ठेकेदारको लापरबाहीले दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो । अहिले खोलाको दुई पट्टी पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुन सकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात संचालन हुन सक्दैनन् । यस वर्ष पनि असारदेखि ठप्प भएका सवारी साधान कार्तिक लागेपछि मात्रै संचालनमा आएका हुन् । स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन् । यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोलाहरु छन् ।

यहाँ पुल नबन्दा वडा नम्बर १ र २ का केही गाउँ बाहेक अन्य वडाका नागरिकहरु बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरवाहीले अहिलेसम्म पुल बन्न नसकेको हो । निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र हुने गरेको स्थानीयको भनाइ छ । वि.सं. २०७७ पौष १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरि काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरि रहेको छ । वि.सं. २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

दुई वर्ष तीन महिनामा सक्नु पर्ने पुल समयावधिसम्म नसकेपछि गत वर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उहाँको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको इन्जिनियर अधिकारी बताउनुहुन्छ । पाँच महिनाको अवधीमा धेरे मजदुर लगाएर धमाधम काम गरे मात्रै सकिने संभावना रहेको उहाँको भनाइ छ ।

इन्जिनियर अधिकारीले भन्नुभयो – ‘विभिन्न कारणहरु देखाएर अहिलेसम्म काम सक्न सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ, हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर ग¥यो भने चैतसम्म सकिन सक्छ, काम गरेन भने गाह्रो छ, बेसको काम गरि सकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीहरुले पनि ताकेता गरि रहेका छौँ ।’

पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीय प्रेमबहादुर पुनले बताउनुभयो । यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला सहरमा पुगिने भन्दै ठेकेदारको लापरवाहीले हजारौँ तमानखोलावासीले दुःख पाएको पुनको भनाइ छ । बर्खा लाग्न थालेपछि १०/१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उहाँले बताउनुभयो । सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउनुहुन्छ ।

‘हिउँदमा त गाडी तर्न सक्छ, यात्रा गर्न र सामानहरु ओसारपसार सजिलै गर्न सकिन्छ, जब असार लाग्छ, त्यसपछि कात्तिकसम्म त गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति बेला पनि ओहोरदोहोर गर्न सकिन्थ्यो’ पुनले भन्नुभयो – ‘यही तालले हो भने त यहाँ पुल बन्ने संभावना देखिन्न, वर्षौँ भयो काम सुरु भएको एक वर्षमा एक पटक काम गर्न आउँछ, दुई/चार दिन गरेर भाग्छ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताउनुभयो । यहाँ काम गर्न कुनै पनि बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरि रहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । सम्झौताको म्याद सकिएर थप गरेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उहाँको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो – ‘हामीहरुले धेरै पटक निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै धेरै पटक पुलको काम सकिदिनु प¥यो भने भन्यो तर सुनुवाईनै भएन, बाहिरबाट ल्याउने सामग्रीबाहेक अरु अरु यही सहज रुपमा पाइन्थ्यो, काम गर्न समस्यानै थिएन, मजदुर लगाएको भए एकै वर्षमा पुल सकिन्थ्यो, तर तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइ राखेका छन्, निर्माण कम्पनी बेखर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?