लिपि नहुँदा छन्त्याल भाषा संकटमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीमा बसोवास गर्ने अल्पसंख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा पनि नासिदै गएको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न र संरक्षण गर्न नसक्दा छन्त्याल भाषाको लिपि लोप भएको छ भने भाषा समेत नासिने खतरा बढेको हो ।

बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगंगा गाउपालिका ६ ठाडाखानीका ८३ वर्षिय युवहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु, आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न संकोचमान्नु, बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उहाँको भनाइ रहेको छ ।

“भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाकाहरु मेटिँदै गए । युवा पुस्ता आफ्नो पुख्यौली पेशा छोडेर विदेश वा सहरमा बसाइ सरे । उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, स्थानीय विकल छन्त्यालले भन्नुभयो “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

नेपाल छन्त्याल संघ म्याग्दीका अनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ । छन्त्याल समुदाय सवैभन्दा बढी म्याग्दी र बागलुङ जिल्लामा रहेका छन् । कुल छन्त्याल समुदायको संख्या मध्यम्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत बस्ने गर्छन् ।

नेपाल छन्त्याल संघ म्याग्दीका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह,विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अंग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

घरपरिवारमा मातृभाषा बोल्ने चलन हराउँदै जानु, आफ्नै समुदायका साथीभाइसँग भेटघाट हुँदा नेपाली भाषा प्रयोग गरिनु र आफ्नो पुख्यौंली पेसा छोडेर शहर र विदेश जाने क्रम बढ्नुले पनि मातृभाषा लोप हुँदै गएको छन्त्यालले बताउनुभयो ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगंगाको ठाडाखानी र कुइनेमंगलेमा छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको छ ।

जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसंख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् । छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृ भाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीमा सबैभन्दा धेरै छन्याल समुदायको बसोबास रघुगंगा गाउँपालिकामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?