लण्डन । युरोकप छनोटमा स्पेन विजयी भएको छ । स्पेनले साइप्रसमाथि ३-० को सहज जित हात पारेको हो । स्पेनको जितमा लामिन यमाल, मिकेल ओयारजाबाल र जोसेलुले एक-एक गोल गर्नुभएको हो । तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलमा अग्रता बार्सिलोनाका युवा खेलाडी यमालले खेलको पाँचौं मिनेटमा दिनुभएको थियो । मिकेल मेरिनोको क्रस जोसेलुले मिस गरेपछि यमालले सम्हालिँदै गोल गर्नुभयो ।
ओयारजाबालले २२औं मिनेटमा अग्रता दोब्बर बनाउनुभयो । डेब्यु गरिरहेका एलेक्स ग्रिमाल्डोको पासमा उहाँले गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । सुरुमा गोललाई अफसाइड दिइएपनि भिडियो असिष्टेन्ट रेफ्रीको सहायताले गोल मान्य भएको थियो । यस्तै खेलको तेस्रो गोल जोसेलुले २८औं मिनेटमा गर्नुभयो । ओयारजाबालको कर्नरमा जोसेलुले फारपोष्टमा गोल गर्दै अग्रता बढाउँदै जित सुनिश्चित गर्नुभयो ।
यस्तै सोही समूहमा भएको अर्को खेलमा स्कटल्याण्ड र जर्जिया बीचको खेल २-२ गोलको बराबरीमा सकियो । समूहमा स्पेन सात खेलमा १८ अंकसहित शीर्ष स्थानमा भने दोस्रो स्थानमा रहेको स्कटल्याण्डको भने १६ अंक रहेको छ । नर्वेको भने समान सात खेलमा १० अंक रहेको छ । सात खेलमा जर्जियाको आठ अंक रहँदा आठ खेल खेलिसकेको साइप्रसको कुनै अंक छैन । यस समूहबाट स्पेन र स्कटल्याण्ड आउँदो वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भइसकेका छन् ।
यस्तै फिफा विश्वकप २०२६ छनोटअन्तर्गत कन्मेबोल छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । अर्जेन्टिनाले उरुग्वेविरुद्ध हार व्यहोर्दा ब्राजिल भने कोलम्बियाविरुद्ध पराजित भएको हो । अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक-एक गोल गर्नुभयो ।
अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको प्रशिक्षणमा गत महिना ब्राजिलविरुद्ध सहज जित निकालेको उरुग्वेका लागि ४१औं मिनेटमा आराउहोले अग्रता दिलाउनुभएको थियो । माटियास भिनाको क्रसमा राम्रो फिनिश गर्दै उनले अग्रता दिलाउनुभएको थियो । खेलको दोस्रो गोल भने ८७औं मिनेटमा नुनेजले गर्नुभयो । निकोलस डे ला क्रुजको पासमा उहाँले गोल गर्दै जित सुनिश्चित गर्नुभयो ।
जितपछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । उरुग्वेको पाँच खेलमा तीन जित, एक बराबरी र एक हारसहित १० अंक पुगेको छ । पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जितसहित पहिलो स्थानमा छ । यस्तै अर्को खेलमा कोलम्बियाले ब्राजिलविरुद्ध पुनरागमन जित निकालेको हो ।
ब्राजिलले खेलको चौथो मिनेटमै ग्याब्रिएल मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो ।
लिभरपुलका विंगर लुइस डियाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराउनुभयो । हारपछि ब्राजिल पाँच खेलमा दुई जित, एक बराबरी र दुई हारसहित सात अंक बटुल्दै पाँचौं स्थानमा छ । कोलम्बिया भने पाँच खेलमा दुई जित र तीन बराबरीसहित अपराजित रहँदै नौ अंकसहित तेस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच