सभामुख घिमिरे र राष्ट्रसंघीय महासचिव गुटेरेसबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्नुभएकाे छ । सो क्रममा  सभामुख घिमिरेले व्यस्तताबीच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगतरुपमा गुटेरेसको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गर्नुभयाे ।

नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उहाँले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताउनुभयाे । नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको र निकट समयमा नै ऐन निर्माण गर्ने बताउनुभयाे ।

नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवं धरातलीय वस्तुस्थितिबाट निर्देशित रहेको बताउँदै उहाँले नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्ने र यो विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्ने बताउनुभयाे ।

जवाफमा महासचिव गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयाे । क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने उहाँको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?