विसं २०७९ सम्पन्न विभिन्न तहका निर्वाचनदेखि नयाँ नेताको खोजी हुन थालेको छ तर पुरानाभन्दा पनि कमजोर चयन भएका दृष्टान्तहरू छन् । सिंहदरबार जलाउँछु भन्नेदेखि गणतन्त्र फालेर राजा स्थापित गर्छु भनी अराजक भाषणबाजी गर्ने सम्मकालाई नेता मान्दै जनमानस दौडिएको देखिन्छ । शस्त्रास्त्रद्वारा हिंसाको राजनीति गर्नेहरूका पछि पनि जनता दौडिरहेका छन् भने सिद्धान्त, आदर्श र विचार केही पनि तय नगरिएका नेताहरूका वरिपरि पनि उत्तिकै भीड देखिन्छ । नेपालको राजनीतिलाई नयाँ दिशा अवश्यै दिनुछ तर जनसमर्थन पाउँदै गरेका केही अनुहारहरू हेर्दा नेपालको राजनीतिलाई कस्तो मोड दिने प्रयास हुँदैछ भन्ने अनुमान गर्न नै कठिन भएको छ ।
नेपाललाई असल नेतृत्वको खाँचो छ । जनता पनि सही नेता भन्दै कहिले कसैका पछाडि त कहिले कसैका पछाडि जिन्दावाद र मुर्दावाद गर्दै हिँडिरहेका छन् । लहैलहैमा लागेर हिँड्नेहरूले त नेताको परिभाषा नै परिवर्तन गरिदिई सकेका छन् । जनताको नेता भन्दै जति पात्र परिवर्तन गर्दै गएका छन्, उति नै खराब चयन हुने पनि गरेको छ । व्यक्तिको विगत, सिद्धान्त, चरित्र र आदर्शलाई गौण बनाउँदै व्यक्तिले दिएको क्षणिक मन्तव्यलाई आधार बनाई तारणहार नेताका रूपमा देख्ने गर्नाले पनि जनताले धोका पाउँदै गएका छन् र आजभोलिका गतिविधि हेर्दा पनि जनताले चेते जस्तो देखिँदैन ।
नानीमैयाँले सांसद् भएपछि कहिल्यै मन्त्री पदका लागि चाकरी, चाप्लुसी, सम्झौता र समझदारी गरिनन् । संसद्बाट अतिरिक्त सेवासुविधा र भत्ताका लागि कहिल्यै हारगुहार गरिनन् । मन्त्री, प्रधानमन्त्रीहरूकहाँ गएर भ्रष्टाचारबाट आर्जित रकमको हिस्सा माग्ने काम गरिनन् ।
बिचौलिया, ठेकेदार र व्यापारीसँग बैठक बसेर जनता रेट्ने क्षमता भएकालाई नै सक्षम नेता देख्ने बानी नेपाली जनताको परेको छ । पैदलै हिँड्ने, दिनरात नेपाल र नेपालीका बारेमा सोच्ने र आफ्नो समृद्धिमा ध्यान नदिने सरल जीवनशैलीको नेता देखियो भने अक्षमको बिल्ला भिराउने गरिएको छ । नेताहरूबाट देश र जनताको उद्धार हुन नसकेको देखेर पुराना नेताका विकल्पमा बिचौलिया नै छान्न थाल्यौँ भने आफ्नै खुट्टामा आफैँले बन्चरो हाने जस्तै हुनेछ तर यसमा संवेदनशील होलान् जस्तो पनि देखिँदैन । पुराना नेताको विकल्प चाहिएकै छ तर कस्तो भन्नेमा चाहिँ विचार पुर्याउन सक्नै पर्दछ ।
राजनीतिमा अलिकति मात्रै चासो राख्नेहरूका लागि नानीमैयाँ दाहाल सुपरिचित नाम हो । बुझ्न सक्नेहरूका लागि नानीमैयाँ जनताका सेवकको मानक हो भने हौवाका भरमा धारणा बनाउनेहरूका लागि नानीमैयाँ राजनीतिक वृत्तकी एक हास्यपात्र हुन् । पीडितहरूका निमित्त नानीमैयाँ देवीकै अवतार भन्दा पनि फरक नपर्ने खालकी हुन् भने बोल्ने शैली, लवाइ, खवाइलगायतका बाहिरी स्वरूप हेरेर निक्र्यौल गर्नेहरूका लागि नानीमैयाँ राजनीतिमा देखिएकी एक अभद्र महिला हुन् । मान्छेले आआफ्नो स्वभाव अनुसार अरूको मूल्यांकन गर्ने हुँदा नानीमैयाँ जसरी हे¥यो त्यस्तै देखिने एक लडाकु पात्र हुन् ।
वर्तमान नेपाली समाजले यी दुबै दृष्टिकोणबाट नेपालको राजनीतिमा नानीमैयाँ जस्तै पात्रको खोजी गरिरहेको छ । अहिलेका नेताहरू सम्भ्रान्त वर्गका सेवा सुश्रुषामा केन्द्रित हुँदै गर्दा विभिन्न कारणबाट पिछडिन बाध्य समाजले गरिबको हितमा बोलिदिने नानीमैयाँ जस्तै नेता खोजिरहेको छ भने जनताको अथक् बलिदानबाट प्राप्त गणतन्त्रलाई ऐँजेरु ठान्ने एकतन्त्रीय पक्षधरहरू अहिलेको व्यवस्थालाई नै असफल बनाउन नानीमैयाँको दोस्रो पाटोमात्रै उजागर गर्दै नानीमैयाँ जस्तै पात्रको खोजी गरिरहेका छन् । जे जसरी भए पनि नेपालको वर्तमान राजनीतिले नानीमैयाँ जस्तै मान्छेको आवश्यकता महसुस गरिरहेको पाइन्छ ।
नानीमैयाँ सुतेका मन्त्री, प्रधानमन्त्रीहरूलाई ब्युँझाउन पुग्थिन् । गरिब, पिछडिएका, शोषणमा परेका, अन्याय भोग्न बाध्यहरूलाई बोकेर सरकारका दैलादैलामा नानीमैयाँ पुग्ने गर्थिन् । भ्रष्टाचारका विरुद्धमा खुलेयाम बोल्थिन् । जनताका काम नगरे मन्त्रीलाई कुर्सीबाटै घोक्य्राउन पनि बेर लाउन्नथिन् । प्रधानमन्त्रीलाई पनि गाली गर्न कुनै डर मान्दिनथिन् । सचिव, सहसचिवहरूको सातो लिन्थिन् । आफू कुनै गल्ती गर्दैन थिइन्, त्यसैले उनलाई देखेपछि त्यतिबेलाका शक्तिशाली भनिएका व्यक्तिहरू पनि उनीसँग डराउँथे । उनले भनेका काम तत्काल गर्नै पर्ने हुन्थ्यो । नेता हुनुपर्ने यस्तै हो तर आजभोलि जनताका काममा व्यस्त रहने नेता भेटिँनै छाडेका छन् ।
यी कुराहरूमा ध्यान नदिनेहरूले उनले बोलेका शब्दहरूमा मात्रै ध्यान दिँदै उनलाई उडाउने गर्दछन् । उनका मुखबाट फुत्किएका केही अपशब्दहरूलाई नै समग्र मूल्यांकनको आधार बनाएर राजनीतिमा नानीमैयाँ नामको एक उपमा निर्धारण गरिएको छ । बाटोमा हिँड्दा छिटोछिटो हिँड्ने र सारी केही माथि उचाल्दै दौडिएको कुरालाई मात्रै आधार बनाएर आजको समाजले नानीमैयाँ माथि अन्याय गरिरहेको छ । उनले सारी उचाल्दा जति माथि पुग्थ्यो त्यसभन्दा छोटा लुगा लगाउने नेताहरू पर्याप्त देखिएका छन् तर आजका भने सभ्यमा पर्दछन् । जनताका वास्तविक आवाज बोल्ने यस्ता पात्रहरूलाई हँस्सीको पात्र बनाउने गर्नाले नै नेपालको संसद् र नेताहरू जनताका काममा उदासीन हुँदै गएका हुन् कि जस्तो पनि लाग्ने गर्दछ ।
नानीमैयाँले सांसद् भएपछि कहिल्यै मन्त्री पदका लागि चाकरी, चाप्लुसी, सम्झौता र समझदारी गरिनन् । संसद्बाट अतिरिक्त सेवासुविधा र भत्ताका लागि कहिल्यै हारगुहार गरिनन् । मन्त्री, प्रधानमन्त्रीहरूकहाँ गएर भ्रष्टाचारबाट आर्जित रकमको हिस्सा माग्ने काम गरिनन् । बिचौलियाहरूसँग बसेर काम मिलाइदिँदै गोप्य रूपमा पैसा लिने काम गरिनन् । मात्र यति गरिन् कि संसद्मा बोल्ने पालो पाउँदा जनताका पक्षमा बोलिन्, अन्यायमा परेकाहरूका बारेमा बोलिन्, सरकारबाट भए गरेका खराब कामहरूका विरुद्धमा बोलिन् । भूमिहिनहरूका आवाज उठाइन् । यसैकारण उनलाई राजनीतिमा जबर्जस्ती घुसाइएको पात्र ठानियो तर जनताका नाममा सिन्को नभाँच्नेहरूले संसद् भर्नुलाई भने मतदाताहरूले आफ्नो सही छनौट ठान्ने गरेका छन् ।
उनका बारेमा विभिन्न किस्सा बनेका छन् । तत्कालीन गृह मन्त्रालयका एक सहसचिवले कान्छी पत्नी भित्र्याएपछि जेठीको वास्तै गरेनछन् । जेठीलाई खान लाउनकै समस्या पर्न थालेछ र यो कुरा नानीमैयाँकहाँ पुगेछ । उनी गृह मन्त्रालयको परिसरमा पुगेदेखि नै कराउन थालिछन्- ए सहसचिव ! कहाँ म¥याछस्, अर्काकी कलिली छोरीलाई ल्याएर च्यातचुत पारिस्, अहिले बेवारिसे बनाउँछस्, तँलाई मैले जान्याछु भन्दै सहसचिवकहाँ पुगिछन् । सहसचिव बाध्य भएर जेठीको बन्दोवस्त गर्न सहमत भएका थिए । त्यस्तै एक गरिब किशोरीमाथि भएको बलात्कारको मुद्दामा न्यायाधीशले किशोरीलाई नै हप्काउँदै मुद्दालाई मेलमिलापमा लैजाने र निर्णय लिन ढिलाइ गरेपछि न्यायाधीशलाई नै छाताले हानेको प्रसंग पनि धेरैलाई थाहा छ । त्यसपछि मात्रै न्यायाधीशले माना चामल भराउनेदेखि बिहे गर्नुपर्नेसम्मको फैसला गरेका थिए भनिन्छ ।
चाहिने नानीमैयाँ जस्तै सांसद् हो । देशमा नानीमैयाँ जस्तै गरिबहरूका आवाज बोल्ने नेताको खाँचो छ । वास्तवमा नेता भनेकै यस्तै व्यक्ति हो तर नेपालमा नेता भनेको व्यक्तिको परिभाषा नै अर्कै बनाइएको छ । राजनीतिमा नानीमैयाँ जस्तै पात्र कुनै देखिएमा नेपाली समाजले नै उडाउने गर्दछ । जसको समस्याको बारेमा नेताले बोल्दैछ, उही पीडितले पनि त्यस्ता नेतालाई कमजोर र नालायक नेता भन्न बेर लाउँदैन । नेपालको वास्तविक समस्या भनेकै यही हो ।
गणतान्त्रिक कालका सरकारहरूले केही नगरेका पक्कै होइनन् । जताततै बेथिति मात्रै पक्कै छैन । केही राम्रा काम पनि भएका छन् तर नराम्रा कामहरूको संख्या बढ्दै जाँदा मान्छेहरूले नानीमैयाँको खोजी गर्न थालेका छन् तर सही छनौट हुन पटक्कै सकेको छैन ।
हाम्रा दृष्टिमा नेता भनेको ठूलाठूला गफ हान्ने व्यक्ति हो । हामीले संसद्मा जिताउने भनेको सुकिलो मुकिलो भएर चिल्ला कुरा गर्ने र काम फिटिक्कै नगर्ने व्यक्ति हो । सांसद् जितेको भोलिपल्ट देखि मन्त्री कसरी बन्न पाइन्छ र मन्त्री बनेपछि गाडी, बंगला आदि कसरी जोड्न सकिन्छ भनेर चिन्तन गरिरहने व्यक्ति नै आफ्नो प्रतिनिधि बनाउन हामी रुचाउँछौँ । आफू, आफ्नो परिवार र आफ्ना चाकरीदारहरूको घेराबाट बाहिर जानै नचाहने नेता नै नेपाली मतदाताहरूका निमित्त सर्वप्रिय बन्ने गरेका छन् ।
विसं २०७९ को चुनावमा नेपाली मतदाताले केही नानीमैयाँहरूको खोजी गर्ने प्रयास गरेकै हुन् । नानीमैयाँ भन्नाले महिलालाई मात्रै नलिइयोस्, परिवर्तनको भावनालाई आत्मसात् गरियोस् । नानीमैयाँ खोज्ने प्रयास गरे पनि को नानीमैयाँ हो र को होइन छुट्याउन मतदाताले सकेनन् । चुनावअघि मात्रै नानीमैयाँको स्वरूपमा देखिएका हुन् कि चुनावपछि पनि नानीमैयाँ नै रहन्छन् भन्ने नेपाली मतदाताले विश्लेषण गर्न भने सकेनन् । नानीमैयाँ हुन सेवाभावको पृष्ठभूमि अत्यावश्यक छ भन्ने कुरालाई नजरअन्दाज गरेको देखियो ।
नेपाली मतदाताले जजसलाई नानीमैयाँ ठानेका थिए ती सबै चुनावपछि एकाएक उही अरु नेताहरू जस्तै देखिए । जसका विरुद्धमा जेहाद छेडेर संसद्मा पुगेका थिए उनीहरूकै चाकरी गरेर मन्त्री बन्न दौडिन पुगे । जनताका समस्यालाई पाखा लगाएर आफ्नै समस्या सुल्झाउन रातदिन व्यस्त हुन थाले । संविधान, नियम, कानून आदिलाई सर्वोपरि राखेर काम गर्ने होइन कि आफ्ना लागि ती सबै कानुनी व्यवस्थाहरू निलम्बन हुनु पर्दछ भनी मान्यता राख्नेहरूलाई नानीमैयाँ ठानेर जनताले संसद्मा पठाए । नानीमैयाँ खोज्ने भन्दाभन्दै गलत निर्णय गरे जनताले ।
नानीमैयाँ त दश वर्षकै उमेरमा नेतृ बनेकी थिइन् । पत्याउनै गाह्रो हुने गरी त्रिभुवन ग्राम विकासको सभापति भएकी थिइन् । त्यही बेलादेखि जनताको सेवामा तल्लीन भएकी नानीमैयाँ २८ उन्तीस वर्षकी हुँदै जोरपाटी गाउँ पञ्चायतकी उपप्रधानपञ्च भएकी थिइन् । त्यतिबेला काठमाडौंमा नुन र तेल किन्न साल्ट ट्रेडिङमा गएर घण्टौं लाइन बस्नु पर्दथ्यो त्यसको समाधान नानीमैयाँले गरेकी थिइन् । अहिले करिब असी वर्षकी भइसकेकी छन् र पनि उनको त्यो विगतलाई अद्यापि स्मरण गरिँदैछ । उनीभन्दा अघि र पछि कति नेताहरू जन्मिए, कति मरेर गइसके तर पनि उनकै नाम सर्वाधिक रूपमा अगाडि आउनुमा उनको हास्यरसमात्रै कारण निश्चय नै होइन होला । सकुम्बासी बस्ती बसाउनेदेखि भूमिहिनहरूको जीवन सहज बनाउने उनको प्रयास कसैले बिर्से जस्तो लाग्दैन ।
काठमाडौंको प्रतिनिधि भएर पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मकाहरूको आवाज उठाउने गर्दथिन् । त्यसैले विसं २०३८ मा सम्पन्न राष्ट्रिय पञ्चायतको चुनावमा त्यतिबेलाका शक्तिशाली गृहमन्त्री जोगमेहर श्रेष्ठलाई हराउँदै विजयी बनेकी थिइन् । भन्न त कांग्रेसले पञ्चायतको बेइज्जत गर्न नानीमैयाँलाई सहयोग गरेको थियो भनिन्छ तर यो सहयोग प्राप्त गर्न पनि उनमा केही योग्यता त निश्चय नै आवश्यक थियो । उनी योग्य नभएको भए आफ्नो कार्यकालभरि जोगमेहरको सहयोग लिन कसरी सफल हुन्थिन् होला भन्नेतर्फ पनि सोच्न जरुरी छ किनकि नानीमैयाँलाई जोगमेहरले पूर्णरूपेण सहयोग गरेका थिए ।
गणतान्त्रिक कालका सरकारहरूले केही नगरेका पक्कै होइनन् । जताततै बेथिति मात्रै पक्कै छैन । केही राम्रा काम पनि भएका छन् तर नराम्रा कामहरूको संख्या बढ्दै जाँदा मान्छेहरूले नानीमैयाँको खोजी गर्न थालेका छन् तर सही छनौट हुन पटक्कै सकेको छैन । विकल्पका नाममा बिचौलिया खोजी गर्दैछन् । उनै पुराना नेताहरूको आडभरोसामा गर्न हुने र नहुने दुबैथरि काम गरेर टन्न पैसा कमाएको मान्छेलाई आफ्नो नेता बनाउने प्रयास गर्दैछन् । नैतिकताका विभिन्न सीमाहरूलाई नाघेर अनैतिकहरूको सूचीमा नाम कमाएको मान्छेलाई नै नयाँ नानीमैयाँ बनाउने प्रयासमा केही लागेका छन् तर यो असफल प्रयास हुनेछ । जुनसुकै सफलताका पछाडि असल कर्म, असल उद्देश्य र सही हतियार हुन आवश्यक हुन्छ ।
अर्काको हुँदाखाँदको घर बिगारेर एउटी महिलालाई बेघर बनाई आफ्नो सुखद् दाम्पत्य जीवनको आरम्भ गर्नेलाई नै असल नेतृ देख्दासम्म परिवर्तनको आभास मिल्न सक्दैन । अर्काको कमी कमजोरीलाई उजागर गर्दै उसबाट रकम हसुलेर सुखसयलमा बस्नेमाथि भरोसा गरेर नेता बनाउने प्रयास गर्नु कदापि हितकर हुँदैन । सही व्यक्तिको चयन गर्न सक्नु जनताको जिम्मेवारी हो भने जनतको अभिमतबाट नेता बनेकाहरूले आफूलाई जनताको सेवामा समर्पित गर्नु उनीहरूको कर्तव्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच