नागरिक उन्मुक्ति बिना नै सुदूरपश्चिमकाे सरकार विस्तार, नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराउनु भएको हो ।

मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गराउनु भएको हो । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बन्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नु भएको छ ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र  एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गर्नु भएको थियो । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाउनु भएको थियो । त्यसपछि शाह मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको थिएन ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका ससदिय दलका नेता घनश्याम चौधरीले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको भएपनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताउनु भयो ।

उहाँले सुदूरपश्चिम सरकारको बिषयमा भोलि (आईतबार) काठमाडौँमा बैंठक बस्ने र त्यहिबाट के गर्ने ? भन्ने निर्णय हुने बताउनु भयो ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?