
कैलाली । सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ ।
गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो । शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो । नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए । त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताउनुभयो । उनी लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ । डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए ।
नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्विकार गरेको एसपी थापाले बताउनुभयो । बृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रिका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भन्नुभयो, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो ।’ महेश २० कार्तिकमै धनगढी देखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको थियो ।
सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित ईन्द्र बराल (सुनार) ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको छ ।
सुन बिक्रिका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र निरज भट्टलाई पठाएको पाइएको छ । चौधरीले निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यापछि १ दशमलव ५० आनाको फुली, १ दशमलव ६९ आनाको मुन्द्रा र २ दशमलग ७ सय आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो ।
नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन् । कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजना विरुद्ध फरकफरक मुद्दा आकर्षित हुने बताउनुभयो । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच