✍️ तिलकप्रसाद लुइँटेल
यत्प्रज्ञानमुतचेतोधृतिश्चयज्ज्योतिरन्तरमृतम्प्रजासु ।
यस्मान्नऋतेकिञ्चनकर्मक्रियते तन्मे मनः शिवसङ्कल्पमस्तु ।१.७।
प्रकृष्ट ज्ञान, चेतना, धैर्य र प्राणीहरूमा अमर ज्योतिका रूपमा पनि जुन मन रहेको छ, जसका अभावमा कुनै पनि कर्म गरिँदैन त्यही मेरो मन शिवसङ्कल्प होस् ।
अष्टाध्यायी रुद्रीको पहिलो अध्यायको सातौँ मन्त्र यही हो । यजुर्वेद संहिताको ३४औँ अध्यायको ३औँ मन्त्र यही हो । वेदमा यस मन्त्रका ऋषि शिवसङ्कल्प हुन् भन्नेछ । यी मन्त्रको साक्षात्कार गरेपछि कुनै ऋषिको नाम नै शिवसङ्कल्प भएको पनि हुन सक्छ र यहाँ त्यही नाम उल्लेख भएको पनि हुन सक्छ । अथवा ऋषिको नाम नै त्यही थियो र आफ्नै नाम अनुसारको भावना मन्त्रमा प्रकट भएको पनि हुन सक्छ । यहाँ ६ वटा मन्त्रका अन्तमा शिवसङ्कल्पमस्तु नै छ । जे जसो भए पनि उनै शिवसङ्कल्प ऋषिबाट यस मन्त्रको साक्षात्कार र उच्चारण भएको मानिन्छ ।
मन्त्रमा प्रकृष्ट ज्ञानको चर्चा छ । खाने समयमा ज्ञान भएन भने अखाद्य खाएर आफैँ दुःख पाउँछ । यो व्यवहारमा चाहिने ज्ञान हो । जुन ज्ञानले आफ्नो खोजी गर्छ, आफ्नो ‘स्वत्व’ चिन्दछ त्यसलाई विद्वान्हरूले आत्मचिन्तन, परमात्माको साक्षात्कार आदि भनेका छन् ।
यस मन्त्रका देवता मन हुन् भनिएको छ । यहाँ विचार गर्दा ऋषि वा मानिसको स्थान असल सङ्कल्पकर्ता र उसको असल मन देवता भन्ने स्पष्ट हुन्छ । यस मन्त्रको छन्द स्वराट् त्रिष्टुप् हो । त्रिष्टुप् छन्दलाई तीन ताप शमन गर्ने मानिएको छ । त्रिष्टुप् छन्दमा ११ अक्षरका दरले चार पङ्क्ति हुन्छन् र जम्मा ४४ अक्षर हुन्छन् । त्रिष्टुप् छन्दमा २ अक्षर बढी भएपछि त्यही स्वराट् त्रिष्टुप् भनिन्छ । यस मन्त्रमा पनि ४६ अक्षर छन् र स्वराट् त्रिष्टुप् भएको हो ।
यस मन्त्रका देवता मन भनिएको छ अथवा वेदमा मनलाई देवता मानिएको छ । देवता शब्दको अर्थ नै दिव्यता भएको हो । दिव्यता भनेर विचित्रता वा गोप्यता भएको भन्ने अर्थ पनि लाग्छ । मानिसले प्रयास गर्दा संसारका धेरै कुरा जान्न सक्छ तापनि सबैभन्दा विचित्र र जान्नका लागि कठिन एवं गोप्य विषय मन नै हो । त्यसै मनमा राम्रा र नराम्रा विचार आउँछन् । विचार अनुसारको अठोट बन्छ । त्यसैले वेदका मन्त्रहरूमा मनको अठोट वा सङ्कल्प सुन्दर, लोकहितकारी, शान्तिदायक होस् भनेर प्रार्थना गरिएको छ । मनले नै मानिसलाई शान्ति र अशान्ति दुवै अवस्था दिन्छ । मन नै मानिासलाई ज्ञानमा लैजाने वा अज्ञानमा राख्ने आधार हो । व्यवहारमा पनि ज्ञान नै चाहिन्छ उत्कृष्ट, शाश्वत मार्गमा लाग्न पनि ज्ञान चाहिन्छ ।
मन्त्रमा प्रकृष्ट ज्ञानको चर्चा छ । खाने समयमा ज्ञान भएन भने अखाद्य खाएर आफैँ दुःख पाउँछ । यो व्यवहारमा चाहिने ज्ञान हो । जुन ज्ञानले आफ्नो खोजी गर्छ, आफ्नो ‘स्वत्व’ चिन्दछ, जुन ज्ञानले गरेको निर्णय सधैँका लागि र सबैका लागि हुन्छ त्यसलाई विद्वान्हरूले आत्मचिन्तन, परमात्माको साक्षात्कार आदि भनेका छन् । मानिस अनुसार मन फरक हुन्छ र मनको फरक अनुसार ज्ञानको स्तर पनि फरक पर्छ । माथि कुरा गरिएको खाने पचाउने कुराको मात्रै ज्ञान भएका अवस्थामा परमात्माका ज्योतिर्मय रूपको चर्चा पाच्य हुँदैन, उसका लागि त्यो ग्राहृय पनि हुँदैन ।
उचाइसम्म यात्रा गर्ने मनलाई छोटो समयका लागि प्रभाव पार्ने ज्ञानले पुग्दैन । ठूलो परियोजना पूरा गर्न लागेका मानिसलाई सानातिना काँडा गोडामा बिझेर विचलित गराउन सक्दैन, त्यस्तै एकाग्र ब्रहृमनिष्ठामा रहेका साधकलाई खाने लाउने चिन्ताले सताउँदैन । यद्यपि यी अवस्थाले उसलाई क्षणिक बाधा नपुग्ने होइन । लक्ष्य कुन हो र उपस्थित बाधाले पार्ने व्यवधान कति हो भन्ने बुझेर अघि बढ्नु चेतनाको काम हो, मन्त्रले चेतनाको आश्रय पनि मन हो भनेको छ ।
मन्त्रमा धैर्यको चर्चा आएको छ । ईश्वर आराधनाको, सिद्धि प्राप्तिको वा लोकव्यवहारको नै कुनै विशेष कर्मको सङ्कल्प मनले गरेको छ र त्यस कर्मको क्रमका विषयमा चेतना पनि छ तर कर्म गर्ने मानिससँग धैर्यको कमी छ भने पनि पार लाग्दैन । ईश्वरीय आराधनामा जसरी नियम र प्रक्रियाको अति ठूलो महत्व हुन्छ, लौकिक कर्ममा पनि उस्तै हो । हवनमा जसरी हव्य सामग्रीको मात्रा केको कति भन्ने हुन्छ, उसरी नै खरले घर छाउँदा पनि कति ठाउँका लागि कति खर चाहिन्छ, बन्धन कति अन्तरमा हुनु ठीक हुन्छ त्यस्तै गरी पक्का निर्माणमा कुन सामग्री कति राखेको मिश्रण ठीक हुन्छ त्यो पनि उस्तै हो ।
समयको अन्तरालले पनि धैर्यको परीक्षण गर्छ । असारमा रोपेको बाली मङ्सिरमा पाक्छ, अन्नको अभाव भयो भन्दैमा साउन भदौमै फल लिन हतार गर्नेले केही पनि पाउँदैन । धैर्यको स्थान पनि मन नै हो भन्ने मन्त्रले भनेको छ । मनले हतारिने, आत्तिने वा मनले सही ठम्याउन नसक्ने मानिस सफल हुन त परै हो, उसको उल्टै हानि नै हुन्छ भन्ने सबैलाई थाहा छ ।
मनलाई प्रजाहरूमा अमर ज्योतिको रूप भनिएको छ । प्रजा भनेर हामी राजाका रैतीहरूलाई यस बेला बुझ्छौँ । प्रजा शब्दको अर्थ जन्मनेसँग छ । ‘प्र’ उपसर्ग लागेर जन्मने अर्थको ‘ज’बाट प्रजा शब्द बनेको हुन्छ । प्र उपसर्गले माथि प्रज्ञानको अर्थ प्रकृष्ट ज्ञानको प्रकृष्ट भन्ने दिएको जस्तै यस ठाउँमा प्रकृष्ट रुपमा भन्ने अर्थ दिएको छ । प्रयोगसिद्ध ज्ञान नै प्रज्ञान हो र प्रयोगसिद्ध वा सफलतापूर्वक भएको जन्म नै प्रजन्म वा प्रजा हो । मनलाई प्रजाहरूको अन्तर्निहित ज्योति भनिएको छ । त्यसको अर्थ सबै प्राणीमा मन छ मन्त्रले पनि बताएको छ र व्यवहारतः पनि देखिएको हो ।
मन, चिन्तन, धैर्य र कार्यक्षेत्रका आधारमा मानिस एकापसमा फरक छ र नै आफ्ना क्षेत्रमा विज्ञ हुन्छ, अन्य क्षेत्रमा अनभिज्ञ रहन्छ । जुन क्षेत्रमा जसको जति प्रज्ञान छ, जति धैर्य छ, उसले त्यति नै चिन्तन गरेको हुन्छ ।
जुन प्राणीले जस्तो रुपले मनको व्यवहार गर्छ उसले उसरी नै जीवन निर्वाह गर्छ । शरीरको स्वरूप अनुसार नै मन परिचालित भएको हुन्छ । त्यसैले अन्य प्राणी र मानिसका मनको वृत्ति कैयौँ अर्थमा फरक पर्छ । ‘आहारनिद्राभयमैथुनञ्च एतन्नराणां पशुभिर्समानम्’ भन्दै खाने, आराम गर्ने, ज्यान जोगाउने र सन्तान जन्माउने कर्महरू मानिस र पशु सबैमा छ भनिएको छ ।
मानिसको मन पशुभन्दा उच्च चिन्तन गर्नेमा पर्छ । त्यसैले शिक्षित अशिक्षित, शास्त्रज्ञान भएको वा नभएको सबै मानिस कर्म गर्छ । कर्म गर्नमा उसलाई मनले हुटहुटी लगाउँछ । किनभने मान्छेका शरीरको बनोट प्रकृतिले नै कर्म गर्ने रुपमा दिएको छ । शारीरिक रुपमा निर्धो मानिस मनका बलले कर्म गर्छ कर्मका बलले बाँचेको छ । त्यसो भए तापनि सबै मानिसमा एक समान मनोबल हुन्छ भन्ने होइन । कसैको कम र कसैको बढी हुन्छ । त्यसो भएर नै आआफ्नो मनोबल, चेतना, धैर्य अनुसारका कर्म सबैले गर्छ र एक मानिसको प्रयोजन अर्कालाई पर्दछ र सामाजिक जीवन बाँच्न सहयोग पुगेको हुन्छ । मानिसका मनको र चिन्तनको स्तर फरक हुन्छ ।
मन, चिन्तन, धैर्य र कार्यक्षेत्रका आधारमा मानिस एकापसमा फरक छ र नै आफ्ना क्षेत्रमा विज्ञ हुन्छ, अन्य क्षेत्रमा अनभिज्ञ रहन्छ । जुन क्षेत्रमा जसको जति प्रज्ञान छ, जति धैर्य छ, उसले त्यति नै चिन्तन गरेको हुन्छ । त्यस क्षेत्रबाट नयाँ मार्ग प्रकट गर्न सकेमा त्यस क्षेत्रको मनीषी उही हो । प्रकृष्ट रुपमा त्यसो त मनन गर्ने मनीषी हुन् । मनन गर्ने मनीषी भएको जस्तै मनलाई समाधान दिने वा तारण गर्ने मन्त्र हो । मन्त्रले फुकफाक गरेर रोगको निवारण गरेको वा समस्याको समाधान निकालेको कुरा हामीले केही देखेका छौँ र कैयौँ त्यस्ता कुरा सुनेका छौँ ।
उसले फुक्दा निको हुने तर उसै मन्त्रले अर्का मानिसले फुक्दा निको नहुने कुरामा पनि सायद मनका शक्तिको स्तर नै कारण हुन सक्छ । त्यस क्षेत्रमा उसको मनोबल, चेतना, समर्पण, प्रक्रिया आदिका धेरै पाटाहरू हुन सक्छन् । एउटै सगरमाथा चढ्ने रहर कैयौँ मानिसको होला तर जोसुकैले सक्दैन । जसले आरोहण गरेका छन् ती पनि आखिर मानिस नै हुन् । अतः सामान्य मानिसले समाधान गर्न नसक्ने कामहरू मनको साधना गर्नेले सक्छ । ईश्वरीय ध्यान साधनाको कुरा यही हो । त्यसैले मन्त्रमा मेरो मन शक्तिशाली र हितकारी होस् भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच