कुनै पाखण्डले ‘हिन्दू धर्म खतरामा छ’ भन्दैमा त्यसको पछाडि लाग्नु हुँदैन : गगन थापा

हिमालय टाइम्स
Read Time = 3 mins

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा कांग्रेस पार्टी अगाडि बढेको जानकारी दिनुभयो ।

“नेपाली कांग्रेसले सङ्कल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौं । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी कांग्रेस मात्र हो”–उहाँले भन्नुभयो ।

हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्नुहुँदै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताउनुभयो । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उहाँको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले परिवर्तनको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकतन्त्रमा नेताहरु झुपडीमा बस्ने र जनता महलमा बस्नुपर्नेमा अहिले नेताहरु महलमा बस्ने र जनताले सिटामोल नपाउने अवस्थाले असन्तुष्टि बढेको बताउनुभयो । कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको उहाँको भनाई थियो ।

कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले लोतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभयो । उहाँले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सृजना गर्न जरुरी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?