बेलाबेलामा नेताहरूमाथि विभिन्न लाञ्छना तथा आरोप लाग्ने गर्छन् । ती मध्ये कतिपय आरोप यथार्थ हुन्छन् भने कतिपय मिथ्या पनि हुनेगरेका छन् । कतिपय मिथ्या आरोप कुनै अभियानलाई सघाउ पुर्याउने उद्देश्यबाट प्रायोजन गरिएका हुन सक्छन् । हाल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध लागेको आरोप कुनै अभियानबाट प्रेषित होइन । यसका केही अन्तर्य हुनसक्छन् । उहाँमाथि कम्बोडियाको टेलिकममा तीन हजार करोड अर्थात् तीस अर्ब नेपाली रुपैयाँ लगानी रहेको आक्षेप छ । बेलाबेलामा नेताहरूमाथि लाग्ने यस्ता आरोप बिस्तारै हराएर जाने गर्छन् ।
लगाइएको आरोपमा सत्यता वा यथार्थता नपाइएपछि र जनताको आक्रोश पनि बिस्तारै मत्थर हुँदै गएपछि ती आरोपले चर्चा पाउन छोड्छन् । ओलीमाथिको यो आरोप पनि केही समयपछि बिस्तारै सेलाउँदै जान्छ भन्नेमा दुई मत छैन । नेपालीहरूले के कति रकम विदेशी बैंकहरूमा राखेका छन् र कहाँ–कहाँ लगानी गरेका छन् भनेर खोजबिन हुनसकिरहेको छैन । यो सम्भव हुने कुरा पनि होइन तर जे जति सम्भव हुन्छ त्यति पनि सरकारले गर्न सकेको छैन वा गर्न चाहेकै छैन । कतिपय ठूला नेताहरूलाई लहरो तान्दा पहरो गर्जिन्छ भन्ने लागेको हुनसक्छ । त्यो यथार्थ पनि हो किनकि नेता ओलीले विदेशमा आफ्नो लगानी पत्ता लगाउन चुनौती दिनुभएको छ ।
अरूले त यति गर्नसकेका छैनन् । यस अर्थ उहाँको लगानी छैन भन्ने हुन्छ तर छैन नै भनेर प्रत्याभूति गर्न सकिन्छ भन्ने छैन । किनकि उहाँले सतर्कतापूर्वक नेपाल सरकारले थाहा नपाउने गरी कोही आफन्तको नामबाट लगानी गरेको नहोला भन्ने छैन । पत्ता लगाउन चुनौती दिने आँट गर्नुभएकाले उहाँले विदेशमा लगेर नेपाली पैसा लगानी गर्नुभएको छैन भन्ने बुझिन्छ भने अर्कातिर अनुसन्धान गर्दा अरूको पनि कमजोरी भेटिएलान् । त्यसैले अनुसन्धनान नै हुँदैन भन्ने उहाँको सोचाइ हुनसक्छ ।
पञ्चायत कालको अन्त्यमा व्यवस्था नै फाल्न जनआन्दोलन हुँदै थियो । पम्फादेवी ठकुरीका नाममा स्वीस बैंकमा नेपालको ठूलो धनराशि राखिएको भन्ने हल्ला फैलाइयो । जनआन्दोलनको बलेको आगोमा घ्यू थप्ने काम यसले गरेको थियो तर जनआन्दोलनको सफलतापछि यसबारेमा कही कतै कुनै प्रकारको चर्चा भएन र त्यो निराधार हल्ला थियो वा यथार्थ थाहा भएन । ती पम्फादेवी यथार्थ व्यक्ति थिइन् वा काल्पनिक पात्र नागरिकले केही थाहा पाएनन् । ठूलो रकमका बारेमा समेत केही जानकारी भएन । त्यो पञ्चायत कमजोर पारेर व्यवस्था परिवर्तन गर्ने एउटा प्रायोजित हल्ला थियो कि भन्ने देखिन आयो ।
त्यसपछि स्वीस बैंकमा नेपालीहरूको अथाहा रकम रहेको हल्ला चलाउने गरिन्छ र केही दिनपछि ती हल्ला हुन छोड्छन् । ती चाहिँ प्रायोजित हल्ला नभएर कोही नेताविरुद्धको व्यक्तिगत रिसका कारणले बाहिर आउने गरेका हल्ला हुन सक्छन् । प्रतिशोध वा बदलाको भावनाले आउने हल्ला कहाँबाट सिर्जना भए ? कसले हल्ला चलायो ? त्यसमा सत्यता छ कि छैन ? भनेर अनुसन्धान गर्ने गरिएको छैन । हल्ला चलेपछि त्यसको अनुसन्धान हुनुपर्छ । सत्यता छैन भन्ने पनि होइन । सत्यता पुष्टि भएका खण्डमा सम्बन्धित पक्षले सजाय पाउनुपर्छ र सत्यता पाइएन भने आरोप लगाउनेलाई सजाय गरिनुपर्छ । यो कानुनी व्यवस्था नै हो । आरोप लगाउने पक्षले आरोप पुष्टि गर्नुपर्छ । आरोप लगाइएको व्यक्ति वा पक्षलाई दोषी करार गर्नेगरी प्रमाणहरू पेश गर्न सक्नुपर्छ ।
राणा प्रधानमन्त्री वीरशमशेरकै पालादेखि विदेशी बैंकमा नेपाली पैसा जम्मा गर्ने परम्पराको सुरुवात भएको थियो । त्यस बेलादेखि हालसम्म अनगिन्ती नेपालीले विदेशी बैंकमा पैसा जम्मा गर्ने र विदेशमा लगानी गर्ने गरेका छन् । विदेशमा नेपाली पैसा लानसक्ने भनेको कि ठूला व्यापारीहरू नै हुन् कि माथिल्लो स्तरका राजनेता नै हुन् । त्यस अर्थमा यस्ता आरोपको सत्यता खोजिनुपर्छ, त्यो प्रमाणित भए त्यस्ता व्यक्तिलाई र प्रमाणित हुन नसके आरोप लगाउने पक्षलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । केपी ओली प्रतिनिधि पात्र हुनुहुन्छ, यस्ता अरू पात्रहरू पनि हुन सक्छन् । एकताका स्वीस बैंकमा पैसा राख्ने नेपालीहरूको लामै सूची सार्वजनिक भएको थियो र होइन भनेर जवाफ दिनेहरूको लर्को लागेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यसरी आक्षेप लाग्ने पात्रमा पर्नुभएको थियो । सिंगापुरको टेलिकममा उहाँको लगानी छ भन्ने गरिन्छ । पहिले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलगायत नेताहरूलाई अमेरिकाको पेट्रोल पम्पमा लगानी छ भन्ने आरोप लागेको थियो । केपी ओलीले पत्ता लगाउन चुनौती दिनुभएको सन्दर्भलाई सकारात्मक रूपमा लिनुपर्छ तर यसो भन्दैमा उहाँको कार्यकालमा भएको भ्रष्टाचारको फेहरिस्त बिर्सन भने मिल्दैन । उहाँको चुनैती अनुसार अनुसन्धान होस् र त्यसमा सत्यता रहे/नरहेको पत्ता लागोस् । यो सरकारको काम हो । प्रतिशोध र यथार्थ थाहा भइहाल्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच