
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा देशभर एक हजार सार्वजनिक शौचालय बनाउने भएको छ । संघीय सरकारको ५० र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा एक हजार आधुनिक सार्वजनिक शौचालय निर्माणको लक्ष्य राखिएको खानेपानीमन्त्री महिन्द्र राय यादव बताउनुभएको हो । शहरी क्षेत्रमा शौचालयको समस्या समाधान गर्ने योजना बनाएर बजेटको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
संघको चार करोड र स्थानीय तहको चार करोड रुपैयाँ गरी आठ करोड लागतमा अत्याधुनिक र महिला, बालबालिका र अपांगता भएका व्यक्तिमैत्री शौचालय बनाउन सूचना प्रकाशित गरिसकेको मन्त्री राय यादवले बताउनुभयो । सार्वजनिक शौचालय सञ्चालनको स्वामित्व स्थानीय तहलाई हुनेछ ।
खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले काठमाडौंमै महिला, बालबालिका र अपांगमैत्री शौचालय नभएकाले आधुनिक शौचालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले शौचालय निर्माणको प्रक्रियागत काम थालनी गरिसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘शहरी क्षेत्रमा र राजमार्गमा सार्वजनिक शौचालयको अवस्था भयावह छ, यसको निराकरणका लागि विस्तृत योजनासहित काम अघि बढाइएको छ ।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरले विभिन्न क्षेत्रसँग समन्वय गरेर सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको बताउनुभयो । हाल महानगरले ४४ र निजी क्षेत्रबाट एक सय २० सार्वजनिक शौचालय सञ्चालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । मानन्धरका अनुसार टेकुसहित चार स्थानमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ, त्यहाँ सुरक्षाको प्रबन्ध पनि छ, महानगरले पाँच करोड रुपैयाँ शौचालय व्यवस्थापनकै लागि व्यवस्था गरेको छ ।
यसैबीच विश्व शौचालय दिवसप्रति जनमानसको धारणा र हाल सञ्चालनमा रहेका अत्याधुनिक शौचालय सुधारका लागि शौचालय प्रयोगकर्ताहरूसँग अन्तरक्रिया गरिएको छ । नेपालमा सार्वजनिक शौचालयप्रति आमप्रयोगकर्ताको नकारात्मक धारणालाई चिर्दै स्वच्छ र सफा शौचालयको पहिचान दिलाउन सफल एरोसानले गुथि र स्वाभिमानी सरसफाइकर्मी सहकारी संस्थासँगको सहकार्यमा अन्तरक्रिया गरी विश्व शौचालय दिवस मनाएको हो ।
अन्तरक्रियाका क्रममा धेरै प्रयोगकर्ताले अरू सार्वजनिक शौचालयभन्दा एरोसानद्वारा सञ्चालित सार्वजनिक शौचालय सफा र व्यवस्थित रहेको बताएका थिए । अधिकांश प्रयोगकर्ताले अन्यत्र पनि एरोसानकै जस्ता शौचालयमा जोड दिएका थिए । अन्तरक्रियामा एरोसान नेपालकी कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले एरोसानका पूर्वकार्यकारी प्रमुख स्वर्गीय प्रकाश अमात्यको खाँचो संस्थाका लागि सदैव खड्किरहने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच