पुस्तक : खेम स्मृतिग्रन्थ ‘सम्झनामा असल मान्छे’

✍️ सुशीला घिमिरे

खेमप्रसाद दाहाल नेपाल सरकारका उच्चपस्सत कर्मचारी हुनुहुन्थ्यो । उपमहालेखापरीक्षकसम्म भएर सेवा निवृत्त हुनुभएको थियो उहाँ । अत्यन्त मिलनसार, सधैँ हँसिलो मुखमुद्रामा रहने र सानादेखि ठूलासम्मलाई समान व्यवहार गर्ने बानीव्यवहारको उहाँ गतवर्ष कोरोना महामारीका कारण असमयमै मृत्यु वरण गर्न पुग्नुभयो । उहाँका आफन्त साथीभाइ हितमित्रहरूको सद्प्रयासबाट हालै खेमप्रासाद दाहाल स्मृतिग्रन्थ प्रकाशित भएको छ । केही दिनपहिले नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाहलमा एक भव्य समारोहबीच लोकार्पण भएको यो पुस्तक भीमकाय स्वरूपमा छ । ‘सम्झनामा असल मान्छे’ शीर्षकमा प्रकाशित यस पुस्तकमा भूमिका खण्डमा २४ पाठ्यखण्डमा ५०८ र तस्वीर खण्डमा २८ गरी जम्मा ५६० पृष्ठ रहेका छन् ।

ए–फोर साइजको यति विशाल पुस्तकको सम्पादनको गुरुत्तर जिम्मेवारी प्रा.डा.भूपप्रसाद धमलाको समूहले गरेको छ । खेमप्रसाद दाहाल प्रतिष्ठान तथा ओखलढुंगा कटुन्जे सरोकार समाज प्रकाशक रहेको यस स्मृतिग्रन्थको सर्वाधिकार प्रकाशकहरूमै निहित छ । पहिलो प्रथम संस्करणका रूपमा आएको यस पुस्तकको १००० प्रति छपाइ भएको छ भने डिडिएम प्रिन्टर्स कपन, काठमाडौंमा यसको मुद्रण भएको छ । पुस्तकको छपाइ स्तरीय छ र पहेंलो हलुका कागज प्रयोग भएको छ । यति भएर पनि पुस्तकमा अशुद्धिहरू भने पाइन्छन् । अग्रआवरणमा स्वर्गीय खेमप्रसाद दाहालको तस्वीर अंकित छ ।

यो स्मृतिग्रन्थ केवल खेमप्रसाद दाहालको स्मृतिग्रन्थमात्र होइन एउटा भूगोल, समाज, संस्कारसंस्कृति, अध्ययनअध्यापन परम्परा, निजामती सेवाभित्रका अनन्त अनुभवलगायत कुराहरूको पुञ्जसमेत हो । त्यसैले यो पठनीय र संग्रहणीयसमेत बन्न पुगेको छ ।

सेतो पृष्ठभूमिमा उहाँको तस्वीर राखेपछि पुस्तकको शीर्षक उल्लेख भएको छ । उहाँको यस तस्वीरको स्केच कृष्णगोपाल श्रेष्ठले तयार गर्नुभएको हो भन्ने जानकारी पनि यही पुस्तकमा गराइएको छ । पृष्ठ आवरणमा यस पुस्तकबाटै केही भनाइहरू उद्धृत भएका छन् । यस पुस्तकको भूमिका खण्डमा प्रकाशन कार्य समिति, सम्पादक मण्डललगायतको नाम दिइएको छ । यसैगरी यही खण्डमा महालेखा परीक्षक टंकमणि शर्मा दंगालको ‘मन्तव्य’, प्रकाशक संस्थाका तर्फबाट ‘प्रकाशकीय’, ‘सम्पादकीय’, खेमप्रसाद दाहाल प्रतिष्ठानका अध्यक्ष शिव दाहालको ‘कृतज्ञता’ रहेका छन् ।

