लुम्बिनीमा कांग्रेस संसदीय दलको वैठक बस्दै : मुख्यमन्त्री चौधरीले राजीनामा दिने कि विश्वासको मत लिने बारे छलफल हुने

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलको वैठक बस्दैछ । वैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयमा निर्णय लिने छ । दिउँसो एक बजे वस्ने संसदीय दलको बैठकले बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा निर्णय हुने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताउनुभयो ।

आज बस्ने प्रदेशसभाको चौंथो अधिवेसनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ। तर, आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था रहे मुख्यमन्त्री चौधरीले राजीनामा दिने, बहुमत जुटाउन सक्ने अवस्था रहे विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ४, राप्रपा ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछि पनि बहुमत पुर्‍याउन सक्ने अवस्था देखिँदैन । कांग्रेस, नाउपा, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेशसभा सदस्य छन्।

नयाँ राजनीतिक समीकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। साथै लुम्बिनीमा माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफल अघि बढाएको छ। संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?