काठमाडौं । एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित हुनुभएको छ । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उहाँहरूको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पार्नुभएको थियो ।
उहाँहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन र हरिप्रभा खड्गी (श्रेष्ठ), नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
सविता र उहाँका श्रीमान् किशोरले १९९८ मा थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकुदमा क्रमशः रजत र कांस्य जित्नुभएको थियो । संयोगवश उहाँहरू दुवै १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुनुहुन्छ ।
एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुनुहुन्छ । गत असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धिको बराबरी गर्नुभएको थियो । यद्यपि इण्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो ।
बैंकक एसियाडमा सविता र किशोरसहित चार खेलाडीले पदक जित्नुभएको थियो । तेक्वान्दोकै सपना मल्ल तथा कराँतेका समरबहादुर गोलेले कांस्य जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच