इलाममा बिङ्गो खेलले वर्षौदेखि छुट्टिएका साथीलाई पुर्नमिलन गराउदै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । नेपालीहरुको महानपर्व दशैं सकिएको छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ । दशैँ तिहार संगसगै इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेलले चर्चा पाउने गर्दछ । यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साझमा इलामको रौनकले सदरमुकाम इलाम बजार धपक्कै बल्ने गरेको छ ।

बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै इलाममा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । सदरमुकाममा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको छ । यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको खेल यस वर्षपनि संचालनमा रहेको आयोजक संस्थाका प्रतिनिधि प्रकाश घिमिरेले बताउनुभयो ।

अन्यत्र व्यावसायीक रुपमै खेल खेलाइने भए पनि इलाममा भने मनोरञ्जनका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाइदै आएको पाइन्छ । वर्षैपिच्छे फेरिएर विभिन्न सामाजिक संघसंस्थाले बिङ्गो खेलको आयोजना गर्दै आएका छन् । इलामका तत्कालिन बडाहाकिम प्रकाशचन्द्र मुखियाले इलाम सदरमुकाममा बिङ्गो खेल भित्र्याएको जानकारहरु बताउँछन् ।

बिङ्गोबाट यस अघि संकलित रकमबाट इलामको ठूलो टुँडिखेल मर्मत, ब्लड बैंक भवन निर्माण, नेपाल पत्रकार महासंघ इलामको भवन निर्माण, इलाम चोकबजारमा रहेको पिपिटावर निर्माण गरिएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि इलाममा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको इलामका चर्चित बिङ्गो खेल संचालक सुदिप श्रेष्ठले बताउनुभयो ।

इलाममा बिङ्गो खेल्नकै लागि गाडी चढेर टाढा-टाढाबाट समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएकाहरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको स्थानिय संबिधान भट्टराईको भनाई छ ।

वर्षौदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिन्छन् यसैले पनि साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्नेवित्तिकै इलाम बजारमा चाहलपहल सुरु हुने गरेको अर्का स्थानिय दिनेश ढकाल बताउनुहुन्छ । यसैले पनि इलामबासीले दशैं र तिहारलाई कर्मथलो छाडेर जन्मथलो फर्कने एउटा मुख्य पर्वका रुपमा पनि लिने गरेका छन् । यस्तै पहिले ठाउँ-ठाउँमा राखिएका लिङ्गे पिङ र विभिन्न खेलकुद प्रतियोगिताले दशैँको बेला गाउँघर तथा शहर-बजारलाई पुरै तताउँथ्यो । यस वर्षको दशैँमा भने ठीक उल्टो भएको छ । सबैतिर सुनसान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?