गोरु पाइन छोडेपछि हाते ट्याक्टरले दाइँ गर्न वाध्य किसान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । कृषिमा आधुनिकिकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएपछि दाइँ लगाउन पनि हाते ट्याक्टरको प्रयोग हुन थालेको छ ।

ग्रामीण क्षेत्रमा गोरु पाल्ने चलन हट्दै गएपछि खेतबारी जोत्नदेखि लिएर दाइँपराल गर्ने काममा समेत किसानहरु हाते ट्याक्टर प्रयोग गर्न वाध्य भएका हुन् ।

म्याग्दीका ग्रामीण क्षेत्रहरुमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । गाउँघरमा गाई गोरु पाल्न छोडेपछि कृषि उपकरणहरुको प्रयोग बढ्दै गएको बेनी नगरपालिका २ खबराका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

शुक्रवार (आज) बिहान दाइँ गर्नका लागि डम्मरा र चुत्रेनीसम्म पुगेर गोरु खोज्दा पनि कतै नपाइएपछि ट्याक्टरको माध्यमबाट दाइँ गर्न वाध्य भएको बेनी नगरपालिका २ बगरफाँटका किसान तोपबहादुर जिसीले बताउनुभयो ।

जिसीले मात्रै होइन म्याग्दीका धेरै किसानहरुले खेतबारी जोत्नदेखि लिएर धान पराल गर्न र अन्य कृषि कार्यहरुमा समेत अहिले कृषि औजारहरुको प्रयोग गर्न थालेका छन् । “रहर होइन वाध्यता आइलाग्यो” बगरफाँटका किसान टेकबहादुर कार्कीले भन्नुभयो “गोरु पाल्नै छोडे,धान झाँटेपछि दाइँ पराल गर्नै प¥यो, एक घण्टाको रु आठसय तिरेर ट्याक्टर लगाइ दाइँ गरें ।”

कृषि मजदुरको अभाव हुन थालेपछि कृषि कर्ममा कृषि उपकरणहरुको प्रयोग हुन थाले पनि सस्तो र सजिलो गरी यी उपकरणहरु पनि उपलव्ध नहँदा समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।

किसानहरुले रहरले नभएर वाध्यताले महंगो मूल्य तिरेर कृषि उपकरणको प्रयोग गरी खेती थन्क्याउन वाध्य भएको गुनासो गरेका छन् । गाउँघरमा पहुँचवालाहरुले सरकारी अनुदानमा ल्याएका कृषि उपकरणहरुको वास्तविक किसानहरुसँगबाट महंगो शुल्क लिएर काम गरिदिनेगरेका किसान खड्गबहादुर थापाले बताउनुभयो । हाते ट्याक्टर प्रयोग गरी एक घण्टा जोतेको वा दाइँ गरेको ट्याक्टर मालिकले रु आठसय लिने गरेको उहाँले बताउनुभयो । पछिल्ला चार वर्षयता म्याग्दीमा पनि धान स्याहार्न हाते ट्याक्टर, ट्याक्टर र थे्रेसरको प्रयोग बढेको बगरफाँटका अर्का कृषक क्षेत्रबहादुर केसीले बताउनुभयो ।

कृषि औजारहरुको प्रयोग बढ्दै गएपछि धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही वर्ष पहिलेसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो ।

गोरु नै पाइन छोडेपछि अहिले दाइँ लगाउने प्रचलन पनि हराउँदै गएको ८८ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो । “पराल र धान स्याहार्न खलो वरिपरि मान्छे हुन्थे,मियो वरिपरि पाँच/सात वटा गोरु घुमाएर रातरातभर दाइँ गरिन्थ्यो,अहिले ती सबै कुरा सम्झना मात्रै भए” उहाँले भन्नुभयो ।

अहिले मानिसले गोरु पाल्न छाडेकाले दाइँ हाल्ने परम्परा लोप हुँदै गएको किसानको भनाई छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मंगला ५ छिसबाङका किसान प्रेमबहादुर पुनले बताउनुभयो ।

म्याग्दी पहाडी क्षेत्र भएकोले खेत बारीका फोहोटाहरुमा पनि प्रयोग गर्न सकिने हाते ट्याक्टर किसानहरुले प्रयोग गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि प्राविधिक जगत बानियाँले गाउँ छिटो र सजिलोको लागि जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्याक्टरको प्रयोग बढेको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?