काठमाडौं । संविधान दिवसमा कैद सजाय मिनाहा पाएका रिगल भनिने योगराज ढकालको मुद्दामा सर्वोच्च अदालतले आज (बिहीबार) निर्णय सुनाउने भएको छ । रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतले सुनुवाइ गरेपछि आजका लागि निर्णय सुनाउने आदेश भएको हो । बुधबार बहस सकिए पनि फैसलाका लागि समय नपुगेपछि कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपनाप्रधान मल्ल र डा. कुमार चुडालको इजलासले आज निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो ।
व्यक्ति हत्या गरेको कसुरमा अदालतबाट जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषद्को सिफारिसअनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
२०७२ साल असार २८ गते बाँकेको नेपालगञ्ज-१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउनुभएको थियो । जिल्ला अदालतको फैसलामा रिगल २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिनु भएको थियो ।
जम्मा आठ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराउनुभएको थियो । रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाउनुभएको थियो ।
वकिलले ‘पूर्वपत्नी’ भनेपछि इजलासमै भारतीको रुवाबासी
रिगलको बाँकी कैद कट्टीको निर्णयविरुद्ध परेको रिटको सुनुवाइका क्रममा निवेदक भारती शेर्पा इजलासमै रुनुभएको छ । विपक्षी बनाइएका रिगल भनिने योगराज ढकालको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले भारतीलाई मृतक चेतन मानन्धरकी पूर्वपत्नी भनेपछि भारती इजलासमै रुनुभएको हो ।
रिगलको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता मैनालीले रिट निवेदनमै निवेदिकाले आफू मृतक चेतन मानन्धर आफ्नो पूर्वपति भनी उल्लेख गरेका कारण ‘पिआइल’मा रिट ल्याउन मिल्ने भए पनि मुद्दाका रूपमा ल्याउन हकदैया नपुग्ने जिकिर लिनुभएको थियो । हकदैया नै नपुग्ने व्यक्ति अर्थात् पूर्व–पत्नीले ल्याएको रिट खारेज हुनुपर्ने भन्दै मैनालीले बहस गरेपछि भारती इजलासमै रुनुभएको थियो । त्यसलगत्तै न्यायाधीश सपना प्रधान मल्लले इजलासमा रुन नपाउने भन्दै बहस सुन्न अप्ठेरो भए बाहिरै बस्न निवेदकलाई सुझाव दिनुभयो ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । मंगलबार रिट निवेदकका तर्फबाट बालकृष्ण न्यौपाने, यज्ञनिधि न्यौपाने लगायतले बहस गर्नुभएको थियो । उहाँहरूले माफी दिने निर्णय बदर गर्दै रिगललाई पुनः थुनामा पठाउनुपर्ने माग गर्नुभएको थियो । बालकृष्ण ढुंगेलदेखि सर्वोच्चबाट भएका विभिन्न फैसलाको आधारमा रिगलले माफी पाउन नहुने निवेदक पक्षको जिकिर थियो ।
असल चाल चलनको आधारमा सजाय छुट मात्र दिएको विपक्षीको जिकिर
सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी लगायतले बहस गर्नुभएको थियो । जवाफमा महान्यायाधिवक्ता पोखरेलले माफी नभई सजाय छुट मात्र भएको दाबी गर्नुभएको थियो । उहाँले ४० प्रतिशत कैद भुक्तान गरेको र असल चाल चलनको आधारमा सजाय छुट मात्र दिएको र यो कुरा कानुनले पनि दिएको दाबी गर्नुभएको थियो ।
मंगलबार बहस नसकिएपछि बुधबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार विपक्षी बनाइएका रिगल भनिने योगराज ढकालको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, लव मैनाली तथा अधिवक्ताहरू सुलभ खरेल, शालिकराम सापकोटा लगायतले बहस गर्नुभएको थियो । उक्त मुद्दामा गत असोज २५ गतेसमेत सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा खाजा समय अगाडि सुनुवाइ भए पनि खाजा समयपछि भने प्रधानन्यायाधीश श्रेष्ठले ‘रिक्युजल’को घोषणा गर्नुभएको थियो । त्यसभन्दा अगाडि पनि आफूहरूले यस्तै प्रकृतिको मुद्दामा फैसला गरिसकेको कारण राष्ट्रपतिबाट भएको बाँकी कैद कट्टाको मुद्दा हेर्न मिल्ने कि नमिल्ने ? भन्दै महान्यायाधिवक्ता र पक्षका वकिलसँग कुराकानी गर्नुभएको थियो ।
त्यसलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले उक्त मुद्दामा ‘रिक्युजल’को घोषणा गर्नुभएको थियो । लगत्तै अन्य न्यायाधीशहरूले पनि ‘रिक्युजल’को घोषणा गरेपछि अब रिगलविरुद्धको मुद्दा आफूहरू बाहेकको इजलासमा पेस गर्न भनिएको थियो । आज हुने फैसलापछि सर्वोच्चले रिगललाई पुनः थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने ? भन्नेबारे निर्णय सुनाउनेछ । यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुनः पक्राउ पर्नेछन् । उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच