काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिनुभएको छ । उहाँले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिनुभएको हो । परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउतलाई पनि खाता बन्द प्रक्रियाबारेमा जानकारी दिइएको महासचिव बुद्धि सुवेदीले बताउनुभएको छ ।
आइतबार शर्मासहितका पदाधिकारीहरू नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । सोही क्रममा शर्माले संघको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन सिइओलाई अनुरोध गर्नुभएको थियो । सिइओ राउतले संघको सम्पूर्ण तालाचाबी डा. बद्री केसीसँग रहेको जानकारी गराउनुभएको थियो ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरूको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा सञ्चालन गरिनु अवैध हुने भन्दै तत्काललाई रोक्का गरिएको बताउनुभएको छ । विधि र प्रक्रिया पूरा गरिसकेपछि खाताहरू पुनः सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो कीर्ते र अवैधानिक हुने अध्यक्ष शर्माको चेतावनी थियो ।
शर्मा नेतृत्वको एनआरएनएले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दाबी गरेको छ ।
श्रमिक समस्याबारे मन्त्रीको ध्यानाकर्षण
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गरी गैरआवासीय नेपालीको एजेण्डा सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ । सोही क्रममा मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै एनआरएनएका अध्यक्ष शर्माले मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । ज्ञापनपत्रमा नेपालीहरू रोजगारीका लागि जाने देशहरूमा देखिएको राजनीतिक अन्योलताले गर्दा भविष्यमा आउन सक्ने समस्याल सम्बोधन गर्न नेपाल सरकारका निकायको नेतृत्वमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) र युरोप संयोजक चिन्तामणि सापकोटाको संयोजकत्वमा एनसिसी प्रतिनिधि सदस्य तथा त्यहाँस्थित वैचारिक संस्थाका प्रतिनिधि संलग्न भएको समिति गठन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययनअनुसार आगामी १० वर्ष वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको सहजताका लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेले बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था एकद्वार नीतिबाट एक किसिमको नीति बनाउँदा श्रमिकलाई सहज हुने पनि ज्ञापनपत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षा कोषप्रति आकर्षण बढाउन समयअनुकूल नीतिमा परिमार्जन तथाा कोष सञ्चालक समितिमा एकजना एनआरएनएको प्रतिनिधित्वका लागि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै योगदानमा आधारित कोषलाई डिजिटल सूचना प्रणालीमा आबद्ध गर्ने कामको स्वागत गर्दै शर्माले पारिवारिक लगतमा आधारित एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । घरेलु महिला कामदारको सुरक्षा, न्यूनतम पारिश्रमिक तथा रोजगारीको सुनिश्चितताका लागि रोजगारदातासँग सुरुमै सम्झौता गर्ने प्रणाली विकास गर्नुपर्ने पनि उहाँको सुझाव छ । वैदेशिक रोजगारलाई सम्मानित र मर्यादित बनाउने काममा संघ नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको पनि उहाँले बताउनुभयो । शर्माले वैदेशिक रोजगारीमा इराक पुगेका नेपालीको पासपोर्ट नवीकरण नहुँदा कतिपय नेपाली नेपाल फर्कनसमेत नसकेको भन्दै इराकलगायत देशमा पासपोर्ट नवीकरण प्रक्रिया सहजीकरण गर्न विशेष पहलका लागि आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले कोषमा वैदेशिक रोजगारीमा जानेले बिमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्वार नीतिबाट लैजाने विषय सकारात्मक रहेको भन्दै कामदारमैत्री बनाउन पहल गर्ने आश्वासन दिँदै मध्यपूर्वलगायतका देशमा देखिएको श्रमिकसँग सम्बन्धित समस्या समाधान गर्न पनि मन्त्रालय गम्भीर रहेको जनाएको एनआरएनएद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, युरोप संयोजक चिन्तामणि सापकोटा, गैरआवासीय अयिभन्ता तथा पूर्वउपाध्यक्ष डिबी क्षेत्री, नारायण आचार्यको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच