स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशनको २१ औ दिन पूरा

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 7 mins

सप्तरी । लामो समयदेखि अवरुद्ध रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशन सुरु गरेको २१ औ दिन बितिसक्दा समेत कुनै सुनवाइ भएको छैन ।

सप्तरीको राजविराज नगरपालिका–१० विरौल स्थित प्रतिष्ठानको निर्माण अलपत्र पार्दै अन्य कामसमेत रोकिएकाले अविलम्ब काम सञ्चालन गर्नुपर्ने मागसहित निर्माणस्थलमा अनिश्चितकालीन रिले अनशन सुरु गरिएको हो । २१ औं दिनदेखि प्रतिष्ठानको निर्माणस्थलमा विभिन्न पाँच सूत्रीय माग राखी सुरु गरिएको अनशन बुधवार पनि जारी रहेको छ ।

स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा अनशन सुरु गरिएको थियो । खाँडो पुल नजिक प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा अलपत्र अवस्थामा छाडिएको भन्दै काम छिटो सञ्चालन गर्नुपर्ने मागसहित अनशन जारी राखिएको दासले बताउनु भयो । शिलान्यास भएको दुईवर्ष पाँच महिना बितिसक्दा निर्माण अलपत्र परेको भन्दै प्रतिष्ठान निर्माण यथाशीघ्र बढाउनुपर्ने, पूर्वाधार तयारी विकास समितिमा रिक्त पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनु भयो ।

अनशन शुरु गरेको दिन देखि विभिन्न माननीय, मन्त्री लगायत उच्चतहका व्यक्तिले समर्थन जनाए पनि व्यवस्थापन प्रति कसैले ध्यान नदिएको दासले गुनासो पोख्नुभयो ।

स्थानीयले उठाएको प्रतिष्ठान निर्माणको माग जायज भएको भन्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा . सिके राउत, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुर, पूर्व मन्त्री उमेश कुमार यादव, नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् पूर्व सांसद रेशमलाल चौधरी, एमाले नेत्री अष्टलक्ष्मी शाक्य, प्रदेश सांसद एवम् मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवलगायतका उच्च पदस्थ व्यक्तिहरूले समर्थन जनाउदै अनशनकारीलाई माग सम्बोधन गर्ने थुप्रै आश्वासन बाँडे पनि हालसम्म काम चाहिँ नभएको संघर्ष समितिका संयोजक राम कुमार दासले बताउनुभएको छ ।
यता प्रतिष्ठान निर्माणमा राजविराज नगरपालिकाको पूर्ण अधिकार रहे पनि अनशन थाले पछि कुनै पनि जनप्रतिनिधि समर्थन र सहयोग नरहेको दासको गुनासो रहेको छ । नगर प्रमुख वा वडाका समेत हाल सम्म कुनै पनि जनप्रतिनिधि अनशन स्थल नआएको दासले बताउनु भयो ।

प्रतिष्ठानले घेरेको ६२ बिघा जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको दासले बताउनु भो । सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेका छन् ।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौल स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो ।

प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँ को लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर सञ्चालनमा ल्याइएको पूर्वाधार तयारी विकास समितिको कार्यालय अहिले बोर्डमा मात्र सीमित भएको छ । समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्को अध्यक्ष नियुक्त गरिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?