काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । एमालेको तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी रामबहादुर मगरले शनिबार पदबाट राजीनामा दिनुभएको हो । उहाँले प्रदेश मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउनुभएको हो । मगर विना विभागीय मन्त्री हुनुहुन्थ्यो । मुख्यमन्त्री कार्कीले शुक्रबार एमालेको असहमतिका बाबजुद माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा माओवादी केन्द्र पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गर्नुभएको थियो । आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । मगर गत असोज २८ गते मन्त्री नियुक्त हुनुभएको थियो ।
एमालेको असहमतिमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनमा आबद्ध दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएसँगै एमाले-विद्रोही कांग्रेसबीचको गठबन्धन १८ दिनमै टुट्न पुगेको छ । कार्की कांग्रेसबाट विद्रोह गरेका आठजना प्रदेश सांसदसहित एमालेको सहयोगमा गत असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । २८ असोजमा शपथग्रहण गर्नुभएका कार्कीले सोही दिन एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । १ कात्तिकमा कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए । तर, कार्की १८ दिनमै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । हुन त मुख्यमन्त्री कार्कीलाई सत्ता गठबन्धनमा आबद्ध दलहरू पनि विश्वासको मत दिएका थिए । यस्तोमा सरकारमा गठबन्धनलाई सामेल गर्ने कि एमाले मात्र राख्ने भन्ने निर्णय गर्न नसक्दा कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको थिएन । शपथग्रहणपछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गर्नुभएको थियो । गठबन्धनको दल माओवादी केन्द्रलाई सरकारमा सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण कार्कीले निर्णय लिन सक्नुभएको थिएन ।
एमाले नेताहरूले बारम्बार अन्य दल सामेल सरकारमा नबस्ने चेतावनी दिँदै आएको थियो । आफैँले बनाएको मुख्यमन्त्रीले सहमतिबिना मन्त्रिपरिषद् विस्तार गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ । गठबन्धन दलहरूभित्रको असन्तोषमा खेलेर प्रदेशको सत्ता राजनीतिलाई उलटफेर तुल्याएको महिना दिन नपुग्दै एमाले प्रतिपक्षमा धकेलिएको छ ।
मुख्यमन्त्री कार्की कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिनुहुन्छ । मन्त्रीमा गठबन्धनमा आबद्ध दलहरूलाई समावेश गरी मन्त्री बनाएसँगै कार्की र संस्थापन पक्षबीच दूरी घट्ने देखिएको छ । कोशीको कांग्रेस विद्रोह साम्य पार्न तथा सत्ता गठबन्धन कार्की मुख्यमन्त्री बनेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कोइरालालाई सम्झौता गराउनुभएको थियो । सरकारबाट बाहिरिएसँगै अहिले नेतात्रयको सम्झौताले सार्थकता पाएको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य आड दिने कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग गरेको बालुवाटार सहमति प्रदेशमा कार्यान्वयन भएको छ । उक्त सहमतिमा तीन नेताले गठबन्धनलाई बलियो पार्ने भनेका थिए । त्यसको अन्तर्य कोशीमा गठबन्धनकै सरकार बनाउने भन्ने थियो । यसरी पहिले विद्रोहीलाई सघाएर आफूलाई साथ दिएको एमालेलाई विपक्षमा पुर्याउने स्वार्थसहित गठबन्धन दलहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । अहिले त्यो योजना सफल भएको छ ।
असोज २० मा विश्वासको मत पाउने अवस्था नहुने भएपछि एमाले नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आहृवान गरेपछि गठबन्धन दलहरूले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेका थिए । यसपटक गठबन्धनका नेताहरूले राप्रपाको समेत साथ आङ्बोले पाउने स्थिति देखिएको भन्दै मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णयमा पुगेका थिए ।
जसै गठबन्धन यो निर्णयमा पुग्यो, कांग्रेसभित्र शेखर कोइराला पक्ष चिढियो । कांग्रेसको भागमा परेको कोशी प्रदेश माओवादीलाई छाडिएको भन्दै कोइराला पक्ष रुष्ट बन्यो । केदार कार्कीसहितका आठ सांसदले एमालेसित मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने अभियान थाले । असोज २७ मा यो अभियान सफल भयो । त्यसपछि कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको थियो । तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका थिए ।
देउवा र शेखरप्रति गगनको आक्रोश
सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कोशी प्रदेशको सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले जिम्मा लिनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशमा सभापति र वरिष्ठ नेताले समस्या ल्याएको आरोप लगाउँदै महामन्त्री थापाले भन्नुभयो, ‘कोशी प्रदेशको जिम्मा पार्टीको सभापति र वरिष्ठ नेताले लिनुपर्छ । यसको सबै हलहरू चाहिँ के गर्ने भन्ने कुरा उहाँहरू गर्नुहुन्छ । मैले सभापतिलाई घरै भनेर आएको हुँ, तपाईंले गरेको फोहोर हो । तपाईंले सोहोर्नुपर्छ । फोहोर गर्ने बेलामा एक्लै गर्ने सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला । मैले सोर्न सकिन भन्नुभयो भने सोर्न हामी जान्छौँ । नभएको हुनाले उहाँहरूले नै सोर्नुपर्छ ।’ नेपालका दलहरूमा गठबन्धन सरकार सञ्चालन गर्ने संस्कार नै बस्न नसकेको महामन्त्री थापाको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच