प्रधानमन्त्रीले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रिपरिषद् बैठक बोलाउनु पर्छः महासचिव विप्लव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाई नगर्न सरकारसँग माग गर्नुभएको हो । त्यसैगरी उहाँले तत्काल मन्त्रीपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लैको सक्रियता भन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रीपरिषद् बैठक बोलाउने काममा ढिलाई गर्न नहुने तर्क गर्नुभयो । उहाँले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रुपमा छिटो भन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यन्न, लत्ताकपडा र टेन्टहरुको व्यवस्था गर्न र घाईतेहरुको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरुको परिचालन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

महासचिव विप्लवले भन्नुभयो, ‘राज्यले यथाशिघ्र उपचार, राहत र उद्दारको व्यवस्था गर्नुपर्छ भनेर पनि हामीले माग राखेका छौं । यसो त हामीले बिहानै यहाँ उपलब्ध सिसीका साथीहरुसँग बसेर त्यो कुरा सार्वजनिक गरिसकेका छौं । किनकी अहिले चाँही सरकारलाई पनि हामीले धन्यवाद दिनुपर्छ । किनकी तदारुकताका साथ नै कामहरुलाई अगाडि बढाएको छ सरकारले । त्यो चाँही राम्रो कुरा हो । तर, मन्त्रीपरिषद्बाट छिटो निर्णय गर्नुपर्ने कुराहरु चाहीँ ढिलो भएको छ । त्यो प्रधानमन्त्रीको एकल सक्रियता जस्तोले हुँदैन । राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ छिटो भन्ने हाम्रो माग छ । सायद अहिले मन्त्रीपरिषद पनि बस्दैछ । र, त्यहाँ दुई, ३ वटा कुरामा राज्यको ध्यान जानुपर्छ भन्ने छ । पहिलो कुरा व्यापक रुपमा स्वयंसेवकहरुको परिचालन, सेना, प्रहरीको परिचालन होस भन्ने हाम्रो छ । र, भईपनि राखेको छ । तर त्यसलाई देशव्यापी रुपबाट ध्यान दिइयोस् । दोस्रो कुरा, यो चिसोको मौसममा घरहरु भत्किएका छन र त्यहाँ चाँही जनतालाई सास्ती भएको छ । अहिले भर्खरै प्रत्यक्ष रुपमै पार्टीका कमरेडहरुले गाउँ तहबाटै फोन गरिराख्नु भएको छ । अहिले बिचल्ली छ भन्नुस् । त्यसैले त्यहाँ चाहीँ खाद्यन्न, लत्ताकपडा र टेन्टहरुको व्यवस्था छिटो गर्नुपर्छ भन्ने राज्यसँग हाम्रो माग छ । त्यसपछि सिरियस घाइतेहरुको त हेलिकप्टरले उद्धार गरिराखेको छ । अरु घाइतेहरुका लागि स्वास्थ्यकर्मीहरुको टोली बनाएर राज्यले छिटो परिचालन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ । यी राज्यसँगका कुराहरु भयो । त्यसपछि हामीले सबै संघ, संस्थाहरुलाई पनि आफ्नो क्षमता अनुसार परिचालित हुनुस भनेर हामीले आग्रह गरेका छौं ।’

सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले बताउनु भयो । उहाँकाअनुसार पार्टीले विपद्ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रुपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ । त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद्ग्रस्त क्षेत्रतर्फ पठाइको महासचिव विप्लवले बताउनु भयो । भोलि (आईतवार) स्वास्थ्यकर्मीहरुको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ ।

महासचिव विप्लवले भन्नुभयो, ‘हाम्रो पार्टीकै कुरा गर्दा खेरी चाहीँ हामीसँग केही आधारहरु छ । सुव्यवस्थित छ पार्टी । त्यसलाई परिचालन गरौं भन्ेन हाम्रो छ । र, तत्काल हामीले एक लाख राज्य कोषमै जम्मा गरिदिने । हाम्रो खाद्य भण्डारबाट १ सय प्याक चामल पठाई दिने । हाम्रो स्वयंसेवकहरुलाई आज बिहानैबाट परिचालन गरिएको छ । राहत र उद्धारमा सहभागी बन्ने विहानै निर्णय गरिएको छ । डाक्टरहरुको एउटा टोली आज पठाइएको छ । भोलि अर्को टोली पठाउने निर्णय गरिएको छ ।’

रुकम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठूलो क्षति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?