
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारण अप्ठ्यारोमा परेका उद्यम/व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिनुभएको छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिसँग बिहीबार केन्द्रीय बैंकमा आयोजित अन्तरक्रियामा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
गभर्नर अधिकारीले भन्नुभयो, ‘असल मनसायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारण कसैलाई अप्ठ्यारोे परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस् । उद्योग/व्यवसाय सहजरूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔँ । त्यसका लागि आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैँ तयार छ ।’
वित्तीय स्थायित्वमा असर पार्ने गरी वित्तीय क्षेत्रविरुद्ध हुने अवाञ्छित गतिविधिप्रति कुनै किसिमको सम्झौता हुन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । त्यस्ता गतिविधि बैंकिङ कसुरजन्य कार्य भएको उहाँको भनाइ थियो । गभर्नर अधिकारीले भन्नुभयो, ‘ऋण लिएपछि तिर्नैपर्छ । कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधि बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ ।’
सो अवसरमा गभर्नर अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा २०८० मंसिर ४ र ५ गते आयोजित मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उठेका विषयवस्तुबारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा. गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयबारे धारणा राखेका थिए ।
अन्तरक्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव र अन्य प्रतिनिधिको उपस्थिति थियो । बैंकर्सले पछिल्लो समय कर्जाको सावाँ/ब्याज असुली तथा खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको र बैंकिङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेको उल्लेख गर्दै समाधानका निम्ति आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । साथै कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच