संविधान निर्माण र कार्यान्वयनमा कांग्रेसको भूमिका महत्वपूर्ण : सभापति देउवा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई सम्बोभन गर्दै सभापति देउवाले अझै पनि संविधानले निदृष्ट गरेको धेरै विषय कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने बताउनुभयो । नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको उहाँको भनाइ छ । देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुँने बताउनुभयो ।

उहाँले भन्नुभयो – “नेपालको संविधानको कार्यान्वय र संघीयताको विषयमा छिटफुट गुनासो हुन्छ, त्यसलाई हामिले स्वभाविक मानेका छौं, तर अहिलेको संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका गर्न पर्दैन, नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाढी बढ्छौं ।”

देउवाले नेपाली कांग्रेसले पुन संगठित र थप मजुबद हुँदै जिल्ला सम्मेलनहरुको आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो ।

नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउदै राजनैतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुँने बताउनुभयो । देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । सभापती देउवाले जिल्ला सम्मेलनको अवसरमा शहिद परिवार तथा जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनु भयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए । पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे । “संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उहाँले भन्नुभयो । नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?