तिहारमा पनि बिक्दैनन् मादल, पेशा परिवर्तन गर्दै व्यवसायी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । एक दशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाटै धेरैले जीविकोपार्जन गर्ने गर्थे । तर, अचेल मादल बिक्री नहुँदा व्यवसायनै संकटमा परेको छ ।

युवा व्यवसायीहरु पलायन भइरहेको छन् भने बुढापाकाहरु अन्य पेशा रोज्न बाध्य भएका छन् । आजभोली मादलको सट्टा इलेक्ट्रानिक्स साउण्ड सिस्टम बज्ने गर्छन् । बागलुङको निसिखोला गाउँपालिकाका बिरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष बित्यो । पाँच वर्ष अगाडिसम्म पनि उहाँलाई मादल विक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती किसानी गर्न थाल्नु भएको छ ।

आधुनिक प्रबिधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बचाउन प्रचलन पनि घट्दै गएको छ । विवाह, ब्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने गरिए पनि हिजोआज रेकर्डेड गीत बज्ने गर्छन् । पाका पुर्खाले गर्दै आएको कामलाई अंगाल्नु भएको परियारले व्यवसाय संकटमा परेपछि पेसानै बदल्न बाध्य हुनु भएको हो । बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि उहाँका छोराहरुले भने यसप्रति चासो नै दिएनन् ।

तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड विक्री गर्ने पसलहरुमा चहलपहल बढेको देखिन्छ भने मादल पसल सुनसान छन् । पहिले बाह्रैँ महिना मादलको माग आउने गरेको भन्दै अहिले पाँच वर्ष अगाडि बनाएका मादलहरु थन्किएर रहेको परियारले बताउनुभयो । केही वर्ष पहिलेसम्म चाडबाडको बेलामा फाट्टफुट्ट ग्राहकहरु आउने गरेको पनि अहिले वार्षिक पाँच वटा मादल पनि विक्री नहुने परियार बताउनुहुन्छ ।

काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउने गरिए पनि एउटै मनाउन दिनभर लाग्ने उहाँले बताउनुभयो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले बताउनुभयो । आफ्नो पालामा रमाइलोको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोली गाउँमा बदलनै बज्न छोडेको उहाँ बताउनुहुन्छ । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोली निःशुल्कसमेत कसैले नलाने परियारको भनाइ छ । सानैबाट यही पेसामा लागेकोमा अहिले आफूलाई पश्चापत भएको बताउनुहुन्छ ।

‘तिहार आइसक्यो, यो बेला मादलको बढी माग हुने गथ्र्यो, गाउँ तथा सहरमा देउसी भैले खेल्नेहरुले मादल किन्ने गर्थे, अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टमहरु किन्ने गर्छन्, मैले मेरा बाउ, बाजे र दाईहरुबाट सिकेको थिए, पहिलता परिवार पाल्न पनि निकै सहज भएको थियो, छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ’ परियारले भन्नुभयो – ‘पहिले नै यो सिप नसिकेर विदेश जानु पर्ने रहेछ, अहिले बुढेसकाल लाग्यो, मैले जानेको काम मादल बनाउने हो, मादल बिक्दैन, मैले के गरेर परिवार चलाउने ?, दुई वर्ष पुरै भयो, पसल बन्द गरेर खेतीपाती गर्छु, हाम्रो गाउँमा मादल बनाउने पसल १०÷१२ वटा थिए, अहिले एउटा पनि छैनन् ।’

ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताउनुहुन्छ । चार÷पाँच वर्ष अगाडिसम्म वार्षिक २०० मादल विक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने नेपालीले बताउनुभयो । आफूले मादल बनाउने र विक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको गुनासो गर्नुभयो । मौलिक संस्कृतिहरु हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उहाँको भनाइ छ । पहिले गाउँमा सोरठी, मारुनी लगायतका पुराना नाचहरु नाच्ने गरेको भन्दै अहिले ति नाच लोप हुँदै गएपछि मादलको विक्रीमा गिरावट आएको नेपाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुनछ – ‘पहिले मादल किन्नेहरुको लाइन हुन्थ्यो, मैले पु¥याउनै सक्दैनथे, विहान उठेदेखि रातीसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाई पनि राम्रो हुन्थ्यो, वर्षमा सात लाख कमाई गर्थे, अहिले मादल किन्न बेला मौकामा १÷२ जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, अब अरु काम पनि गर्नु पर्ने भयो ।’

बुर्तिबाङका साउण्ड सिस्पट व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टक किन्न आउनेको भीड हुने गरेको बताउनुभयो । दसैँ पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको क्षेत्री बताउनुहुन्छ । यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको उहाँले बताउनुभयो । तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको क्षेत्रीको भनाइ छ ।

‘सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ, विद्युत नपुगेको गाउँ छैन, विद्युतबाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्नुहुन्छ, मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ, पहिले गाउँमा मेला महोत्सव हुँदा मादल गन्किन्थे, यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे, तिहारमा पुरानै गीत गाएर देउसी भैलो खेल्थे, अहिले त्यो कतै देखिदैन, सुनिदैन, जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।’ उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?