यसपछि विषयसूची रहेको छ । यसबाट यो स्मृतिग्रन्थ नौ खण्डमा विभाजित रहेको जानकारी पाइन्छ । पहिलो भागमा ‘वंशवृत्तमा खेमप्रसाद’ रहेको छ र यस खण्डमा चारजनाका लेख रचनाहरू समावेश भएका छन् । दोस्रो भागमा ‘परिवारभित्र खेमप्रसाद’ शीर्षक रहेको छ र यस खण्डमा उहाँका परिवारका सदस्यका दशवटा अनुभवजन्य विचारकेन्द्रित रचनाहरू समेटिएका छन् । तेस्रो खण्डको शीर्षक ‘आफन्तबीच खेमप्रसाद’ रहेको छ । यस खण्डमा उहाँका आफन्तहरूका ५६ वटा रचना समेटिएका छन् । यो खण्ड नै यस पुस्तकको सबैभन्दा ठूलो खण्डका रूपमा रहेको छ ।

चौथो खण्ड ‘जन्मभूमिले जुराएका अभिव्यक्ति’ शीर्षकमा छ र यस खण्डमा २६ वटा लेख रचनाले ठाउँ पाएका छन् । पाँचौं खण्डको शीर्षक ‘कर्मभूमिले कमाएका अनुभव’ रहेको छ । यस खण्डमा विभिन्न लेखकहरूका १६ वटा लेखरचना छन् । यसैगरी छैटौं खण्डमा ‘पेशागत सम्बन्धका आयाम’ शीर्षकअन्तर्गत ३५ जनाका लेख रचनालाई स्थान दिइएको छ । सातौ खण्डको शीर्षक ‘आत्मीय मनका अनुभूति’ रहेको छ । यस खण्डमा १४ वटा रचना छन् । यस खण्डको एउटा रचना अंग्रेजी भाषामा पनि रहेको छ ।

आठौं खण्डको शीर्षक ‘खेमप्रसादका आफ्नै कुरा’ शीर्षकमा उहाँले लेख्नुभएका चिठी तथा रचनाहरूलाई ठाउँ दिइएको छ । अन्त्यमा नवौं खण्डमा ‘विविध’ शीर्षक राखेर उहाँको अवसानसँग संबद्ध शोक मन्तव्यलगायतका विविध मन्तव्यहरू समेटिएका छन् । यसपछिका  पृष्ठहरूमा उहाँका जीवनसंबद्ध विभिन्न तस्वीर छन् । यसरी ओखलढुंगा जिल्लाबाट आएर निजामती सेवाको मथिल्लो पदमा पुग्ने थोरै व्यक्तिमध्येका एक खेमप्रसाद दाहालको असामयिक निधनपछि परिवारजन, आफन्त, निजामती सेवामा रहँदाको उहाँका साथभिाइ, जिल्लावासी तथा जिल्लाबाट आएर राजधानीमा बस्दै आउनु भएका विभिन्न क्षेत्रका उहाँका शुभचिन्तकहरूको प्रयासबाट यति धेरै लेखरचना समेटेर यो बृहत् स्मृतिग्रन्थ तयार पारिएको छ ।

यो एउटा स्तुत्य कार्य भएको छ । यसका लागि प्रकाशक, सम्पादक, परिवारजन, शुभचिन्तक, साथीभाइ, जिल्लावासी तथा सम्पूर्ण लेखकहरूलाई धन्यवाद छ । आफ्ना स्वजनको असामयिक निधनबाट भावविहृवल हुनुभएका आफन्तहरूमा यस्ता कार्यबाट केही मात्रामा भए पनि शान्त्वना पुग्नेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । यो स्मृतिग्रन्थ केवल खेमप्रसाद दाहालको स्मृतिग्रन्थमात्र होइन एउटा भूगोल, समाज, संस्कारसंस्कृति, अध्ययनअध्यापन परम्परा, निजामती सेवाभित्रका अनन्त अनुभवलगायत कुराहरूको पुञ्जसमेत हो । त्यसैले यो पठनीय र संग्रहणीयसमेत बन्न पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?