काठमाडौं । बडादशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक बढिरहेको छ । ट्राफिक प्रहरीका अनुसार हाल दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि दैनिक बाहिरिनेहरूको संख्या बढिरहेको हो ।
शुक्रबारसम्म सार्वजनिक यातायातमार्फत् मात्रै पाँच लाख बढीले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार शुक्रबार साँझसम्म पाँच लाख बढीले उपत्यका छोडेका हुन् । यो संख्या बढ्ने कार्यालयले जनाएको छ । ‘घटनस्थापनादेखि शुक्रबार साँझासम्म काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट पाँच लाख बढी यात्रु बाहिरिएका छन्,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षक राजेन्द्रप्रसाद भट्टले भन्नुभयो, ‘रातिसम्मै बाहिरिने भएकाले यो संख्या अझै बढ्न सक्छ । यस्तै बाहरिने क्रम नवमीको दिनसम्म जारी रहने भएकाले यकिन संख्या अन्तिममा मात्रै भन्न सकिन्छ ।’
सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत शनिबारदेखि केही दिनका लागि बन्द हुने भएकाले फूलपातीदेखि उपत्यका छाड्नेको दैनिक संख्या एक लाख २० हजारभन्दा बढी हुने अनुमान गरिएको छ । घटस्थापनायता निजी सवारीसाधनबाट घर फर्कनेको संख्या पनि ठूलो छ । ट्राफिक कार्यालयका अनुसार मोटरसाइकलबाट एक लाख, अन्य निजी सवारीसाधनबाट एक लाख र हवाईमार्गबाट ४० हजारभन्दा बढी यायु बाहिरिसकेका छन् । यो सबै जोड्दा करिब सात लाख पाँच हजार हुन आउँछ ।
घर जानेहरूको संख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडकखण्डमा यात्रु र सवारीसाधनको चाप बढेको छ । उपत्यकाबाट बाहिरिने विभिन्न नाकामा गाउँ फर्किनेहरूको भीड दैनिक बढ्दै गएको हो । काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँबसपार्कलगायत क्षेत्रमा बाहिरिनेहरूको लर्को लागेको हो । नयाँबसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्मै घर फर्किनेहरूको संख्या उल्लेख्य छ ।
गाडीमा सिट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको दाबी गरिरहे पनि त्यसो हुन सकिरहेको छैन । अग्रिम टिकट पाउनसमेत यात्रुलाई सास्ती छ ।
ट्राफिक प्रहरीले उपत्यकाका १५ भन्दा बढी ठाउँमा यात्रु सहायता कक्ष राखेर यात्रुहरूलाई सहायता गर्दै आइरहेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनलाई पनि चुस्त पार्न अन्य समयको तुलनामा बढी ट्राफिक परिचालन गरिएको छ ।
ट्राफिक कार्यालयले यसपटक १२ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने अनुमान गरेको छ । गतवर्ष नौ लाख यात्रु दशैँमा घर फर्किएका थिए । जीर्ण सडकका कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् । ठूला र सवारीसाधनको बढी चाप हुने राजमार्ग यतिबेला विस्तारका लागि भताभुंग पारिएको छ । जसका कारण दशैँको यात्रा निकै कष्टकर बनेको छ । पूर्व-पश्चिम राजमार्गमा धुलो र हिलोका कारण यात्रुलाई सास्ती भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच