कसैको व्यापारव्यवसाय राम्रोसँग चल्दा र आयआर्जन वृद्धि हुँदा ‘दशैँ लाग्या’छ’ भनेर जिस्काउने चलन छ । यसबाट पनि दशैँको सामाजिक र सांस्कृतिकमात्रै होइन आर्थिक महत्व पनि उत्तिकै रहेको प्रस्ट हुन्छ । अझ दशैँकै मौकामा आर्थिक गतिविधिमा हुने बढोत्तरीले पनि दशैँको आर्थिक महत्व झल्किन्छ । उत्पादक, व्यापारी र उपभोक्ताले व्यग्रतापूर्वक दशैँलाई पर्खने परम्पराले दशैँमा आर्थिक गतिविधिले तीव्रता पाउने तथ्यलाई पुष्टि गर्छ । त्यसैले दशैँ अर्थतन्त्रको छुट्टै महत्व रहेको देखिन्छ ।
हुनेखानेका लागि दशैँ रमाइलो चाड बने पनि हुँदाखानेका लागि भने पीडाको पहाडजस्तै बन्ने गरेको छ दशैँ । आयको अनिश्चित स्रोत र सीमित आयले परिवारको दैनिक आवश्यकता पूरा गर्न पनि समस्या भोगिरहेका गरिब नेपाली जनताले दशैँलाई रमाइलो चाडको रूपमा मनाउन पनि पीडाको पहाड नै छिचोल्नुपर्ने अवस्था छ । एकातिर सीमित आय र अर्कोतिर दशैँकै मुखमा आकाशिने मूल्यवृद्धिले गरिब उपभोक्तालाई बढी मारमा पार्छ । दशैँअघिसम्म ९० रुपैयाँमा पाइने एककिलो चिनीको मूल्य दशैँकै मुखमा १६० रुपैयाँसम्म पुगेको छ । यसैगरी हरेक उपभोग्य वस्तुको मूल्य बढेको अवस्थामा हुँदाखानेलाई दशैँ दशाजस्तै हुनु अस्वाभाविक होइन ।
अझै पनि मुलुकका १८.७ प्रतिशत जनता गरिबीको रेखामुनिको जीवननिर्वाह गर्न विवश छन् । उनीहरूको टाउकोमा प्रतिव्यक्ति ७६ हजार रुपैयाँको राष्ट्रिय ऋणको भार पनि छ । उनीहरूलाई दिनभरिको कमाइले छाक टार्न मुश्किल छ । राम्रो लाउने र मीठो खाने त सपनाकै कुरा भयो । यद्यपि ‘यावत जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा घृतम पीवेत्’ भनेर चार्वाक दर्शनमा भनिएझैं ऋणै गरेर भए पनि चाडपर्व मान्ने हाम्रो सामाजिक परम्पराले गर्दा एक छाक मीठो खाने जोहो सबैले गर्ने गरेका छन् । ‘चाडपर्व भनेकै गरिबका लागि हो’ भन्ने तथ्यलाई धेरै गरिब जनताले मनन गर्दै आएका छन् ।
हुनेखाने वर्गलाई सधैं दशैँजत्तिकै हुन्छ, हुँदाखाने वर्गलाई मात्रै हो दशैँ पर्खनुपर्ने । हुनेखानेहरूले सधैँ मीठोमसिनो खाएकै हुन्छन् राम्रो लाएकै हुन्छन् तर पनि एक छाक मीठोमसिनो खाएर र एक आङ राम्रो लाएर तिनै गरिब नेपाली जनताले चाडपर्व र संस्कृतिलाई बचाउँदै आएका छन् ।
पछिल्लो समय सरकारले प्रदान गर्ने वृद्धभत्ताले पनि ग्रामीण क्षेत्रका गरिब परिवारलाई निकै राहत प्रदान गरेको छ । मासिक चार हजारका दरले तीन महिनाको एकमुष्ट प्राप्त हुने बाह्र हजार रुपैयाँले गरिब परिवारलाई दशैँ मनाउन निकै सहयोग गरेको छ । त्यसैले वृद्धवृद्धाले पाउने त्यही वृद्धभत्ताले पनि दशैँ मनाएकै छन् गरिब जनताले । आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक किस्ता वृद्धभत्ता अहिले धमाधम वितरण भइरहेको छ ।
यसले ग्रामीण क्षेत्रका गरिब परिवारलाई दशैँ मनाउन निश्चितरूपमा मद्दत गर्नेछ । गाउँघरतिर निधारमा रातो टीका लगाएर मान्यजनको आशिर्वाद थाप्न खुशीले रमाउँदै लर्कन लाएर हिँड्ने र पिङमा मच्चिने तिनै गरिब नेपालीले नै दशैँको सांस्कृतिक र सामाजिक महत्वलाई बचाइ पनि राखेका छन् । दशैँ मनाउँदा लागेको ऋणको चिन्तालाई पनि दशैँको खुशीमा रमाएर बिर्सिदिनसक्ने तिनै गरिब नेपालीले नै बुझेका छन् दशैँको महत्व, र त तिनले जस्तै दुखमा पनि दशैँलाई निरन्तरता दिइरहेका छन् ।
हुनेखाने वर्गलाई सधैं दशैँजत्तिकै हुन्छ, हुँदाखाने वर्गलाई मात्रै हो दशैँ पर्खनुपर्ने । हुनेखानेहरूले सधैँ मीठोमसिनो खाएकै हुन्छन् राम्रो लाएकै हुन्छन् तर पनि एक छाक मीठोमसिनो खाएर र एक आङ राम्रो लाएर तिनै गरिब नेपाली जनताले चाडपर्व र संस्कृतिलाई बचाउँदै आएका छन् । बरू हुनेखानेहरूले आफ्नो संस्कृतिलाई बिर्संदै गएका छन् र आयातित संस्कृतिलाई अँगालेर आफ्नो मौलिक संस्कृतिलाई ओझेलमा पारेका छन् । हुनेखानेले सधैँ मीठोमसिनो खाने राम्रो लाउने तर हुँदाखानेले त्यस्तो गर्न नसक्ने हुँदा चाडपर्व भनेकै हुँदाखानेका लागि हो भन्ने भनाइमा केही हदसम्म सत्यता पनि छ । अरू बेला जेजस्तो खाएलाए पनि दशैँजस्ता ठूला चाडपर्वमा एक छाक मीठो खाने र एक आङ राम्रो लाउने व्यवस्था जोसुकैले गर्छन् भन्ने मान्यता रहिआएको छ । यद्यपि त्यस्तो व्यवस्था कसरी गर्छन् भन्ने कुराचाहिँ ज्यादै सोचनीय छ ।
गरिब जनतालाई आफ्नो थोरै कमाइले दैनिक छाक टार्ने कि चाडपर्वका लागि जोहो गर्ने भन्ने समस्या छ । राज्यले धनी गरिब सबैलाई आर्थिक अवसरको समान वितरण गर्न नसक्दा त्यस्तो अवसरबाट वञ्चित अधिकांश जनताको जीवनस्तर कहालीलाग्दो छ । त्यस्तो परिवारमा दशैँजस्तो ठूलो चाडपर्व आउँदा एक प्रकारको तनाव आएजस्तै हुन्छ । हुनेखानेका घरपरिवारमा खुसियाली छाउँदा त्यस्तो हुँदाखाने घरपरिवारमा तनाव र उदासीमात्रै बढ्छ । त्यस्तो तनावले जीवनलाई समाप्त पार्नुपर्ने घटनाहरू समेत भएका छन् । राज्यले त्यस्तो घटना हुन नदिन आर्थिक अवसरलाई न्यायोचित रूपमा वितरण गर्नुपर्छ र हुँदाखानेलाई पनि हुनेखाने बन्ने अवसर प्रदान गर्नुपर्छ । अनि मात्रै संस्कृति र परम्पराको जगेर्नासँगसँगै समावेशी विकासको अवधारणाले मूर्तरूप लिनसक्छ । समाजमा हुनेखाने र हुँदाखाने वर्गको विभेद रहुन्जेल समावेशी विकासको परिकल्पना नै गर्न सकिँदैन ।
जातीय विभेदको कुराले प्रश्रय पाइरहँदा वर्गीय विभेदको सवाल ओझेलमा परेझैँ भएको छ । हाम्रो समाजमा वर्गीय विभेद डरलाग्दो गरी बढेको छ । एकथरी धनीबाट झन् धनी हुँदैछन् । अर्कोथरी गरिबबाट झन् गरिब हुँदैछन् ।
दशैँकै अवसरमा आपूर्ति न्यून र माग उच्च भइदिँदा बजारमा वस्तुको मूल्यवृद्धि पनि हुन्छ । त्यस्तो मूल्यवृद्धिको सबैभन्दा बढी असर पनि तिनै हुँदाखाने वर्गलाई नै पर्छ । सरकारको अनुगमन निकाय निस्प्रभावी बनिदिँदा बजारमा मनपरी मूल्यवृद्धि हुन्छ । त्यसको मारले हुँदाखाने वर्गको क्रयशक्ति थप कमजोर हुन्छ । यसरी अप्रत्यक्षरूपमा दशैँको आर्थिक लाभ व्यापारीवर्गले मात्रै प्राप्त गर्दछन् र दशैँ पनि उनीहरूलाई नै बढी लाग्छ ।
दशैँ आउनुअघि नै शहरबजारमा दशैँ आइसकेको हुन्छ र दशैँको रौनक छाइसकेको हुन्छ । यसअर्थमा दशैँ सबैभन्दा पहिला सहरबजारका व्यापारीलाई लाग्छ, अनि त्यसपछि मात्रै सर्वसाधारणलाई लाग्छ । सर्वसाधारणमा पनि हुनेखानेलाई सबैभन्दा पहिला दशैँ लाग्छ, त्यसपछि मात्रै अरूलाई लाग्छ । सरसामानको जोहो गर्न र लत्ताकपडा किन्न सहरबजारका सपिङ मलहरूमा हुनेखानेहरूको भीड लाग्दा हुँदाखानेहरू चाहिँ बल्ल दशैँ मान्नका लागि सकेको जोहो गर्ने तर्खरमा हुन्छन् । हातहातमा लत्ताकपडा र सरसामानका पोका बोकेर रमाउँदै हिँड्ने हुनेखाने परिवारका सदस्यहरूले त्यही सपिङ मल वरिपरि अथवा बाटोमा नाङ्लो पसल थापेर बस्ने, मकै पोलेर बेच्ने, काँक्रो बेचेर बस्ने, भारी बोक्नेहरू, रिक्सा चलाउनेहरू, ठेलगाडा ठेल्नेहरूलाई गिज्याएजस्तो हुन्छ । अरू त्यसरी खुशीले रमाउँदै हिँडेको देखेर गरिबको कोटामा परेकाहरूले आफूलाई निकै सानो, पुड्को र दुःखी महसुस गर्छन् । अरूका खुशीलाई टुलुटुलु हेरेर आफ्नो खुशीलाई सपनामा सीमित पार्न बाध्य हुन्छन् गरिबहरू ।
हुन त जसलाई दिनहुँ ज्यालामजदुरी गरेर ज्यान पाल्नुपरेको छ उसलाई के दशैँ के तिहार ? जो दिनहुँ एक भारी दाउरा बेचेर छाक टार्न विवश छन्, तिनलाई के दशैँ के तिहार ? अनि जसलाई त्रिशुलीको चिसो पानीमा आधा शरीर डुबेर झिकेको बालुवा बेचेर छाक टार्नुपर्ने बाध्यता छ, उसलाई पनि के दशैँ के तिहार ? दशैँलाई दशाको पर्यायको रूपमा लिने यस्ता जनतालाई साँच्चिकै रमाउँदै दशैँ मनाउने अवसर प्रदान गर्नका लागि राज्यले अब मुलुकको आर्थिक तथा सामाजिक अवस्थामा आमल परिवर्तन ल्याउन साँच्चिकै ‘आर्थिक क्रान्ति’ नै गर्नुपर्ने आवश्यकता छ ।
यसका लागि उपयुक्त आर्थिक नीतिहरूको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नु, सुशासनमा जोड दिनु र आर्थिक समृद्धिमा जोड दिनु आवश्यक छ । साथै गरिबसँग प्रत्यक्ष सरोकार राख्ने राज्यका निकायहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि छ । किनभने हुँदाखाने वर्गलाई स्वरोजगार बनाएर उनीहरूलाई गरिबीबाट मुक्त गर्नसके मात्रै दशैँजस्ता ठूला चाडपर्वका बेला कोही सुखी र कोही दुखी हुने अवस्था रहँदैन र कसैले कसैसामु सानो, पुड्को र दुखी महसुस गर्नुपर्दैन । अनि कसैले पनि दशैँ आउँदा दशा आएको अनुभूतिले निराश हुनुपर्दैन ।
हुँदाखाने जनताले दुःखम्सुखम् दशैँका लागि सकेको जोहो गरिरहँदा हुनेखानेका घरघरमा दशैँको उपहार टक्र्याउनेहरूको ताँती लाग्छ । रक्सीका बोतलदेखि महँगा सारीका थान र पहाडबाट झिकाएको खसीदेखि विदेशबाट मगाएका गरगहनासम्म बोकेर ठेकेदार र व्यापारीहरू तिनै हुनेखाने शक्तिवालहरूका घरघरमा चाकरी बजाउन पुग्छन् । तर त्यसको मूल्य पनि उनै हुँदाखाने वर्गले नै चुकाउनुपर्छ । सरकार माफिया र दलालको इसारा र व्यक्तिगत स्वार्थमा चल्दा हुँदाखाने वर्ग कहिल्यै हुनेखाने वर्गमा परिणत हुन नसेकेको अवस्था छ ।
सत्तास्वार्थ र भ्रष्टाचारमा चुर्लुम्म डबेर देशलाई बर्बाद पार्ने, अनि भाषणमा चाहिँ विकास र समृद्धिका कुरा गर्ने निर्लज्ज नेताहरूले आफू सम्पन्न र शक्तिशाली बनेर जनतालाई चाहिँ तन्नम र कमजोर बनाएका छन् । थुप्रै स्रोत र सम्पदाले धनी र समृद्धिको सम्भावना बोकेको मुलुकलाई राजनीतिक गैरजिम्मेवारी र अकर्मण्यताले गरिब बनाइराखेको छ । त्यसैले वर्षमा एक पटक आउने दशैँजस्तो ठूलो चाडमा पनि नेपाली जनता मन फुकाएर रमाउन सकिरहेका छैनन् ।
जातीय विभेदको कुराले प्रश्रय पाइरहँदा वर्गीय विभेदको सवाल ओझेलमा परेझैँ भएको छ । हाम्रो समाजमा वर्गीय विभेद डरलाग्दो गरी बढेको छ । एकथरी धनीबाट झन् धनी हुँदैछन् । अर्कोथरी गरिबबाट झन् गरिब हुँदैछन् । त्यसैले गरिब अर्थात् हुँदाखानेका घरमा दशैँका लागि मुस्किलले केही वस्तुको जोहो हुँदै गर्दा धनी अर्थात् हुनेखानेका घरपरिवारमा फजुल खर्च हृवात्तै बढ्ने गरेको छ ।
त्यसरी हुने फजुल खर्चले थुप्रै गरिबहरूको कल्याण हुनसक्ने कुरामा भने कसैले ध्यान दिएका छैनन् । सरकारले पनि यस विषयमा केही सोचेको छैन । बलियाले कमजोरलाई उठाउन सहयोग गर्नुपर्छ भन्ने सामाजिक सोचको अझै राम्रो विकास हुन सकेको छैन । हुनेखानेको घरपरिवारमा बग्ने मदिराको खोलोलाई अलिकति कम गरेर थोरैमात्र रकम सामाजिक हितलाई सोचेर हुँदाखानेका गाउँठाउँमा प्रयोग गर्न सकियो भने त्यहाँ खानेपानीको व्यवस्था हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच