अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा महत

फाइल तस्बिर

रासस
Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।”

उहाँले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पुर्‍याइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ ।”

अर्थमन्त्री डा महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सहज ढङ्गबाट लगानी प्रवद्र्धन गरी अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?