जेरुसेलम । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० जनाको रिहाइ अपेक्षानुसार बिहीबार नहुने संकेत गर्नुभएको छ ।
‘हाम्रा बन्धकहरूको रिहाइका निम्ति सम्पर्क अगाडि बढेको छ र यो जारी छ’, उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ, ‘रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौतानुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुने छैन ।’ अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताउनुभएको छ । यो ढिलाइ आफ्ना प्रियजनलाई घर फर्केको हेर्न चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका निम्ति प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीका लागि ठूलो झट्का हो ।
जटिल र सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चारदिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएका मध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिनेछ । रिहा गरिने प्रत्येक १० अतिरिक्त बन्धकका निम्ति युद्धमा थप एक दिनको ‘विराम’ हुने इजरायली सरकारले एक दस्तावेजमा जनाएको छ । रिहाइका निम्ति तोकिएका मध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी हुनुहुन्छ ।
बदलामा इजरायलले कम्तीमा १५० प्यालेस्टाइनी महिला र बालबालिकालाई रिहा गर्नेछ । हप्तौंको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायताको प्रवेशलाई अनुमति दिइनेछ । इजरायल, हमास, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि गरिएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।
कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल-अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मक रूपमा भइरहेको’ बताउनुभयो । ‘अबको केही घण्टामा युद्धविराम सम्झौताको टुंगो लगाइनेछ’, उहाँले भन्नुभयो ।
विश्वका नेताबाट स्वागत
यसैबीच इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायत विश्व समुदायले स्वागत गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिनुभएको छ । ‘म असाधारण रूपमा खुशी छु कि यीमध्ये केही बहादुर आत्माहरूको यो सम्झौता पूर्णरूपमा लागू भएपछि उनीहरूका परिवारसँग पुनर्मिलन हुनेछ’, बाइडेनले बन्धकहरूलाई संकेत गर्दै भन्नुभयो ।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय संकटलाई सम्बोधन गर्ने दिशामा महत्वपूर्ण कदम’ भन्नुभएको छ । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले सम्झौताको स्वागत गर्दै यो सम्झौतालाई गाजाका जनताका लागि महत्वपूर्ण सहयोगका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
जी–२० शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)बीच भएको सम्झौताको स्वागत गरेको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले आफूले ‘इजरायली बन्धक छुटाउने र गाजामा युद्धविराम गर्ने सम्झौताको स्वागत’ गरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जहाँ भए पनि युद्धका कारण सर्वसाधारणको मृत्यु हुनु निन्दनीय घटना हो ।’
चीनले सम्झौता मानवीय संकटको दुर्दशालाई कम गर्न महत्वपूर्ण कदम भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, ‘यसले मानवीय संकटको दुर्दशा, द्वन्द्व र तनाव कम गर्न मद्दत गर्नेछ भन्ने बेइजिङले आशा गरेको छ ।’ क्रेमलिनले यस सम्झौतालाई ‘धेरै लामो समयपछि गाजाबाट प्राप्त पहिलो शुभ समाचार’ भनेको छ र ‘यस प्रकारका युद्धविरामहरूको आधारमा मात्र दिगो समाधानमा भविष्यका प्रयासको केही रूपरेखा कोर्न सकिने’ बताएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सम्झौताको स्वागत गर्दै यस कदमले प्यालेस्टिनी जनताको वैध अधिकारको प्रत्याभूति गर्न अन्तिम र दिगो समाधानमा पुग्ने इजिप्टको प्रयासलाई निरन्तरता दिने बताउनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच