काठमाडौं । कोशी प्रदेशमा सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भएको छ । प्रदेशसभा तीन महिनादेखि सभामुखविहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेश सभामुखविहीन बनेको हो । प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित हुनुभएका माओवादी केन्द्रका सांसद बाबुराम गौतमले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई बहुमत पुर्याउन गत साउन १६ गते पदबाट राजीनामा दिनुभएको थियो ।
प्रदेशसभा गठन भएको १० महिनामै सरकार गठनका सम्पूर्ण विकल्प प्रयोग भइसकेको कोशी प्रदेशमा अब सभामुख पदको लागि राजनीतिक दलहरूबीच रस्साकस्सी सुरु भएको छ । तीन महिनासम्म बेवास्ताको विषय बने पनि अहिले भने सभामुख पद सबैको रोजाइ र प्राथमिकतामा परेको छ । गएको तीन महिना सभामुख पद दिँदा पनि कसैले लिएका थिएनन् । केही महिना अघिसम्म एक-अर्कालाई छोड्दै आएको सभामुख पद अहिले दलहरूलाई प्रतिष्ठाको विषय बनेको छ ।
कोशी प्रदेश सरकार जोगाउन सत्ता गठबन्धनले पटक/पटक सभामुख पद लिइदिन गरेको आग्रहलाई लत्याउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सकेसम्म सत्ता गठबन्धन दलहरूमै सभामुख पद सुम्पिने कोसिस गर्दै आएको नेकपा एमाले अहिले सभामुख पद हत्याउन हानथापमा लागेका छन् । विपक्षी बेञ्चमा बस्दै आएका दुई दल एमाले र राप्रपा अहिले भने सभामुख पद हत्याउन तीव्र लबिङ गरिरहेका छन् । प्रदेश सरकारले विश्वासको मत पाए पनि संख्याका कारण जुनसुकै बेला संकट आउने भयले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलहरू भने सभामुख आफूसँग राख्ने पक्षमा छैनन् ।
लामो समयपछि गत सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख चयनको विषय उठेको थियो । सत्तापक्षकै सांसदहरूले तत्काल सभामुख चयन गर्न माग गरेका थिए । सदनमा सभामुख चयनको विषय उठेपछि सभा सञ्चालन गर्दै आउनुभएकी उपसभामुख दनुवारले पनि तिहारपछि दलहरूबीच सहमति निर्माण गरेर सभामुख चयनको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
लामो समस्यसम्म रिक्त सभामुख चयन प्रक्रिया सुरु गर्ने तयारी भइरहँदा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले उक्त पदमा दाबी गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सभामुख एमालेले पाउनुपर्ने जिकिर गर्दै उपसभामुख पद अरू कसैका लागि छोड्न एमाले तयार रहेको बताउनुभयो । तर, एमालेले यसअघि संसद्मा देखाएको व्यवहारबाट सत्ता गठबन्धन सशंकित छन् । सत्ता गठबन्धनको सहयोगबिना एमालेबाट सभामुख निर्वाचित हुने अवस्था छैन । स्पष्ट बहुमतको सरकार गठन भएको बेला दलीय प्रभावमा पारेर उपसभामुखसहित ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित गराएर सरकार ढालेको एमालेलाई सभामुख दिन नहुने सत्ता गठबन्धनभित्र एकमत छ ।
यसअघि पटक-पटक सभामुख लिन सत्ता गठबन्धनले गरेको आग्रह अस्वीकार गरेको राप्रपाले अहिले भने सभामुख पदमा दाबी गरेको छ । राप्रपा नेताहरू औपचारिक रूपमै सभामुख पद आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् । राप्रपा कोशी प्रदेशका सांसद अम्बरबहादुर विष्टले पनि सभामुख पद लिन आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
को-को छन् सभामुखका आकांक्षी ?
एमालेले प्रदेशसभामा ठूलो दलको हैसियतमा रहेको र सरकार बनाउन सहयोग गरेको तर्क गर्दै सभामुखमा आफ्नो पार्टीको दाबी स्वतः रहेको जिकिर गरेको छ । तर, सभामुख एमालेलाई दिन नहुने मत सत्ता गठबन्धनमा छ । सभामुख पद पाउने निश्चित नभए पनि एमालेमा आकांक्षीहरूले तीव्र लविङ सुरु गरिसकेका छन् । एमालेका सांसद चिन्तन पाठकले आन्तरिक तथा बाहृय लबिइङ सुरु गरिसकेका छन् । पाठकले आफू निकटका सांसद, नेता तथा अन्य दलका केही नेताहरूसँग सभामुखका लागि सहयोग गर्न आग्रह गरिसक्नु भएको छ । बहावाला उपसभामुख सिर्जना दनुवारले पनि सभामुखमा लविङ सुरु गर्नुभएको छ । दनुवारले संघीय संसद् प्रतिनिधिसभाकी पूर्व-उपसभामुख डा.शिवमाया तुम्बाहफेमार्फत पार्टीमा तीव्र दबाब बढाउनुभएको छ । कोशीमा राप्रपा सरकारमा आएको अवस्थामा र सभामुख लिएमा अम्बरबहादुर विष्ट दाबेदार हुनुहुन्छ । प्रदेशसभामा ६ सांसद रहेको राप्रपाबाट गोपालबहादुर विश्वकर्मा पनि अर्का आकांक्षी रहेको बताइएको छ ।
सत्ता गठबन्धनको चाहना राप्रपा
हाल मुख्यमन्त्री रहनुभएका कांग्रेसका केदार कार्कीलाई राप्रपाबाहेक सबै दलको समर्थन रहेको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि असन्तुष्ट रहेको एमाले प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कार्कीलाई सरकार टिकाउन आवश्यक ठिक्क बहुमत अर्थात् ४७ सांसदको मात्र समर्थन रहन्छ । सरकार टिकाउन आफूहरूसँग पर्याप्त मत नहुँदा सत्ता गठबन्धनमा आबद्ध दलहरू सभामुखमा दाबी गर्न डराइरहेका छन् ।
गठबन्धनले सभामुखमा राप्रपालाई अघि सार्न चाहेको छ । राप्रपालाई कुनै पनि हालतमा सरकारमा ल्याउनुपर्ने निष्कर्षमा रहेका दलहरूले प्रदेशमा एक मन्त्री र सभामुखसहित राप्रपालाई सरकारमा आउन आग्रह गर्दै आएका छन् । अर्कोतर्फ राप्रपा संघीय सरकारमा समेत सहभागी हुने हल्ला लामो समयदेखि चल्दै आएको छ । त्यसो त संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउने तयारीका क्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नुअघि प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरी राप्रपालाई सभामुख पद दिने सहमति गरिसकेको गठबन्धनकै नेताहरूको दाबी छ । कोशी प्रदेश सरकारका मन्त्री शमशेर राईले पनि राप्रपाबाट सभामुख बन्ने सम्भावना प्रबल रहेको दाबी गर्नुभयो । शीर्ष नेताहरूबीचको सहमति जानकारीमा रहेको भन्दै राप्रपा नेताहरू सभामुख पद आफूहरूले पाउनुपर्ने दाबी गर्न थालेका छन् ।
यस्तो छ अंकगणित
९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यकता पर्छ । कोशी प्रदेशसभामा अहिले उपसभामुखसहित एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका चार र जसपाबाट एकजना सांसद छन् । कोशी प्रदेशसभामा अहिलेको अवस्थामा सत्ता गठबन्धनको सहयोगबिना अन्य दलबाट सभामुख चयन हुने अवस्था छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच