जाजरकोटका भूकम्प पीडितलाई कालीकोटका चारवटा पालिकाले गरे सहयोगको घोषणा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कार्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि कालीकोटका नौ वटा स्थानीय तह मध्ये चारवटा पालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

गत शुक्रबार राति ११ः४६ बजेको भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षति पु-याएकाले विपद्को समयमा सो क्षेत्रका बासिन्दालाई केही सहयोग वा राहत होस् भन्ने मनसायले मृतकका घरपरिवारलाई राहत र भौतिक संरचना पुनःनिर्माणका लागि कालीकोटका चारवटा स्थानीय तहले सहयोगको घोषणा गरेका हुन् ।

सहयोग गर्ने स्थानीय तहहरुमा भने जिल्लाको रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका रहेका छन् । कार्तिक १९ गते गाउँकार्यपालिकको बैठकको निर्णय अनुसार भूकम्प पीडितहरुको सहयोगार्थ गाउँपालिकको तर्फबाट प्रदेश विपदु ब्यवस्थापन कोषको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रकम सहायता उपलब्ध गराउने निर्णय गरिएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताउनुभयो ।

सहयोग गर्ने स्थानीय तह रास्कोट नगरपालिककाले पनि नगरपालिकाको तर्फबाट भूकम्पले क्षति पु¥याएको क्षेत्रमा राहत तथा पुननिर्माण अभियानमा सहयोग स्वरुप २ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग गर्ने घोषणा गरेको छ ।

यस्तै जिल्लाको महाबै गाउँपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेको क्षति र आवास पुनःनिर्माणमा सहयोग होस् भन्ने मनसायले पालिकाको तर्फबाट २ लाख रकम उपलब्ध गराउने निर्णय गरिएको महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह (भिजन) ले जानकारी दिनुभयो ।

बिहीबार जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले पनि एक प्रेस बक्तव्य जारी गर्दै ३ लाख ३३ हजार ३ सय ३३ रुपैँया सहयोग गर्ने घोषणा गरेको छ । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने मृतकका घरपरिवारलाई राहत र भौतिक संरचना पुनःनिर्माण गर्नको लागि देश विदेशबाट आर्थिक तथा भौतिक सहयोग गरिरहेको बेला जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

विपदको बेला सानो सहयोग भएपनि पीडितका लागी ठुलो राहत हुने भएकाले पालिकाले सक्ने जति सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर (महेश) केसीले बताउनुभयो ।

साथै उहाँले भूकम्पमा परी मृत्यु भएका प्रति श्रद्धाञ्जलि र मृतक परिवारमा समवेदना व्यक्त गर्दै विपद ब्यवस्थापन कोषको राष्ट्रिय वााण्ज्यि बकैंको खातामा उक्त रकम जम्मा गरिने बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?