‘अप्प दीपो भव’

Read Time = 9 mins

✍️ स्वामी ध्यानराज

गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनुअघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । अधिकांश बौद्ध परम्पराले उनीलाई एक सम्यक सम्बुद्धको रूपमा पनि मान्दछन् ।

गौतम बुद्ध नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा जन्मिएका थिए । उनी राजपरिवारमा जन्म लिएका थिए । आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए । तर, पनि उनी सदा संसारमा व्याप्त दुःखका कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे । यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृह त्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा छ वर्षसम्म कष्टदायक तपस्या गरेर बुद्धत्व प्राप्त गरे ।

उनले मध्यमार्गको बाटो अवलम्बन गर्ने अठोट गरे । बोधगया भन्ने ठाउँमा एक वृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्बोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए । त्यसपछि जीवन कालको ४५ वर्षसम्म उनी भारत वर्षका विभिन्न ठाउँ पुगी ज्ञान बाढ्न थाले ।

बुद्ध शब्द कुनै व्यक्ति होइन । बौद्ध धर्ममा पूर्णरूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्तिलाई बुद्ध भनिन्छ । यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंका लागि पार गरेर पूर्णरूपमा दुःखबाट मुक्त हुन्छन् । वर्तमानमा साधारण रुपले ‘बुद्ध’ शब्दले सिद्धार्थ गौतम चिनिन्छन् । ऐतिहासिक तथा पुरातात्तिक रूपमा अस्तित्व पुष्टि भएका बुद्ध यिनीमात्रै छन । बुद्ध शब्द संस्कृत शब्द बुद्धबाट आएको हो जसको अर्थ ‘जागृत भएको’ हो ।

जब गौतम बुद्ध जीवनको अन्तिम समयमा थिए उनका प्रिय शिष्य आनन्दले सोधेका थिए ‘तपाइँ जस्तो सत्य मार्ग देखाउने पुरुष यो संसारमा कोही छैन तपाइँको शेखपछि कसले देखाउँछ सत्य मार्ग ?’ गौतम बुद्धको जवाफ थियो ‘अप्प दीपो भव’ आफ्नो प्रकाश आफैं बन । अरू व्यक्तिसँग निर्भर हुनुभन्दा पनि आफूभित्र हेर । आफूलाई प्रेरणादायी व्यक्तिको रूपमा उभ्याऊ । तिमी कसैले देखाएको बाटोमा कति दिन हिँड्न सक्छौ ? त्यसका लागि आफ्नो बाटो स्वयं तय गर्नुपदर्छ । तिमी मलाई आफ्नो बैशाखी नबनाऊ । मेरो बैशाखीले तिमी कति नै यात्रा गर्न सक्छौ, त्यसैले आफूभित्र हेर तिमीभित्र पनि बुद्ध छ ।

एकचोटि उनका शिष्य मोग्गलाल्नले सोधे : ‘भगवान् के तपाइँका सबै सन्यासीहरू दुःखबाट मुक्त हुन्छन् त ?’ बुद्धले उत्तर दिए : ‘के तिमीले राजगृह जाने बाटो जानेका छौ ? बताऊ त ।’ शिष्यले उत्तर दियो : ‘यही बाटोबाट गएपछि केही समयपछि अमुक गाउँ आउँछ । अगाडि एक उपवन छ । त्यसपछि राजगृह आउँछ ।’

बुद्ध : ‘तिमीले भनेको ठीकै होला तर जाने मान्छे त्यहाँ पुगिहाल्छ त ? कहीँ बाटो बिराएर अन्त पनि त जान सक्छ ।’ शिष्यले भन्यो : ‘त्यो त मेरो बाटो देखाउने काम हो, पुग्नु नपुग्नु त बटुवाको काम हो ।’ अनि बुद्धले उत्तर दिए : ‘म पनि केवल बाटो देखाउँछु । कोही शिष्य सत्यसम्म पुग्छन् कोही पुग्न सक्दैनन् । गुरुको काम बाटो देखाउने हो । पुग्नु, नपुग्नु शिष्यको बसको कुरा हो ।’

यसको अर्थ फरक-फरक तरिकाले पनि लगाउन सकिएला तर बुद्धले अरू गुरुहरूले जस्तो स्वर्गको बाटो देखाएनन् । उनले जुनसुकै मार्गमा चल्न पनि स्वमं सक्रिय हुनुपर्नेमा जोड दिए । उनले कुनै आश्वासन दिएनन् । उनको प्रमुख शिक्षा थियो मान्नु होइन जान्नु ।

मालुक्य पुत्रले गौतम बुद्धलाई सोधे : ‘जीवन शाश्वत छ या छैन ? भगवान् के बुद्धले मृत्युलाई जित्न सक्छ ?’ बुद्ध एउटा कहानी सुनाउँछन् । एउटा व्यक्ति तीर लागेर घाइते हुन्छ । उसको उपचारका लागि वैद्यकहाँ लगिन्छ । उसको उपचार गर्नका लागि उसको नाम, कुल, तीरको प्रकार, तीर हान्ने मान्छेको नाम, कुल सोध्न आवश्यक छैन । वैद्यको काम उपचार गर्ने हो उपचारमा लागि हाल्नुपर्छ के थाहा सोद्धा सोद्धै उसको मृत्यु पनि हुन सक्छ ।

यसकारण जीवन शाश्वत छ या छैन ? मृत्युलाई जित्न सकिन्छ कि सकिँदैन ? भनेर यी कुराहरूमा भुल्नु हुँदैन । यो जीवन जिउने तरिकासँग सम्बन्धित छैन । मेरो शिक्षा जीवनको पीडा र त्यसबाट मुक्ति पाउने मार्ग हो । बुद्धले भूत र भविष्यभन्दा पनि वर्तमान जीवनलाई जिउन सिकाए । अरू धर्मशास्त्र जस्तो स्वर्ग र नर्कको शिक्षा दिएनन् । उनले आफूलाई चिकित्सकको रूपमा प्रस्तुत गरेका थिए । दुःखको निवारण गर्ने चिकित्सक ।

बुद्धको मार्ग वैज्ञानिक छ । उनले जाडो र गर्मी छल्नका लागि मात्र कपडा लगाउनुपर्छ भन्थे, नकि देखाउनका लागि । भोजन त्यति नै चाहिन्छ, जसले शरीर चल्न सकोस् । उनले संघमा औषधिको समेत व्यवस्था गरेका थिए ।

उनको आश्रममा बस्ने भिक्षुहरू दैनिक भिक्षा मागेर खान्थे । उनले विभिन्न नियम बसाएका थिए । एउटा व्यक्ति कुनै घरमा गएर बस्नुपरेमा कम्तीमा दुई दिनमात्र बस्न सक्छ । उनको उद्देश्य यो थियो कि भिक्षुका कारण कुनै घरलाई समस्या नहोस् । तर, उनले बर्खाको समयमा भने दुई महिनासम्म बस्न सक्ने नियम बनाएका थिए । बर्खाको समयमा भिक्षुहरूलाई भिक्षा माग्नका लागि हिँड्न गाह्रो हुने भएकाले यस्तो नियम बनाइएको थियो ।

आजको विश्वमा मानिसहरू आवश्यकता बढी भोजन र सुविधामा छन् । जसले अनेक किसिमका रोग, विकृतिहरू मौलाएका छन् । आत्याधिक प्राकृतिक चिजहरूको अनावश्यक प्रयोगले विश्व संकटमा पर्दै गएको छ । प्रकृति बचाउन बुद्धको मध्यम मार्गको सिद्धान्त हाम्रो जीवनमा पनि लागू गर्नु सक्नुपर्छ । बुद्धको ज्ञानको सार हो ‘मैले तिमीलाई बोटो देखाउँन सक्छु, तर त्यस बाटोमा जाने नजाने, कहाँसम्म पुग्ने हो ? तिमी आफैं तय गर । आफूभित्र हेर । किनकि आफ्नो बाटो देखाउने प्रकाश तिमीभित्रै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?