काठमाडौं । चेम्बर अफ कमर्श हेल्पिङ बिजनेश गेट सेट फर द फ्युचर भन्ने नाराका साथ एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ(क्यासी) को ३७औँ सम्मेलन सोमबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । परिसंघ एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघको छाता संस्था हो । नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना हुने दुईदिने सम्मेलन उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने महासंघले जनाएको छ ।
विश्व आर्थिक मञ्चमा राम्रो पहिचान बनाउन सफल संस्थाको २६औँ सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । आयोजकका अनुसार यसपटकको सम्मेलनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ भने अर्थमन्त्री डा. प्रकाशशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम र महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सम्बोधन गर्नुहुनेछ ।
परिसंघले एसिया प्यासिफिक क्षेत्रका देशमा उद्योग, व्यवसाय, लगानी प्रविधि विस्तारमार्फत् यस क्षेत्रका जनताको जीवनस्तर सुधार र आपसी लाभका क्षेत्रमा काम गर्दै आएको छ । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेता र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायी, सरकारी प्रतिनिधिसमेत गरी दुई सयभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
सम्मेलनबाट नेपालमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षित हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका देशबीच आपसी सहकार्यमार्फत् दिगो विकास, उद्यमशीलता, व्यापार प्रवद्र्धनमा मुख्य जोड दिइने महासंघले जनाएको छ ।
सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महत्वपूर्ण विषयमा एसिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधि र नीति निर्माताले विचारविमर्श गर्नेछन् । नेपाल र एसिया प्रशान्त क्षेत्रका राष्ट्रबीच बलियो सम्बन्ध विस्तारमा सम्मेलन कोशेढुुंगा हुने विश्वास महासंघको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न हुनेछ ।
महासंघका अनुसार सन् १९६६ मा स्थापना भएको क्यासी एसिया-प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थालाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ । जसले बलियो सञ्जाल र सशक्त पहलमार्फत् उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थाले नियमित सम्मेलन, सेमिनार र व्यापार फोरम आयोजना गरी सदस्यलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न, साझेदारी र लगानीका अवसरको अनुसन्धान गर्न साझा प्लेटफर्मसमेत प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच