
नारायणबहादुर गुरुङ
बडादशैँ हामी नेपालीहरूको सबभन्दा ठूलो र लामो बिदा पाउने चाड हो । मैले स्कुल पढ्दा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको बिदा दिइन्थ्यो । दशैँलाई देवी दुर्गाले महिषासुरलाई मार्न सफल भएकाको सम्झनामा खुशीयाली मनाउन र मान्यजनबाट टीका र जमरा लगाई आशिर्वाद लिने भनिन्थ्यो । हामी केटाकेटीलाई नयाँ लुगा लगाउन पाउने र अरू बेलाभन्दा मीठोमिठो खाना पाउने हुनाले विशेष लाग्ने गर्दथ्यो ।
म पहाडमा जन्मेको मान्छे सानो छँदा दशैँमा काटमार गरेको देखेको थिएन । घरमा सबैभन्दा ठूलो मान्छेले मात्र टीका लगाइदिने गर्नु हुन्थ्यो । परिवारमा बाजे नै सबैभन्दा ठूलो हुनुभएकाले उहाँले हामीलाई र टीका लगाउन आउनु हुने नातागोता इष्टमित्रलाई टीका लगाइदिनु हुन्थ्यो । त्यसपछि गाउँका मान्यजनको हातबाट टीका लगाउन आशिर्वाद थाप्न जान्थ्यौं । साढे सात वर्षको उमेरमा बुटवल झरेपछि भने दशैँको बेला भगवतीको थानमा राँगा, बोका, कुखुरा, परेवा, कुभिण्डो, काँक्राको बलि दिएको देखेको हुँ । दशैँको दिनमा बाजेको हातबाट टीका लगाउने हरूको घुँइचो हुन्थ्यो । बाजेको शेषपछि बजै सबभन्दा ठूलो हुनुभएकाले बुबले लगाइदिनु हुन्थ्यो । मान्यजनलाई यथोचित मान मर्यादा राख्नुपर्छ भन्ने सिकेको थिएँ । दशैँलाई धार्मिक र सामजिक दुई पक्षबाट बुझ्न थालेँ । गुरुङमा सोह्रशाद्धमा केही गर्ने चलन छैन । फूलपातिको राति दिवंगत भइसक्नु भएका पुर्खाहरूको नाममा पितृ चढाउने चलन छ । यो परम्परा धान्न हामीले थालेका छौं ।
हामीले पनि दशैँतिहार जस्ता परम्परागत पर्वको सकारात्मक सामजिक पक्षलाई जोड दिँदै हाम्रा सन्ततिलाई संस्कार सिकाउन सके यो चिन्ताजनक अवस्थालाई रोक्न सकिन्थ्यो कि ! यी चाडहरूको धार्मिक पक्ष आ-आफ्नै छन् । सबैले आस्थानुसार मान्न पाउने स्वतन्त्रता छ ।
म र मेरो परिवारले चीनमा लामो समय विताएका छौं । हामीले त्यहाँको चाडबाडहरू मनाएको देखेका छौं र त्यसको आनन्द लिएका छौं । उनीहरूका थुप्रै चाडबाडमध्ये चिनियाँ नयाँ वर्षमा मलाई हामी नेपालीले मनाउने बडादशैँको सम्झना हुन्छ । यो पर्व दशैँजस्तै १५ दिन लामो हुन्छ । टाढा गएका पारिवारिक मिलनका लागि घर फर्कन्छन् । चिनियाँहरूको यो चाडले दिने पारिवारिक तथा सामजिक मान्यता र सन्देश मैले बुझेको हाम्रो दशैँले दिएको जस्तै लाग्छ । पृथक देश, भाषा, पृथक संस्कृति भए पनि सांस्कृतिक मान्यता समान लाग्छ । यो पन्ध्र दिनको चाडमा हाम्रो तिहारको झिलिमिली बत्ती बाल्ने र धनको देवताको स्वागत गर्ने चाड पर्छ ।
यो पर्वलाई चिनियाँहरू सिन न्युहान वा ठुन ज्ये भन्ने गर्छन् । सिन न्युहान भनेको नयाँ वर्ष र ठुन ज्ये भनेको वसन्त पर्व हो यसलाई अंग्रेजीमा स्प्रिङ फेष्टिभल भनिन्छ । चिनियाँहरूले औपचारिक रूपमा अन्तर्राष्ट्रिय पात्रो प्रयोग गरे पनि उनीहरूको चाडबाड उनीहरू आफ्नै चन्द्र पात्रोनुसार गणना गर्दछन् । जसलाई नोङ्ली भन्ने गर्छन् । यसलाई अंग्रेजीमा लुनर क्यालेन्डर भनिएकाले चिनियाँ नयाँ वर्षलाई लुनर न्यू एयर भन्ने पनि गर्छन् विदेशीहरू । नोङये भनेको खेतीपाती हो । यो पर्व हाम्रो दशैँजस्तै तिथिमा आधारित भएकाले वर्षै पिच्छे अलग अलग दिनमा पर्न जान्छ । प्रायः जनवरी २१ देखि फेब्रुवरी २० भित्र पर्न जान्छ । चन्द्र पात्रोनुसार शीतकालीन क्रान्तिको दोस्रो औँसीको भोलिपल्टदेखि नयाँ वर्ष सुरु हुन्छ । शीतकालीन क्रान्तीको दिन सबभन्दा छोटो हुने गर्दछ । किसानले यसै पात्रो अनुसार खेतीपाती गर्ने हुनाले न्होङ्ली भनिएको हो ।
चिनियाँ पात्रो अनुसार १२ वटा जनावर को नाउँबाट प्रत्येक वर्ष गणना गरिन्छ । क्रमशः मुसा, गोरु, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, बाख्र (भेडा), बाँदर, कुखुराको भाले, कुकुर र सुँगुर (बराह) हुन्, यसवर्ष खरायो वर्ष हो । गुरुङ, तामाङ, शेर्पा, हेल्मो, थकाली आदिले वर्ग भनेको यिनैसँग मिल्न आउँछ । गुरुङहरूमा खरायोलाई बिरालो, ड्रर्यागनलाई गिद्ध, कुखुराको भालेलाई चरा र सुँगुरलाई मृग भन्ने गर्छन् । यीबाहेक सबै मिल्न आउँछ । यी जनावरहरूको पनि पाँच भिन्न तत्व भएकाले एउटै वर्ष भए पनि तत्व फरक भएकाले उनीहरूको गुण फरक हुन आउँछ ।
कुनै खास तत्व भएको वर्ष ६० वर्षमा एक पटक आउने हुँदा एउटा चक्र पूरा हुन्छ । आगो, माटो, धातु, पानी र काठ यी पाँच तत्वहरू हुन् । उदाहरण यदि कुनै मानिस आगो तत्व भएको बाघ वर्षमा जन्मेको भए ऊ ६० वर्ष भएको बेला एउटा चक्र पूरा गर्छ । चिनियाँ ६०औं जन्मदिनलाई विशेष मानेर धुमधाम मनाउने गर्दछन् । घरदेखि टाढा गएका आमाबाबु परिवारसँग एककृत भएर नयाँ वर्षको अघिल्लो दिन न्युइयर इभमा भोज खानाका लागि घर फर्कन्छन् । त्यति बेला हुने मानिसहरूको आवतजावत संसारको सबभन्दा ठूलो माइग्रेसन हो ।
करोडौं मानिसको यात्रालाई व्यवस्थापन गर्न सरकारले महिना दिनअघिदेखि बस, रेल, हवाई जहाजको विशेष व्यवस्था गर्छन्, जसलाई ठुन युन भनिन्छ । यो विशेष वसन्त यात्रा अवधि ४० दिन लामो हुने गर्दछ । २०२३ को चिनियाँ नयाँ वर्षमा करिब ३१ करोड मानिसले यात्रा गरेका थिए । दशैँको बेला काठमाडौंको सडकहरू खाली भएजस्तै शहर रित्ता हुन्छन् । पसलहरू, खाने ठाउँ बन्द हुन्छ ।
चीनमा चाडबाडको बेला दिने सबभन्दा लामो सरकारी बिदा तीनदिनको हुने गर्छ । यत्तिका लामो बिदा यो पर्व मनाउन र जनवादी गणतन्त्र चीन स्थापना भएको अक्टोबर १ मा दिने गरिन्छ । अरू चाडहरूलाई जम्मा एक-एक दिनमात्र दिन्छ । शनिबार र आइतबार परे सट्टा बिदा दिने हुँदा पाँच दिन लामो हुनसक्छ । त्यसबाहेक बीचमा काम गर्ने दिन परेमा शनिबार वा आइतबार काम गरेर सात-आठ दिन बिदा हुने हुँदा पर्यटन विकासमा सहयोगी भएको छ ।
यो चाड मनाउनलाई घरको निकै सफाइ गरिन्छ । गत वर्षको सबै दुर्भाग्य जावोस् भन्ने कामनाका साथै आगमी वर्षले सुस्वास्थ्य, दीर्घायू, सुख शान्ति र प्रगतिको कामना गरिन्छ । नेपालीहरूको जस्तै चिनियाँहरूको रातो र पहेंलो रंग शुभ मानिन्छ । ढोकामा शुभ लाभ, दीर्घायु, सफल्ता प्राप्त होस्, आँटे गरेको काम पूरा होस् भन्ने खालको कुरा लेखिएका राता कागतहरू टाँस्ने राता कागतको लाल्टिन झुन्डाएर घर सिँगार्छन् । त्यो घर सफा गर्न प्रयोग भएको कुचो र फोहोर उठाउने भाँडालाई एउटा कुनातिर लुकाएर राख्छन् कतै घरभित्र आएको लक्ष्मीलाई बढारेर नफालोस् भनेर । कपाल काट्नु छ भने पनि अगाडि नै काट्नुपर्छ, त्यो १५ दिनभित्र काटेमा शुभ मानिँदैन ।
त्यो १५ दिनभित्र कुनै अशुभ घटना जस्तै बिरमी, मृत्यु, दुर्घटना, लेनदेनमा नोक्सानी, ऋण लिनुपर्ने अवस्था आदि भएमा वर्षभरि नै त्यस्तै दुर्भाग्य दोहोरिन सक्छ र सबै राम्रो भए वर्षभरि नै राम्रो हुन्छ भन्ने जनमानसमा छ । यदि कसैले कर्मचारीलाई बर्खास्त गर्नुपरेमा चाड अगाडि गरे हुन्छ तर नयाँ वर्ष लागेपछि गरेमा धेरै नराम्रो मान्छन् । यसो हेर्दा नेपालमा जुवाडेहरूले छुक लागेको भनेजस्तै जनविश्वास देखिन्छ । ठूलाले सानालाई रातो लिफामा पैसा हालेर उपहार दिने गर्छन् । साहुहरूले कर्मचारीलाई यसरी नै यो अवसरमा दिने गर्दछन् । यसलाई होङ पाओ भनिन्छ ।
न्यु इयर इभमा होटलहरूको बढो मस्ती हुन्छ । महिनौं अगाडिदेखि बुक हुन थाल्छ । हामीले तिहारमा सेल रोटी खाएजस्तै डम्लिङ (मोमो) एउटा अनिवार्य परिकारसँगै कुखुरा, सुँगुरको मासु, माछा, विभिन्न सुस्वादु तरकारी थरिथरिको पेय पदार्थसँगै साँझदेखि भोज सुरु हुन्छ । पटाकाहरूको झिलिमिली र आवाजले वातवरणालाई रमाइलो बनाइदिन्छ । पटका पड्काउनुमा रमाइलो मात्र नभएर भूतप्रेत अशुभ तत्वहरूलाई तर्साएर भगाउनु दुई हजार वर्षअघिदेखि चलिआएको मान्यता हो । कतिपय व्यापरीले यो बिदापछि अफिस खोल्दा पटका पड्काउँछन् अशुभ तत्वहरूलाई भगाउन भनेर । ठाउँठाउँमा लाइन डान्स्, ड्रय्रागन डान्स गर्छन् । बुद्धिष्ट र ताओष्ट मन्दिरहरूमा मानिस आधिरातसम्म प्रार्थाना गर्न जानेहरू निकै हुन्छन् ।
म र मेरो परिवारले चीनमा लामो समय बिताएका छौं । हामीले त्यहाँको चाडबाड मनाएको देखेका छौं, त्यसको आनन्द लिएका छौं । थुप्रै चाडबाडमध्ये चिनियाँ नयाँ वर्षमा मलाई हामी नेपालीले मनाउने बडादशैँको सम्झना हुन्छ ।
मध्यरातसम्म सुत्दैनन् । घना बस्ती भएको ठाउँमा सुरक्षाको हिसाबले सरकारले निषेधित क्षेत्र तोकेको हुन्छ । त्यो साँझ केन्द्रीय टिभीले विविध सांस्कृतिक कार्यक्रम चलाउँछन् । यो पर्व चिनियाँबाहेक कोरिया, भियतनाममा सोही दिनमा मनाउँछन् तर नाम आ–आफ्नै हुने गर्छ । नयाँ वर्षको पहिलो दिन घरपरिवारमै बिताउँछन् । दोस्रो दिन नाता गोता, इष्टमित्र र अन्य मान्यजनहरूलाई कोशेलीसहित भेटघाट गर्न र शुभकामना आदनप्रदान गर्न जान्छन् । तेस्रो दिनमा भने भेट्न जाने वा भेटन आउने अशुभ मानिन्छ । पाँचौं दिन विशेष दिन हो राति धनका देवता ‘कुवेर’को स्वागत गर्ने दिने हो । यस दिन पहिलो दिनजस्तै पटका पड्काइन्छ । १५औं दिन दीपवालीको दिन हो । ठाउँठाउँमा विभिन्न किसिमका कागतबाट बनेका झिलिमिली बत्तीहरूको प्रदर्शनी हुने गर्दछ । चिनियाँहरूको कोजाग्रत पूर्णिमा भन्ने गर्छ यस दिनलाई ।
पूर्णिमाको दिनको पर्वलाई त्र्हुवन स्याओ ज्ये भनिन्छ । परिवारलाई एकतामा बाँधी राक्ने प्रतिकका रूपमा चिनियाँ मोमो र त्यस्तै अर्को विशेष चामलको पिठोबाट बनेको सेतो गुलियो डल्लो थ्वान हृयुवान मिष्टान्ना खान्छन् र बाँड्छन् । नामैले एक भन्ने जनाउँछ । चिनियाँ सरकारले यी सकारत्मक सामजिक पक्षको निकै ध्यान दिने गरेको छ । चिनियाँ सरकारले देशभित्र बाहिर श्रद्धाभावपूर्ण वातावरण बनाइराख्न निकै जोड दिने गर्छ । उनीहरूलाई विश्वास छ केवल आन्तरिक तथा बाहृय शान्ति सद्भावपूर्ण वातावरणमा मात्र जनताको जीवनस्थर बढाउन, आर्थिक विकास गर्न सम्भव छ भनेर ।
चिनियाँहरू पनि संयुक्त परिवारमा बस्न रुचाउने छन् । आर्थिक समृद्धि र पश्चिमा संकृतिको प्रभावका कारण परिवारमा विखण्डन बढिरहेको छ । आमा बाबुप्रतिको दायित्वमा उदाशीनता बढ्दो छ । त्यसैले चिनियाँ सरकारले आफ्नै संस्कृतिमा भएको मूल्य मान्यताहरूलाई बढावा दिँदै युवाहरूलाई दायित्वबोध गराउन कोसिस गरिरहेको छ ।
यस्तै मान्यजन र पारिवारिक सम्बन्धलाई न्यानो र बलियो बनाइराख्ने अर्को चाड हो ठुङ्छिउ ज्ये, यसलाई मध्य-शरद पर्व वा मिड अटमन फेस्टिबल भनिन्छ । यो चाड शरद पूर्णिमामा पर्छ र यो दिन चन्द्रमा वर्षभरिमा सबैभन्दा प्रष्ट र ठूलो देखिन्छ भन्ने विश्वास छ । यसवर्ष असोज १२ मा यो पर्व परेको थियो । सबै परिवार एक भएर गुलियो मुन केक खाने गर्छन्, मुन केक बाँडने, शुभकामना दिने लिने गर्छन् । नयाँ वर्षमा जस्तै होङपाओ बाँडछन् । गत कात्तिक ६ गते यस्तै पारिवारिक महत्वको अर्को चाड परेको थियो । ठोङयाङ ज्ये भनिने यो चाड विशेषता पुर्खाहरूको समाधिस्थलमा सपपरिवार गएर सफासुघर गर्ने विभिन्ने खाने पिउने कुरा चढाएर सम्झना गर्ने र घरकै वृद्ध आमाबाबुलाई मान्ने पर्व हो ।
नेपालमा पनि रोजगारीका लागि, उच्चशिक्षाका लागि र सुविधाजनक जीवनका लागि विदेशिनेहरूको भीडले दिनहुँ त्रिभुवन विमानस्थलमा भीड लाग्ने गर्दछ । पारिवारिक विखण्डन बढेको छ । वृद्ध बुबाआमाहरू एक्लो घर रुँगेर बस्न बाध्य छन् । युवाहरूमा अन्धादुन्ध पश्चिमा संस्कृतिको नक्कलले परम्परागत हाम्रा मूल्यमान्यतामा ह्रास भइरहेको छ । दायित्ववोध घटिरहेको छ । सामजिक अभियन्ताहरू, जनसाधारणहरू, बुद्धिजीवी चिन्तित भएको पाउँछौं । व्यापर प्रवद्र्धनको नाममा यस्ता संस्कृतिलाई बडावा दिइरहेको पाउँछौं । यो चिन्ताजनक अवस्थाले हाम्रो राष्ट्रिय सुरक्षामा कस्तो असर पर्ला र हाम्रो स्वतन्त्रता के होला गम्भीरताका साथ सोच्न जरुरी भइसकेको छ ।
बडादशैँ-तिहारलाई आजभोलि विजय दशमी र दीपावली शब्दले प्रतिस्थापना गर्दै गएको देखिन्छ । यो परिवर्तित शब्दले हाम्रो मौलिकता बोक्दैन र ती चाडहरूले बोकेको मूल्यमान्यता नबोकेको जस्तो लाग्छ । विजय शब्दले कोही जितेको कोही हारेको अर्थ बोकेको भएर लोकतन्त्रको स्थापनापछि सचेत हुँदै आएका जनजाति समुदायमा चाडहरू बहिष्कार गरेको सुनिन्छ भने धर्मिक पक्षमाथि अत्याधिक जोड दिइएकाले समाज विभाजित हुँदै जानु राम्रो संकेत होइन । त्यसैले सरकार, धर्माधिकारी, बुद्धिजीवीहरू हामी सामन्य नागरिक संवेदनशील भई नेपालीहरूको एकतामा खलल हुन नदिन सतर्क हुन जरुरी छ ।
धार्मीक बारे हजुरले लेख्नु भयको चिनिया पात्रोको अनुसार सारै मन छोयो तर नेपालमा हामीहरूको जनजाती भनौदाहरू जमातहरूको केही कमी कमजोडी भयकै कारन एकल जातीको ढलीमली देखीयो ।