बागलुङ । कास्की माछापुच्छ्रेका मीनबहादुर गुरुङले असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्यांग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटामात्रै च्यांग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म उहाँले च्यांग्रा पुर्याउनुभयो । तर, सबै बिक्री हुन सकेनन् । ३५४ मात्रै बिक्री भए । दशैँ सकिएपछि बाँकी रहेका ३४६ च्यांग्रा आफ्नो गाउँ लिएर फर्किनुभयो । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्यांग्रा लिएर आउनुभयो । दशैँका लागि ल्याएको च्यांग्रा तिहारमा पनि नबिक्दा उहाँ साह्रै तनावमा देखिनुहुन्थ्यो ।
दशैँको भन्दा तिहारमा च्यांग्राको मूल्य निकै कम भएको हुँदा केही बिक्री भने भएको उहाँ बताउनुहुन्छ । पोहोर-परार साल एक हजार खरिद गरेर ल्याए पनि दशैँमै सबै बिक्री हुने भए पनि यसपालि उहाँले सोचेअनुसार व्यापार भएन । वर्षौँदेखि भेडाच्यांग्रा खरिदबिक्री गर्दै आउनु भएका गुरुङलाई यसपालि आर्थिक मन्दीका कारण ठूलो समस्या पर्यो । कम मूल्यमा दिन थालेपछि दशैँका तुलनामा अहिले भने बढी बिक्री भएका छन् । अझै पनि उहाँसँग करिब डेढ सय च्यांग्रा साथमै छन् ।
करिब दुई महिना च्यांग्रा व्यापार गर्ने गुरुङ १८ वर्षदेखि यही पेशामा लाग्नुभएको हो । दशैँ-तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्यांग्रा खोज्ने गर्दछन् । च्यांग्रा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी महँगो बनेको थियो । न्यूनतम ३० हजारदेखि ५८ हजारसम्म यसपालि च्यांग्राको मूल्य पुगेको थियो । ठूला शहरका धनीमानीले लेकाली च्यांग्राको मासुमा औषधि पाइने विश्वास गर्दै आएका छन् । डेढ करोडमा खरिद गरेको च्यांग्रा बिक्री नभएपछि थोरै पनि नाफा नउठाई बेच्न बाध्य भएको गुरुङले बताउनुभयो । ‘मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले-पहिले च्यांग्रा झरे भने मान्छेहरूले बाटोमै कुरेर बस्थे, छानीछानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर हो कि,’ गुरुङले भन्नुभयो, ‘यसपालि त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो ।’
पुथा उत्तरगंगा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपालि सोचेअनुसार भेडाच्यांग्रा बेच्न सक्नुभएन । ३४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाउनुभयो । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडा बिक्री गर्न नसकेको उहाँको भनाइ छ । दशैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको भन्दै अहिले दुई सय बढीलाई पुनः गाउँमै फर्काउनुपर्ने स्थिति आएको उहाँ बताउनुहुन्छ ।
आफ्ना भाइ महिन्द्र बुढा मगर र तुलसिंह बुढा मगरसँग मिलेर तीनजनाले भेडा बजार ल्याएको उहाँले बताउनुभयो । भेडाको मूल्य खासै वृद्धि नभएको बुढा मगरले सुनाउनुभयो । गत वर्षहरूमा वार्षिक १५ लाख आम्दानी गरेको भए पनि यस वर्ष आधा कमाई भएको उहाँ बताउनुहुन्छ । न्यूनतम २० हजारदेखि अधिकतम ४२ हजारसम्ममा बिक्री गरेको बुढा मगरले बताउनुभयो । बाँकी रहेका भेडालाई बथानमै लगेर छोड्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच