जनतासँग माओवादी :

‘मन जितेर मत प्राप्त गर्ने’, सरकारको सन्देश घरघरमा पुर्‍याउने

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का नेताहरू पार्टी रूपान्तरण अभियानमा गाउँगाउँ पुगेका छन् । ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबारदेखि माओवादी नेताहरू जनतामाझ पुगेका हुन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्नुभएको थियो । अभियानको ‘भर्चुअल्ली’ अभियानको शुभारम्भ गरेपछि उहाँ चन्द्रगिरि पुग्नुभएको थियो । उहाँ काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडा पार्कमा आयोजित कार्यक्रममा सरिक हुनुभयो । प्रधानमन्त्री प्रचण्डको पञ्चेबाजासहित स्वागत गरिएको थियो । अभियानका लागि अध्यक्ष प्रचण्डसँगै माओवादी पदाधिकारीसहित नेताहरू देशभरका ६ हजार ७४३ वडामा एकैसाथ पुगेका छन् । अभियानमार्फत् आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ माओवादीको उद्देश्य छ । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गर्नुभएको थियो । अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ ।

उहाँले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । जनतालाई नेता-कार्यकर्तालाई सुध्रन चाहेको बताउन निर्देशन दिनुभयो । ‘जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौँ र सुध्रिन चाहन्छौँ भन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि अभियानसहित घरदैलोमा छौँ । कमरेड लेनिनले भनेजस्तै तपाईं इमानदार हुनुहुन्छ भने डराउनु हुँदैन ।’ जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन उहाँले आग्रह गर्नुभयो । जनतासँग भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराउन उहाँले निर्देशन दिनुभयो ।

१० वर्षे सशस्त्र युद्ध गरेर उदाएको माओवादीमाथि शान्ति प्रक्रियामा आएपछि धरातल बिर्सिएको आरोप लाग्दै आएको छ । गाउबाट उदाएको माओवादी सहर केन्द्रित हुँदा पार्टीको आकार पनि घट्दै गएको छ । शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । दोस्रो संविधानसभा र पछिल्ला दुई निर्वाचनसम्म आइपुग्दा तेस्रोमा खुम्चिएको छ । त्यो पनि दोस्रोसँग भारी अन्तर छ । पार्टी खुम्चिँदै गएपछि बल्ल माओवादीले गाउँ सम्झिएको हो । अभियानले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास छ । अभियानको क्रममा नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पु¥याउने र कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने माओवादीको लक्ष्य छ । अभियान तीन चरणमा सञ्चालन हुने माओवादीले जनाएको छ ।

हाम्रा गल्ती-कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ, सुध्रिन चाहन्छौँ : प्रचण्ड
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएकाले कमी कमजोरीप्रति आत्मालोचित हुँदै अब सुध्रिने वाचा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । पार्टी कार्यालयमा अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्ने बताउनुभयो । माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव हुने उहाँको भनाइ थियो । ‘बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन् । जनता समृद्धि र सुशासन चाहन्छन्,’ उहाँले भन्नुभयो, ‘हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्नसक्छ । माओवादीकै नेतृत्वमा मात्र समृद्ध नेपाल सम्भव छ । तसर्थ कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ- हाम्रा गल्ती कमजोरीका लागि आत्मालोचित हुन चाहन्छौँ । सुध्रिन चाहन्छौँ । त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ ।’

सरकारले ऐतिहासिक काम गरिरहेको दाबी
प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय काम अघि बढाइरहेको दाबी गर्नुभएको छ । आफ्नो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन र सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच पु¥याउने काम गरेको दाबी गर्नुभयो । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गर्नुभयो ।

‘मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छ । सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ शाहसिक र जनपक्षीय कामहरू अघि बढाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ । राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर, हामीले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन सकेका छैनौँ । अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध विस्तार गर्नेछ ।’ जनताले देखेका सपना र अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने उहाँले बताउनुभयो । ललिता निवाससँगै सुन तस्करी प्रकरण र भुटानी शरणार्थी प्रकरण लगायतका घटनामा निष्पक्ष छानविन र कारबाही भएको उहाँको भनाइ थियो । ‘भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, सुन तस्करी प्रकरण लगायतका घटनामा भएका निष्पक्ष छानविन र कारबाहीले जनतामा उत्साह आएको छ,’ उहाँले भन्नुभयो ।

‘एकथरी मान्छेहरू सरकारसँग अत्तालिएका छन्’
अध्यक्ष प्रचण्डले आफूलाई सत्ताबाट हटाउनेका विरुद्ध लाखौँ करोडौँ जनताबीच पुगेर आन्दोलनको नेतृत्व गर्ने बताउनुभयो । ‘म ३२ सिटको पार्टीको नेता भएको छु । म कति दिन प्रधानमन्त्री रहने हो, हुनसक्छ १५ दिन, एकमहिना, ३० दिन । जति दिन रहनेछु,’ अभियानका क्रममा चन्द्रागिरि पुग्नुभएका उहाँले भन्नुभयो, ‘मलाई जसले हटाउनेछन् तिनका विरुद्ध लाखौँ करोडौँ जनताबीच आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको छु ।’

वर्तमान सरकारसँग एकथरी मान्छेहरू अत्तालिएको उहाँले दाबी गर्नुभयो । प्रचण्डले माओवादी अब ६४ सालतिर फर्कन लागेको दाबी गर्नुभयो । ‘एकथरी मान्छेहरू यो सरकार र गठबन्धनसँग र मुख्यतः प्रधानमन्त्रीसँग अत्तालिएका छन् । यो महान् अभियानले गर्दा माओवादी फेरि ६४ तिर फर्कने भयो । ८४ मा पुग्दा देशको शक्तिशालि पार्टी हुने भयो भनेर आतंकित छन् ।’

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले कारबाही गर्छ : श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताउनुभएको छ । शनिबार ललितपुरमा माओवादी अभियानको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले माओवादी भएकै कारण महरालाई नछाड्ने बताउनुभयो । जुनसुकै पार्टी र तहको जोसुकै भए पनि कारबाही गरेर छाड्ने उहाँले बताउनुभयो । ‘नौ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन,’ उहाँले भन्नुभयो, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शंका गरेको पाएको छु । कुनै शंका नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’

सरकारले जनताको पक्षमा काम गर्दोरहेछ भन्ने स्थापित भएको छ : पुन
माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इञ्चार्ज वर्षमान पुन अनन्तले देशमा अहिले जनताको सरकार रहेको बताउनुभएको छ । गोंगबु बसपार्कमा अभियानको उद्घाटन गर्दै पुनले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताउनुभयो । देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दोरहेछ भन्ने सन्देश प्रवाह भएको उहाँको भनाइ थियो । ‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ,’ उहाँले भन्नुभयो, ‘राज्य संयन्त्र र समग्र सामजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’ पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपढाउने बताउनुभयो ।

माओवादी जनतामा पुग्यो, अब पालुवा फेर्छ : किराँती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू संकटमा परेको बताउनुभएको छ । मन्त्री किराँतीले मोरङको बेलबारीमा पार्टीको अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको बताउनुभयो । ‘हामी माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धिहरू संकटमा पर्दै गएका छन्,’ उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गलाई समाजले पुरानै शैलीमा विभेद गर्न थालेको छ । यसको मूल कारण माओवादी कमजोर हुनु हो ।’ मन्त्री किराँतीले जनता नै माओवादीको आधार भएको वास्तविकता बिर्सँदै माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको बताउनुभयो । ‘वासनामा मात्र रमाउन थाल्यौँ त्यसैले जनतासँग हाम्रो सम्बन्ध राम्रो हुन सकेन,’ उहाँले भन्नुभयो, ‘०६४ को त्यत्रो ठूलो शक्ति आज ३२ सिटमा खुम्चनु परेको छ । यसको मूलकारण माओवादी आफैँ हो । जनतासँग सम्बन्ध कायम राख्न नसक्नु हो । हामी जनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ । अब जनताको सुख र दुःखमा सँगै हुनेछौँ । अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ । र, जनताका अधिकारहरू सुरक्षित हुन्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?