म्याग्दी । आज विजयादशमी । घरघरमा चामलको भिजाएको चामललाई दहीमा मुछेर रातो रंङ वा अविरले रङ्याइ अक्षता तयार गरिन्छ ।
यिनै अक्षता नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनले निधारमा लगाइदिई आशिष वा आर्शिवाद दिने चलन छ । संसारमा सबैभन्दा पुरानो अन्नबाली जौ मानिए पनि टीका लगाउन चामलका अक्षता नै प्रयोग गर्ने गरिन्छ ।
नेपाली बृहत् शब्दकोशमा अक्षताको अर्थ ‘चामलका सग्ला गेडा, देवपितृ कार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा भनेर लेखिएको छ ।
पण्डित निलकण्ठ आचार्यका अनुसार शक्तिस्वरूपा दुर्गाको गुण आत्मसात् गर्ने मान्यता अनुसार प्रसाद स्वरूप अक्षताको टीका लगाउने प्रचलन शुरू भएको हो ।
पञ्चमहाभूत अर्थात् प्रकृतिको आराधना गरेर त्यसको प्रतीक स्वरूप अक्षताको टीका लगाउने प्रचलन शुरू भएको मानिन्छ । धार्मिक ग्रन्थहरुमा वर्णन गरिए अनुसार भगवान शिवजीलाई केही काम गर्न शक्ति चाहिन्छ, त्यो शक्ति भनेकै पार्वती अर्थात् दुर्गा हुन् ।शक्ति स्वरुपा मानिएकी दुर्गाको पूजा आराधना गरेर प्रसादस्वरूप अक्षताको टीका लगाउने चलन चलेको पं आचार्यले बताउनुभयो ।
टीका लगाउने संस्कृति योग र ध्यानसँग जोडिएको मान्नुहुन्छ पं कमलनाथ पौडेल । “दुई आँखीभौं बीचको भाग (भृकुटी) इडा, पिंगला र सुषुम्ना भनिने तीन वटा मूल नाडीको संगमस्थल हो, जसलाई आज्ञाचक्र पनि भनिन्छ । त्यही आज्ञाचक्रमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो” पं पैडेलले भन्नुभयो ।
घटस्थापनाको दिनमा मूलाधार चक्र स्थापना गरेर ध्यानको शुरूआत गर्ने र प्रकृति अर्थात् शक्तिको आराधना गरेर ध्यान केन्द्रित गर्दै माथिल्ला चक्रहरूलाई जागृत बनाउँदै जाने चलन बसेको पं पौडलको बुझाइ छ ।
कृषि वैज्ञानिकहरुका अनुसार संसारमा धानको उत्पत्ति १० हजारदेखि १४ हजार वर्षअघि भएको मानिन्छ । वैज्ञानिकहरूका अनुसार, चीनको जुचिआङ (पर्ल) नदीको किनारस्थित क्वाङचौ उपत्यकामा धानको उत्पत्ति भयो र अत्यन्त चाँडै भारत तथा नेपालमा भित्रिएको हो । पूजाको पञ्चोपचार (चन्दन, फूल, अक्षता, नैवेद्य र भेटी) विधिमा खाद्यान्न मध्येबाट चामल छानिएको धर्मशास्त्रीहरुको भनाइरहेको छ ।
मानिसले आफ्नो प्रिय अन्न सबैभन्दा पहिले भगवानलाई चढाएर मात्रै प्रयोग गर्ने नेपाली प्रचलन टीकामा पनि जोडिएको बताउनुहुन्छ बेनी नगरपालिका २ बगरफाँटका ८९ वर्षिय वेदप्रसाद उपाध्याय ।
उहाँका अनुसार आफूले खाने चीज भगवानलाई चढाउने परम्परा अनुसार अक्षताको प्रचलन शुरू भएको हो ।
सांस्कृतिक भिन्नता
संस्कृतमा एउटा सूक्ति छ । त्यो सूक्तिमा भनिएको छ : ‘दक्षिणे मातुली कन्या, उत्तरे मांस भोजनः’ अर्थात् दक्षिणका बाहुनहरू मामाकी छोरी विवाह गर्छन्, उत्तरका बाहुनले मासु खान्छन् । यसको अर्थ भौगोलिक क्षेत्र अनुसार हिन्दूहरूको सांस्कृतिक भिन्नता दर्शाउँछ । यही भिन्नताले अक्षता प्रयोगको मौलिकतालाई पनि छुट्याउँछ । नेपालको पहाडी भेगमा जतिबेला आदिशक्ति दुर्गाको आराधना गरेर दशैं मनाइन्छ, त्यसबेला भारतमा भगवान रामले लंका विजय गरेको उत्सव स्वरूप दशहरा मनाउने चलन छ । नेपालमा अक्षताको टीका लगाउने चलन छ भने भारतमा चन्दन । नेपालमा हिन्दूहरूले दशैंको विजयादशमीलाई मूल पर्वको रूपमा मनाउँछन् भने भारतमा तिहारको दिपावली ।
नेपालमा मनाइने दशैंको मूल आधार दुर्गा सप्तशती (चण्डी) हो भने दशहराको आधार रामायण । नेपालीहरुले मान्ने दसैं लंका विजयसँग नभई पौराणिक कालसँग जोडिएकोले नवदुर्गाको प्रसाद स्वरुप चामलको अक्षता लगाउने चलन नेपालमा विकसित भएको पं आचार्यले बताउनुभयो ।
संस्कृतको सूक्ति अनुसार, प्राचीन भारतवर्षको उत्तरखण्ड अर्थात् पहाडी क्षेत्रका आर्यहरूले मासु खान्छन् । त्यसैले पहाडे बाहुन–क्षेत्रीले बलि प्रथालाई प्रमुखता दिए र दशैंलाई महान् पर्वको रूपमा मनाउन थालेका पं आचार्यको बुझाइ छ । देवीलाई पूजा गरिएको वा चढाइएको अक्षता नै निधारमा लगाएन थालिएको उहाँले बताउनुभयो । पञ्चोपचार वा षोडषोपचारले पूजा गरेर बलि चढाइसकेपछि रगतले अक्षता रंगिन्छ । त्यही अक्षता शिरमा लगाउने भएकाले रातो अक्षता लगाउने चलन बसेको धर्मशास्त्रीहरुको मत रहेको छ ।
प्राचीन कालमा किरातहरु शिकार र कृषिमा नै आश्रित थिए । शिकार र खेतीपाती उनीहरुको जीवन जीउने आधार थियो । किरातहरुको मौलिक संस्कृति अक्षतासँग जोडिएको छ । उनीहरुले नै सवैभन्दा पहिला चामलको सेतो अक्षता प्रयोग गर्ने गरेका र पछि तागाधारीहरुले त्यसैको सिको गर्दै रङ मिसाएर प्रयोग गर्न थालेका किंवदन्तीहरु सुन्न पाइन्छ ।
अक्षतामा रङ र वैज्ञानिक महत्व
अक्षतामा रङ मिसाउने परम्परा भने निकै पछि मात्रै शुरू भएको र यसको पनि वैज्ञानिक महत्व रहेको उपाध्यायको भनाइरहेको छ । उहाँका अनुसार, रङ प्रयोग गर्ने कुरा मानिसहरूले इन्द्रेणीबाट सिकेका हुन् ।
आधुनिक विज्ञानले रातो, नीलो र पहेंलो रङलाई आधारभूत रङ माने पनि आर्य दर्शनले सूर्यको सात रङ (रातो, नीलो, पहेंलो, सेतो, गुलाबी, हरियो र वैजनी) लाई आधारभूत मान्छ ।
रङलाई प्रतीकको रूपमा पनि लिइने भएकाले दशैंलाई विजय, प्रेम र भ्रातृत्वसँग जोडेर रातो रङको प्रयोग गरिएको जानकारहरुको भनाइरहेको छ । रातो रङ विजय र बहादुरीको प्रतीक हो । सेतो रङ शान्ति, प्रकाश र ज्ञानको प्रतीक हो भने पहेंलो चाहिं बोध, ज्ञान, परमानन्दको प्रतीक रहेको पं आचार्यले बताउनुभयो । तर अक्षताको प्रचलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट प्रमाण कतै पनि नभेटिएको धर्मशास्त्रीहरुको मत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच