनाउनुभयो ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ । उपभोग्य वस्तुको बजार मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैन । जसको मारमा आम उपभोक्ता परेका छन् ।

एक महिना अघिसम्म एक सय ९० रूपैयाँ किलो पाइने अडहरको दाल अहिले २ सय ४० पुगेको छ । मुसुरीको दाल अहिले एक सय ६० रूपैयाँ किलो पुगेको छ । त्यस्तै किलोको ९० देखि एक सय पर्ने चिनी अहिले एक सय २० देखि ३० सम्म विक्री भइरहेको छ । एक सय रूपैयाँमा पाईने चना अहिले किलोको एक सय ६० पुगेको छ । चामलको मूल्य पनि उस्तै छ । दुई महिना अघि एक हजार ९ सयमा पाइने २५ किलोको जिरा मसिनो चामल अहिले २ हजार ३ सय पुगेको छ । सोयाविन, सूर्यमुखी र तोरी तेलको मूल्य पनि बढेको छ । अहिले सोयाविन २ सय, तोरी र सूर्यमुखी २ सय १५ देखि २० सम्म पर्ने गरेको छ ।

खाद्यान्न मात्र होइन होटल तथा रेष्टुरेन्टका सामग्री, मरमसला, ग्याँस, कपडा, भाडा वर्तन, विद्युतीय सामग्रीलगायतका हरेक वस्तुको मूल्य बढेको छ । बजारभाउ महँगो हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने सकसमा छन् । लत्ताकपडा पनि महँगो उस्तै छ । दशैँका लागि भनेर तानसेन तेस्रो सडकमा कपडा किन्न पुग्नुभएका बगनासकाली गाउँपालिकाका रोहित गाहा अघिल्लो वर्ष एक हजार २ सयमा किनेको जिन्स पाइन्ट अहिले दुई हजार पर्दा छक्क पर्नुभयो ।

उहाँ भन्नुहुन्छ ‘अघिल्लो वर्ष दशैँमा १० रुपैयाँमा पनि पाइन्ट नबिकेर व्यापारीहरुको आउला भनेर हेरेर बसेका हुन्थे । अहिले त दशैँको मुखमा २ हजार भन्छन्, १५ सय रुपैयाँको जुत्तालाई अहिले दुई हजार रुपैयाँमा घट्नै मान्दैनन् व्यापारी ।’ मूल्य वृद्धिले दशैँ, तिहार कसरी मनाउने भनेर उपभोक्ता चिन्तित छन् । पाल्पा रैनादेवी छहराका विष्णु रायमाझीको आम्दानीको दरिलो स्रोत पनि छैन । ‘त्यसैले दशैँ नआए पनि हुन्थ्यो लाग्छ,’ उहाँले भन्नुभयो, ‘दैनिक ज्यालादारीबाट कमाएको थोरै थोरै जम्मा गरेको पैसाले दशैँ टार्नुपरेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?