माओवादी स्थायी कमिटी बैठक सुरु, पार लगाउला यो बैठकले महासचिव चयनको संकट ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

महाधिवेशन भएको आठ महिना बितिसक्दा पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । आधा दर्जन नेताहरू महासचिवको दौडमा रहेपछि माओवादीलाई पदाधिकारी टुंग्याउन महाभारत भएको हो ।

पदाधिकारीको टुंगो लगाउन माओवादीको स्थायी कमिटीको बैठक पटक पटक बसेपनि पदाधिकारी चयन भने हुन सकेको छैन । हिजो मात्र बसेको स्थायी समिति बैठक पनि बिना निष्कर्ष टुंगियो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पदाधिकारी चयनबारे छलफल भए पनि हिजोको बैठक कुनै निष्कर्षमा भने पुग्न सकेन ।

अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसक्नुभएको छ । अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार २३ गतेको केन्द्रीय समिति बैठकमा ‘दुई–चार दिन समय दिनुस्, म सबैको अनुहार उज्ज्यालो हुनेगरि पदाधिकारीको नाम टुंगो लगाउँछु’ भनेको भएपनि अहिलेसम्म पदाधिकारी टुंगो नलाग्नुमा महासचिवको आंकाक्षीका कारणले हो भन्ने कुरा घाम झैं छर्लङ्ग छ ।

माओवादीका एक स्थायी समिति सदस्यका अनुसार देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल महासचिवका दाबेदार हुनुहुन्छ । सात जनामध्ये वर्षमान पुन र जनार्दन शर्माको टकरावका कारण प्रचण्डले पदाधिकारी चयन गर्न नसकेको ती स्थायी सदस्यको दाबी छ ।

पदाधिकारी छान्ने जिम्मा पाएको पहिलो केन्द्रीय समिति बैठक गत फागुनमा बसेको थियो । तर, उक्त बैठकले पदाधिकारी छान्न सकेन । स्थानीय चुनावको बहाना देखाउँदै थामथुम पारियो र फेरि भाका सारियो । त्यसपछि बसेको बैठकले केही स्थायी समिति सदस्य र पोलिट्ब्युरो सदस्य चयन गर्‍यो । तर, पदाधिकारी छान्न सकेन । बरु अध्यक्ष प्रचण्डले भाका सार्नुभयो । दुई–चार दिनलाई सारेको भाका हाल डेढ महिना हुन थाल्यो । अझै माओवादीले पदाधिकारी पाएको छैन । आकांक्षी धेरै भएपछि माओवादी अध्यक्ष प्रचण्डलाई पदाधिकारी छान्न महाभारत नै भएको छ । पदाधिकारी चयन गर्न पार्टीभित्रै चर्को दबाब भए पनि असन्तुष्टि छताछुल्ल हुने भयले अध्यक्ष प्रचण्डले भाका सार्दै आउनुभएको छ ।
चर्को दबाब महसुस गर्नुभएको प्रचण्डले हिजोमात्र वाइसिएलको कार्यक्रममा सम्बोधन गर्दै जनयुद्धका कुरा सुनाउनु भयो । ‘कुनै समय सबैभन्दा अग्रमोर्चामा जान युवाहरूबीच प्रतिस्पर्धा हुन्थ्यो । उनीहरू मर्न जान पनि नपाइने ? भन्दै प्रश्न गर्थे,’ उहाँले भन्नुभयो, ‘आफू अग्रमोर्चामा जान नपाएकोमा असन्तुष्टि हुन्थ्यो । अहिले सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ, संघर्षका लागि हुँदैन ।’ प्रचण्डले भन्नुभयो ।

पदाधिकारीको महाभारत टुंगो लगाउन कै लागि माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ । आजको बैठकले पदाधिकारी चयन गर्ने माओवादीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?