घट्यो डाला नाङ्लाको चलन, बिक्नै छोडे हस्तकलाका सामग्री

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङ्ग्रामबाट डाला नाङ्जा बोकेर व्यापारका लागि गलेश्वर आउनुभएकी अमृता पुन विक्रीका लागि ल्याएका सामग्रीहरु नबिके पछि चिन्तित हुनुभयो ।

पुन मात्रै होइन,बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बूढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङ अमलाचौरका टेकनाथ चापागार्इँले पनि आफूले ल्याएका सामान विक्री नभएपछि मंगलबार (आज) विहान सामान बोकेर आप्नै गाउँतर्फ फर्किनुभयो ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्धेश्यले उहाँहरु हस्तकलाका सामग्रीहरु बोकेर गलेश्वर आउनुभएको थियो ।

विगत एक दशक अघिसम्म बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला,ठेका ठेकी,भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने आयातित प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि गाउँघरमा बाँस र निगालोबाट बनाइएका हस्तकलाका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताउनुभयो ।

“हामी पुख्यौली पेसाको रुपमा हस्तकलाका सामग्रीहरु बनाइ विक्री गरेरै आफ्नो जीविका चलाउँदै आएका थियौं” पुनले भन्नुभयो “कोरोना सुरु नहोउन्जेलसम्म व्यपार पनि राम्रै थियो,तर त्यस पछिका वर्षहरुमा व्यापार घट्यो,गुजारा चलाउन पनि गाह्रो भयो ।”

अहिले निगालो र बाँसको चोयाबाट बनेका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत घरायसी प्रयोजनका लागि चाहिने सामान बिक्री हुन छाडेको उहाँले बताउनुभयो ।

उहाँले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैतेदशैँमा बाग्लुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्रीहरु विक्री गर्दै आएको बताउनुभयो ।

उहाँले एक पाथी जाने डालालाई रु तीन सयदेखि छ सयसम्म र दुई पाथी भन्दा बढी अन्न अट्ने डालोको रु छ सयदेखि ११ सय सम्म तथा नाङ्लोको छ,सातसय रुपैयाँमा विक्री गर्दै आएको बताउनुभयो ।

बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छोडेको अर्का व्यापारी अमानबहादुर विकले बताउनुभयो । विकले परम्परागत सीपबाट बनाइएका सामान बिक्री हुन छोडेको भन्दै दुःखेको गर्नुभयो । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा खाने अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालो आदिको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडोलाई डालो भनिन्छ । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो, डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको व्यापारीहरुको भनाइरहेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यी सँग सम्वन्धित मौलिक सम्पदा लोपहुँदै गएका स्थानीयले बताएका छन् ।

एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीहरु लगाएत,ढिकी,जाँतो र पानीघट्ट पनि अहिले लोप हुँदै गएका छन् । ढिकी,जाँतो र पानीघट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोप हुँदै गएका बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने मालिका गाउँपालिका वडा नं ६ का अमृत सापकोटाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?