हामीले जनता क्याम्पस बिजौरी दाङमा पढ्दा सुनेको २०२४ सालमा तत्कालीन राजा महेन्द्र दाङ बिजौरी भ्रमणमा गएको बेला केही गरिब नागरिक राजाका सामु रुँदै फिराद गर्न पुगेछन् । अनि राजाले आफ्ना सुरक्षाकर्मीतिर फर्केर यिनीहरू के भन्दैछन् ? किन रोएका ? भनेर सोधेछन् । त्यसपछि उनका सुरक्षा गार्डले सरकार यिनीहरू गरिब छन् त्यसैले सरकारसँग माग राख्न आएका भनेछन् । त्यसपछि राजा महेन्द्रले के यिनीहरूलाई सामान्य दूधभात पनि खान पुग्दैन ? यिनीहरूलाई दूध र भात खाने व्यवस्था मिलाउनू भनेर निर्देशन गरे अरे भन्ने सुनिन्थ्यो ।
राजालाई दूधभात भनेको सामान्य खाना हो जुन कुरा त सबको पहुँचमा हुनुपर्ने भन्नेजस्तो लागेर त्यसो भनेको हुनुपर्दछ सायद । वा पहिलो त राजा महाराजाहरूलाई के कुरा सुलभ के दुर्लभ भन्ने नै थाहा भएन अथवा दोस्रो राजा पनि नेता न हुन् नेपालको हकमा सबै नागरिकलाई कम्तीमा पनि दूधभात सर्वसुलभ हुनुपर्छ भन्ने ठानेर पनि भनिएको हुन सक्छ । यो एकतन्त्रीय तानाशाही व्यवस्थामा जनभावनाको सम्बोधन भएन भनेर राजतन्त्र फालियो, त्यसपछि ठूलो बलिदान दिएर जनताको निम्ति आवश्यक भनिएको गणतन्त्र ल्याइयो तर विडम्बना पूर्वराजाले पचपन्न वर्ष पहिले सामान्य भनेको दुधभात नेपालीको निम्ति कहिल्यै पनि सर्वसुलभ हुने छाँट देखिएको छैन ।
त्यसैले दूध र भात सामान्य होइन बरु यो त असामान्य विषय हो भन्ने पो पुष्टि हुँदै गइरहेको छ । नेपालीलाई त पेटभरि भात खान पाउनु धेरै ठूलो कुरा हुन थालिरहेको छ । आज पनि गरिबीसँग कुनै साइनो नभएका कतिपय ठूला घराना होलान् र तिनीहरूलाई यस्तो कुरा सुन्दा अचम्म लाग्दो हो ।
हाम्रो पश्चिमतिर चामलको मात्रै भात हुन्छ पूर्वतिर मकैको परिकारलाई पनि भात भनिँदो रहेछ । हाम्रोतिर मकैलाई खस्रो गरी पिसेर बनाइएको च्याँख्लालाई पकाएको परिकारलाई आटो भनिन्छ । हाम्रोतिरको पहाडको मुख्य बाली धान, मकै र कोदो हो ।
सुप्रसिद्ध साहित्यकार कृष्ण धरावासीले पाँचथरबाट झापा बसाइँ सर्नुको मुख्य कारण धानको भात खाने रहरले हो भनेका छन् । उनले आफ्नो व्यक्तिगत विवरण समेटिएको आधाबाटो उपन्यासमा पहाडी जीवनमा गरिबीको चुडान्त स्थिति कस्तो हुन्छ ? गरिब भएपछि नजिककै आफन्त र इष्टमित्रको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने बारेमा ज्यादै मर्मस्पर्शी कुरा गरेका छन् ।
हाम्रो पश्चिमतिर चामलको मात्रै भात हुन्छ पूर्वतिर मकैको परिकारलाई पनि भात भनिँदो रहेछ । हाम्रोतिर मकैलाई खस्रो गरी पिसेर बनाइएको च्याँख्लालाई पकाएको परिकारलाई आटो भनिन्छ । हाम्रोतिरको पहाडको मुख्य बाली धान, मकै र कोदो हो । यी सबै किसिमकाखाना मिसाएर पनि सालभरि खान पुग्नु ठूलो कुरा हो । त्यसमाथि वर्ष दिनभरि नै धानको भात खान पुग्नु भनेको जमिन्दार हुनु हो । हाम्रो देशका पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने मुख्य कारण जति दुःख गर्दा पनि पेटभरि खान नपाउनु र धानको भात खान नपाउनु हो ।
हाम्रा पिताजीलाई पनि पहाडमा ठूलो परिवार पाल्न निकै गाह्रो भएको थियो । आमा धुल्लेल मुखियाकी छोरी । हाम्री आमालाई आफ्ना मुखिया माइतीप्रति ठूलो गौरव थियो । आफ्ना माइतीलाई बिना टीकाका राजा मान्नुहुन्थ्यो । अनि आज जुन ठाउँमा जसरी आफूले जीविकोपार्जन गर्नु परिरहेको छ त्योभन्दा धेरै माथिल्लो तहको बाल्यकाल आफूले बिताएर आएको भन्ने ठहर थियो । बुबा गाईसाहूको छोरा गर्भे टुहुरो हजुरआमाले आँसुले पखालेर हुर्काउनु भएको तर आर्थिक अवस्था अरू धेरैको भन्दा राम्रो भए पनि ठिकैठिकै खालको । नामका अगाडि मुखिया साहू जोडिएको त थियो तर हाम्रो स्तर अनि चरित्र त्यस्तो थिएन । हामी श्रमजीवी वर्गकै थियौँ ।
कुल खानदान अनुसारका इष्टमित्र परपाहुना घरमा सधैँजसो भइरहने । भान्सामा सबै परिवारलाई धानको भात पकाउन सक्ने अवस्था नहुने । भान्सामा आटोढिँडो खाएर कुकुरलाई भातको कलो समातेर डकार्दै बाहिर निस्कनुपर्ने बाध्यतामा हाम्री आमाले कसरी घरको इजत जोगाउनुभयो त्यसको थोरै जानकारी सानोमा हामीलाई पनि भयो । धानको भात पेटभरि खाने रहर कहिलेकाहीँ हामीलाई पनि बिझाउँथ्यो । हामी सानै थियौँ पञ्चायत गएको केही समयमै पुराना साहू, मुखिया, महाजनहरूको अर्थिक स्थिति खस्किँदै गइरहेको थियो । पञ्चायतमा रजगज गरेकाहरूलाई जनताले आफ्नो बेठबेगारी सेवासुश्रूषा कम गर्न थालेकैले होला सायद अवस्था दयालाग्दो हुँदै गइरहेको थियो ।
एकातिर पुरानो हैकम घटेर सामान्य नागरिकका छोराले पनि आँखा जुधाएर हकअधिकारका कुरा गर्न थालेका थिए अर्कोतिर धानको भातको त के कुरा कोदाको ढिँडोको जोहो गर्न पनि धौधौ भएको थियो । भात खान नपुग्नु अनि आफ्नो घरको अनाजले खान नपुग्नु त्यसमाथि आटोढिँडो खान बाध्य हुनु मुखिया, साहुहरूका निम्ति निकै कष्टकर कुरा हुन थालेको थियो ।
यसरी समाजमा आफ्नो पुरानो रबाफ समाप्त भएको अवस्था अनिकिनेर खाँदा वा मकै, कोदोको परिकार खाँदा इजत जाने डरले गर्दा समाजका प्रतिष्ठित भनिएका व्यक्तिहरूलाई समाजमा बस्न र व्यवहार गर्न गाह्रो भएपछि कतिपय साहूमुखियाका सन्तानहरूले बसाइँ सरेको कुरा हामीलाई थाहा छ । हामीले सुने अनुसार घरका महँगा भाँडावर्तन रातीमा बेचेर दिनको इज्जत राख्न परेका, घरकै झ्यालढोका बेचेर पनि खान परेका घटना पनि सुन्नमा आउँथे । यी त केही पहिलेका कुरा भए आज पनि धानको भात गाउँघरमा ठट्टा वा गालीजस्तो बन्दै गइरहेको अवस्था छ ।
जग्गाजमीन बन्जर बन्दै छ खेती कसैले गर्दैन । बालबच्चा, बुढाबुढीबाहेक वयस्कहरू गाउँमा छैनन् । हुनेखानेका छोराछोरीहरू सम्पन्न मुलुक छिरिसके त्यता जान नसकेका धेरैजसो युवायुवती खाडीमा छन् बाँकी शहर पसेका छन् । स्थिति साँच्चै भयावह बन्दै गइरहेको छ । हिजो पेटभरि खान पुग्नेहरू अहिले गरिब भएका छन् । हिजोका गरिबहरू धेरै धनी भएको अवस्था पनि छ । आर्थिक अवस्थाको यस्तो असन्तुलनले देशको समग्र उत्थानमा गम्भीर प्रभाव पार्दै गएको कुरा निश्चय पनि चिन्ताको विषय हो ।
सम्झना अनेक छन् बाल्यकालका हामी दुई-तीन कक्षामा पढ्दा पाँच पैसाका पाँचवटा पिपलगेडी आउँथे कुइधाङ बेग्खोले माइलाका पसलमा । अलि पछि सुन्तले मिठाइँ आए । सुन्तलाको केस्राजस्तो आकारका भएका हुनाले हामी सुन्तले मिठाइँ भन्थ्यौँ । हामीले त धेरैजसो वराबुटे शशिधरबाट कापीका पन्नासँग डुम्रीर अमलाका दाना साटेर दिउँसोको खाजा खाइन्थ्यो । शशिधरले तिनै पाना सिलाएर मोटा कापी बनाएर लेख्थे । त्यसपछि खाजा बिस्कुट आयो पाँच सुकाको एक पुरिया आउँथ्यो । धेरै दिनको पैसा जम्मा गरेर कहिलेकाहीँ ठूलै हिम्मत जुटाएर खाजा बिस्कुट किनेर लौँवा खोलाको पानीमा चोब्दै खाँदै गरिन्थ्यो । कति मिठो लाग्थ्यो त्यो बिस्कुटको स्वाद ।
गाउँघरको बसाइ ठीक, आटोढिँडोको खाना ठीक, घाँस चरेका गाईभैँसीको दूध-घ्यू ठीक, गाउँकै खसीबोकाको मासु ठीक, काम गरेर पसिना चुहाएको शरीर ठीक, बाबुबाजेले सिकाएको संस्कार ठीक, परिश्रम गरेर खाने बानी ठीक ।
अहिले त्यति मिठो बिस्कुट बन्दैन कि कुन्नि । सानामा तिनै पिपलगेडी, सुन्तले मिठाई किन्ने पैसा पनि नभएर मन कुँड्याएर बसिन्थ्यो । तीजमा सतीढुङ्गा, ठूली एकादशीमा बेलबगर अनि माघे सक्रान्तीमा ज्यामिरघाटको मेलामा जाँदा पिताजीले तीन मोहोर पैसा दिनुहुन्थ्यो । मेलामा साट्न डरलागेर साँझ त्यो एक रुपैयाँ पनि घरै फिर्ता लिएर आइथ्यो । अहिले ती पिपलगेडी बन्छन् कि बन्दैनन् होला ? ती दिन सम्झिँदा सपनाजस्तै लाग्छ कति तीव्र गतिमा समय दौडिँदो रहेछ । हामीभन्दा पहिला पनि समय त यसरी नै दौडिरहेहोला तर आफ्नै पालामा सबै कुरा बढी भएझैँ लाग्दोरहेछ । हाम्रा एकजना भाइ गाउँ छोडेर उहिल्यै शहर आएका एकजना आफन्तकोमा राती बस्न पुगेछन् ।
साँझ खानामा उनलाई पातलो दाल, थोरै भात, दुईवटा रोटी, सागका दुई-चारतान्द्रा दिएछन् । उनलाई लागेछ योभन्दा राम्रो त गाउँमै थियो बाक्लो दालसँग मुछेर पेटभरि भात खान गाउँमै थियो । यिनले पेटभरि भात पनि खान नपुग्ने यो शहरमा आउने रहर किन गरेका होलान् भन्ने लागेछ । अनि केही वर्षपछि आफू पनि शहरिया बनेछन् । त्यसपछि उनले पनि स्वास्थ्यको निम्ति उचित हुन्छ भनेर तिनै आफन्तको घरमा जस्तै खाना खान थालेछन् । अनिमात्रै उनले ती आफन्तले किन पातलो दाल, दुई त्यान्द्रा साग र दुईवटा रोटी खाँदा रहेछन् भन्ने जानकारी पाएछन् । अर्थात् हामीले बनाउने कतिपय धारणाहरू समयानुसार परिवर्तनशील हुन्छन् । हामीलाई आफ्नै कुरा उचित हो भन्ने लाग्दा लाग्दै पनि हामी भ्रममा हुने गर्दछौँ । आज परिस्थिति केही फरक छ ।
हामीले खोज्ने भनेको पुरानै कुरा हो भन्नेभाष्य तयार हुँदै पनि छ । हिजो गाउँमा दुःख परेर आटोढिँडो खाँदा तरक्क आँखाबाट आँसु झारेकाहरू आज शहरमा आएर सम्पन्न भएपछि ठूला होटलमा महँगो मूल्य तिरेर गुन्द्रुक र ढिँडो अडर गरेर स्वाद मानीमानी खान थालेका छन् । त्यसैलाई स्वस्थकर, त्यसैलाई अर्गानिक भनिरहेका छन् । त्यतिमात्र होइन शहरमा पुगिसरी भएर पनि उही गाउँघरमा झैँ दालभात खाएको वा गुन्द्रुकढिँडो खान नसकेकोमा छिमेकीलाई होच्याइरहेका छन् । हामी त अरू नभए पनि साताको एक दिन रिसोर्ट जाने, लोकल चिजहरूको स्वाद लिने, गाउँघरमा उब्जिएका अर्गानिक खानेकुरा खाने गर्छौँ भनेर धाक लगाइररहेका हुन्छन् । अर्थात् जे कुरा पनि पुरानै ठीक भन्न थालेका छन् ।
गाउँघरको बसाइ ठीक, आटोढिँडोको खाना ठीक, घाँस चरेका गाईभैँसीको दूधघ्यू ठीक, गाउँकै खसीबोकाको मासु ठीक, काम गरेर पसिना चुहाएको शरीर ठीक, बाबुबाजेले सिकाएको संस्कार ठीक, परिश्रम गरेर खाने बानी ठीक । यहाँसम्म कि शहरमा प्रेम गर्नको निम्ति लभको लामो एक्सपेरियन्स भएकी शहरिया धनी युवती छान्ने युवकले पनि बिहे गर्नको निम्ति गाउँघरमा हुर्किएकी, परिवारको संस्कार सिकेकी सोझी कन्या एवम् शहरिया युवतीले पनि बिहेको निम्ति गाउँको सज्जन, सरल प्रकृतिको केटा ठीक भन्न थालिएको छ । एवम् क्रमले सबै कुरा अर्गानिक ठीक लाग्दैछ । हाम्रै पुस्तामा यसरी पुराना कुराहरू ठीक मानिँदै जान थालेको अवस्था छ ।
अस्ति मात्रै सामाजिक सञ्जालमा पढेको थिएँ अरबका नवाब साहेबका छोरालाई कसैले सोधेछ तिम्रा बाबुहरू उँट चढेर जीवन बिताए तिमीहरू फरारे चढिरहेका छौँ अब आउने पुस्ताले के चढ्ला ? भन्दा उनले भनेछन् हाम्रा पिताजीहरूले परिश्रम गरे त्यसको प्रतिफल हामीले फरारे चढ्न पायौँ हाम्रा सन्तान अहिले कुनै परिश्रमै नगरी हाम्रो कमाइमा रजगज गर्दै छन् । यसरी नै परिश्रम नगर्दै जाने हो भने हाम्रा सन्तति फेरि उँट चढ्ने हुनेछन् भनेर जबाफ दिएछन् । हामी पनि यही दृष्टान्तकै वरपर छौँ । केही परिश्रम बाबुबाजेले गरिदिए केही परिश्रम हामीले थप्यौँ र आज हामी कतिपय मोटर चढ्ने हैसियतमा पुगेका छौँ ।
मास्टर भएर पनि मोटर चढेर हिँड्ने ? भनेर कसैकसैले मेरो इमान्दारी र नैतिकतालाई छोएर प्रश्न उठाउँदा कतै गल्ती त गरिएको छैन मोटर चढेर भन्ने लाग्छ । हुन पनि हो शब्दको व्यवशाय गरेर आर्जेको मेरो पैसाले त पिपलगेडी किन्नमात्रै सकिन्छ । सायद हामी पछिको पुस्ताले हाम्रो परिश्रमको प्रतिफल खान पाउला तर त्यसपछिको पुस्ता पुनः पुरानै अवस्थामा नआउला भन्न सकिन्न । तर एउटा प्रश्न अझै अनुत्तरित छ । ए सरकार ! आमनेपाली नागरिकलाई पेटभरि धानको भात खान पुग्ने दिन कहिले आउला ?
ए सरकार ! आमनेपाली नागरिकलाई पेटभरि धानको भात खान पुग्ने दिन कहिले आउला ?
चुरो विषय आखि यही रहेछ।के यो उपलब्ध हुने राजनीति र अर्थनीति यो देशका जनताले साच्चै देख्न र भोग्न नपाउने नै हो त ?