वर्ष २०७९ : उत्साह, विवाद र पलायनको वर्ष

हिमालय टाइम्स
Read Time = 22 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । वर्ष २०७९ नेपाली खेलकुदका लागि उत्साह, विवाद र पलायनको वर्षका रूपमा रहृयो । वर्षको अन्त्यमा क्रिकेट र फुटबलमा खुसी दिँदा त्यसअघि भने यिनै खेलहरू विवादमा अल्झिए । फुटबललगायत खेलका खेलाडीहरू पलायन कहालीलाग्दो रहृयो । विश्वकप क्रिकेट लिग ‘टू’ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपालले मच्चाएको सनसनी सम्झन लायक रहृयो । उक्त प्रदर्शनले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा समेत स्थान बनाएको थियो । तर, तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको अभियोग लाग्नु, क्यानले आयोजना गरेको टी-२० कपमा स्पट फिक्सिङ हुनुले क्रिकेट विवादरहित रहेन ।

यता, नेपाली फुटबलले पनि वर्षको अन्त्यमा थ्री नेसन्स कपको उपाधि जित्दै नेपालीहरूलाई खुसी दिलायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटान र लाओससँग नेपालले थ्री नेसन्स कप खेलेको थियो । जसमा नेपालले फाइनलमा लाओसलाई दुई-एक गोलले हराउँदै उपाधि जितेको हो । तर, यसै वर्ष तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरी तथा खेलाडीबीचको विवाद, एन्फाका पदाधिकारीहरूबीचको विवाद उदेकलाग्दो थियो । यसै वर्ष राष्ट्रिय टोलीबाट खेलिसकेका ४० भन्दा बढी खेलाडीहरू विदेशिँदा पलायनको कहालीलाग्दो अवस्था बनेको थियो ।

यसै वर्ष गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुदको आयोजना भयो । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरियो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएको एक गरी ११ टोलीका छ हजार १५७ खेलाडी सहभागी भए । आर्मी च्याम्पियन बन्यो । सोही नवौँ खेलकुदमा प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी नेपाल आर्मीका निसिम थापाले ज्यान गुमाउनुभयो । यस्तै, वैशाखको अन्तिममा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीले गरेको आत्महत्या पनि नेपाली खेलकुदका लागि दुखद नै रहृयो । समग्रमा यस वर्ष नेपाली खेलकुदमा भएका उतारचढाव यस्ता छन् ।

क्रिकेटको चमत्कार
यस वर्षको अन्त्यमा नेपाली क्रिकेट टोलीले चमत्कार नै ग¥यो । विश्वकप क्रिकेट लिग ‘टू’ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपालले अभूतपूर्व प्रदर्शन गरेको हो । उक्त प्रदर्शनले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा समेत स्थान बनाएको थियो ।

एकदिवसीय मान्यता जोगाइराख्न नेपालले बाँकी १२ मध्ये कम्तीमा नौ खेल जित्नैपर्ने अवस्था थियो । असम्भव ठानिएको समीकरणलाई नेपाली टोलीले सम्भव बनाई देखायो । यहीबीच २-९ फागुनसम्म नेपालमै भएको नामिबिया र स्कटल्याण्डविरुद्धका चार खेलमै नेपालले जित निकाल्यो । यस्तै, १५-२२ फागुनमा युएईमा भएको युएई र पपुवा न्युगिनीसँगको शृंखलामा तीन र लगत्तै नेपालमा भएको खेलमा चारवटै खेल जितेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि सुरक्षित गर्‍यो भने जिम्बाबेमा असारमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा समेत स्थान बनायो । जितपछि नेपाली टोलीलाई सरकार तथा पालिकाहरूबाट बधाई तथा सम्मानको ओइरो लागेको छ ।

थ्री नेसन्स कपको उपाधि
यस्तै, वर्षको अन्तिममा एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको उपाधिसमेत नेपाली फुटबल टोलीले जित्दै नेपालीहरूलाई खुसी दिलाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटान र लाओससँग नेपालले थ्री नेसन्स कप खेलेको थियो । जसमा नेपालले फाइनलमा लाओसलाई दुई–एक गोलले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर प्राप्त गर्‍यो भने भने उपविजेता लाओसले तीन हजार डलर प्राप्त गर्‍यो ।

यस वर्षको अन्त्यमा नेपाली क्रिकेट टोलीले चमत्कार नै ग¥यो । विश्वकप क्रिकेट लिग ‘टू’ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपालले अभूतपूर्व प्रदर्शन गरेको हो । क्रिकेटका लागि २०७९ सुखद रहृयो भने अन्यमा उतारचढावको वर्ष रहन गयो ।

एन्फा, अलमुताइरी र खेलाडी
अखिल नेपाल फुटबल संघ(एन्फा), तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीहरूबीचको विवाद यस वर्षको सुरुवातमै चर्चामा रहृयो । अलमुताइरीले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरेको भन्दै वैशाख दोस्रो साता १० खेलाडीले बन्द प्रशिक्षण नै छोडे । आफूहरूलाई राष्ट्रिय टिम नै छाडेर जान भनिएको, आधारभूत कुराहरूमा कुरा उठाउँदा चुप लगाइएको लगायतका आरोप खेलाडीहरूले लगाए । प्रशिक्षक अलमुताइरीले पनि उनीहरूलाई हटाउँदै नयाँ खेलाडी टोलीमा बोलाउनुभयो । त्यसपछि एन्फाले छानबिन समिति गठन गर्दै अलमुताइरीलाई सचेत गरायो ।

प्रतिवेदनमा खेलाडीले क्याम्प छाडेर गएको तथ्यमा नदेखिएको तथा मुख्य प्रशिक्षकले बारम्बार अमर्यादित भाषामा प्रशिक्षण बाहिर जान भनेपछि खेलाडी बाध्य भएको देखिएको प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनमा मुख्य प्रशिक्षक अलमुताइरीले एकपक्षीय हिसाबले र चेन अफ कमाण्डबाहिर रहेर काम गरेको ठहर गरेको थियो । त्यसै घटनाको उपक्रमस्वरूप अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण छोड्नुभएको थियो । नेपाललाई साफको फाइनलमा पुर्‍याउने उहाँ एकमात्रै प्रशिक्षक हुनुहुन्छ । उहाँको बहिर्गमनपछि एन्फाले पहिलोपटक मुख्य टिमको मुख्य प्रशिक्षकमा इटालीयन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई भित्र्याएको छ । एन्फाले फागुन अन्तिम साता अल्बर्टोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उहाँको प्रशिक्षकत्वमा नेपालले थ्री नेसन्स कपको उपाधि जितिसकेको छ ।

सञ्जुको आत्महत्या
वैशाखको अन्तिममा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी ललितपुरस्थित एक घरमा आत्महत्या गरेको अवस्थामा भेटिँदा खेलकुद क्षेत्र स्तब्ध बनेको थियो । नेपालगञ्जकी २२ वर्षीय उहाँले महिला ५९ केजी तौल समूहतर्फ श्रीलंकन खेलाडीलाई हराउँदै देशका लागि स्वर्ण पदक जित्नुभएको थियो । उहाँको आत्महत्याबारे थप अनुसन्धान भने भएन ।

घटेको बजेट
जेठ १५ मा सरकारले घोषणा गरेको बजेटमा खेलकुदको अंश भने अझै घट्यो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपैयाँ छुट्याएको जानकारी दिनुभएको थियो । त्यसअघि सरकारले आर्थिक वर्ष २०७८-०७९ मा युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । खेलकुद विकासको २० वर्षे गुरुयोजना निर्माण गरिने भनिए पनि त्यसको ठोस कार्यान्वयन केही भएको छैन ।

एन्फामा नयाँ नेतृत्व
असार ६ गते भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी हुनुभयो । उहाँले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभयो । नेम्बाङले ८४ मतमध्ये ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत ल्याउनुभएको थियो । तर, निर्वाचनपछि नै नेम्बाङका लागि एन्फा अध्यक्ष पद सकसपूर्ण बन्न थाल्यो । निर्वाचित भएसँगै उहाँले पदाधिकारी चयन तथा निर्णय प्रक्रियामा सर्वसम्मति जुटाउन सक्नुभएन । कैयौंपल्ट एन्फा बोर्ड बैठकहरू विवादित भए । उपाध्यक्षहरू विराटजंग शाही, दीपक खतिवडा, दीर्घबहादुर केसीसहित सदस्यहरू पेमाडोल्मा लामा, रूपेश अधिकारी, रविन्द्र चन्द र रमेश व्यञ्जनकारलगायतले नेतृत्वको आलोचना गर्दै आउनुभएको छ । उहाँहरूले एन्फाका महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त तथा फिफा विश्वकप २०२२ को टिकट अनाधिकृतरूपमा बिक्रीलगायतका एजेण्डा उठाउँदै आउनुभएको छ ।

स्पट फिक्सिङ र क्यान
नेपाल क्रिकेट संघ(क्यान)ले यस वर्ष फ्रेञ्चाइजी लिगका रूपमा नेपाल टी-२० लिग आयोजना गर्‍यो । जुन विवादले घेरियो । सुरुमा त क्यानले लिग भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेच्ने निर्णय नै विवादमा पर्‍यो । जुन सम्झौता क्यानले पछि खारेजसमेत गर्‍यो ।
प्रतियोगिताबाट स्पट फिक्सिङको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गर्‍यो । हाल उहाँहरूमाथि अनुसन्धान चलिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी-२० लिग आयोजनाका लागि भएको सम्झौता त्रुटिपूर्ण रहेको निष्कर्ष राखेपले बनाएको छानबिन समितिले निकालेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि नेपाल टी-२० लिगमा छानबिन गरिरहेको छ । लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन थालेको हो ।

यस्तै, खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै खेल नै खेल्नसमेत नआएको अवस्था सिर्जना भएको थियो । यसै विषयमा पोखरामा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक पाँचजना सदस्यले बहिष्कार गरेका थिए ।

नवौँ राष्ट्रिय खेलकुद
यस वर्ष असोज-कात्तिकमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरियो । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएको एक गरी ११ टोलीका छ हजार १५७ खेलाडी सहभागी भए । त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताको च्याम्पियन नेपाली सेनाको टोली बन्यो । १७२ स्वर्णसहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो । राखेपले बृहत् राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रनिङ शिल्ड निर्माण गरेको थियो । १० लाख रुपैयाँ लागतमा निर्माण भएको चाँदीको ट्रफी उचाल्ने पहिलो टिम पनि त्रिभुवन आर्मी बन्यो । आर्मीले सातौँ राष्ट्रिय खेलकुद (२०७३-इटहरी), आठौँ संस्करण (२०७६-नेपालगञ्ज)मा पनि उपाधि उचालेको थियो । अब दशौँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको छ । कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म आयोजना गरिने तय भएको छ ।

प्याराग्लाइडिङ दुर्घटना
नवौँ खेलकुदअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा दुखद निधन भयो । नेपाल आर्मीका तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० हस्पिटलचोकका निसिम थापाको प्याराग्लाइडिङ दुर्घटना हुँदा निधन भयो । २६ वर्षीय थापा उडेलगत्तै उहाँ करिब एक सय मिटर तल जमिनमा बजारिनुभएको थियो । ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उहाँ जमिनमा बजारिनुभएको थियो । उहाँलाई उपचारका लागि गण्डकी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

सन्दीप लामिछानेमाथि बलात्कार आरोप
यस वर्ष नेपाली खेलकुदमा सबैभन्दा हट विषय बन्यो, तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप । भदौ दोस्रो साता एक युवतीले सन्दीपविरुद्ध बलात्कारको मुद्दा दर्ता गराइन् । युवतीले आफूलाई नाबालिग दाबी गर्दै उजुरी दिएकी थिइन् । त्यसबेला सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइण्डिजमा हुनुहुन्थ्यो । उजुरी परेपछि नेपाल आउँछु भन्नुभएका उहाँ एक महिना उतै हराउनुभयो । पछि नेपाल फर्किई उहाँ प्रहरीसामु हाजिर हुनुभयो । प्रहरीले उहाँलाई विमानस्थलमै पक्राउ गरेको थियो । त्यसपछि उहाँमाथि चलेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

यसबीच तीन महिना जेल बसेपछि उच्च अदालतले उहाँलाई धरौटीमा रिहा गरेको थियो । उहाँलाई विदेश जान रोक लगाइए पनि क्रिकेट खेल्न भने रोकिएको थिएन । सोही कुरामा टेक्दै क्यानले उहाँमाथि लगाएको प्रतिबन्ध फुकुवा ग¥यो र उहाँले विश्वकप क्रिकेट लिग-२ मा लगातार उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

आठ वर्षपछि विश्वकप
नेपाली यू-१९ क्रिकेट टोली आठ वर्षपछि विश्वकपमा पुग्यो । युएईलाई हराउँदै नेपालले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । युएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेत सम्मिलित प्रतियोगितामा अपराजित रहँदै नेपाली टिम च्याम्पियन बन्यो र अर्को वर्ष श्रीलंकामा हुने यू-२० विश्वकपमा छनोट भएको हो । नेपालले पछिल्लो पटक सन् २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । त्यसपछि विश्वकपमा स्थान बनाएको यो नै पहिलोपल्ट हो । त्यसअघि भने नेपालले नेपालले २००० देखि २००८ सम्म लगातार विश्वकप खेलेको थियो ।

डबल राउण्ड रोबिनमा लिग
नेपाली फुटबल इतिहासमै पहिलोपल्ट एन्फाले डबल राउण्ड रोबिनमा ‘ए’ डिभिजन लिगको आयोजना गर्‍यो । फागुन १९ बाट सुरु लिग हाल चलिरहेको छ । पहिलोपल्ट एकैपल्ट तीन रंगशाला र राती पनि लिग खेल्ने व्यवस्था मिलाइएको छ । लिगमा पहिलोपल्ट १८२ वटा खेलहरू हुँदैछन् । लिगको पुरस्कार रकमसमेत बढाइएको छ । प्रथम हुने टिमले नगद ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार पाउनेछन् । लिगमा एक क्लबले फेयर प्ले अर्वाडस्वरूप तीन लाख पाउनेछ । यस्तै, लिगको सर्वोत्कृष्ट खेलाडीले पनि तीन लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान दुई-दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

खेलाडी पलायन
नेपालमा भविष्य नदेखेर विदेशिने फुटबल खेलाडीहरूको संख्या यस वर्ष हृवात्तै बढ्यो । राष्ट्रिय टिमबाट खेलिसकेका ४० बढी खेलाडीहरू विदेशिए । राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी, मिडफिल्डर तेज तामाङ, डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डर नितिन थापा र स्ट्राइकर रञ्जन विष्ट विदेशिनुभएको छ ।

यस्तै, डिसेम्बर २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि स्वर्णपदक जित्ने खेलाडीहरू दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र अभिषेक रिजालले पनि नेपाल छोडिसक्नुभएको छ । त्यसबाहेक सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, सन्जोक राई, गौतम श्रेष्ठ, आकाश बुढामगर, शिव गुरुङ र राजन गुरुङजस्ता प्रतिभावान् खेलाडीहरू नेपालमा भविष्य नदेखेर विदेश पलायन भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?