काठमाडौं । ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ ‘करेन्ट इस्यु’मा हत्तपत्त प्रतिक्रिया जनाउन हतार नगर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार मुख खोल्नुभयो । यति सुनेपछि पत्रकारहरूले प्रतिप्रश्न गरे, ‘गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’
पछिल्लो समय व्यवस्था, सरकार र पुराना दलहरूविरुद्ध जनआक्रोश बढिरहेका बेला उहाँ ढुक्क देखिनुभयो । उसो त उहाँ मात्रै होइन ‘गणतन्त्रवादी’ भनिएका अधिकांश नेताहरू लोकतन्त्रको विकल्प देख्दैनन् । तर, व्यवस्था उल्ट्याउन दृश्य/अदृश्य शक्तिहरूले षड्यन्त्र गरिरहेको भने देख्छन् । संविधान र गणतन्त्र उल्ट्याउन नेपथ्यमा ‘षड्यन्त्र’ भइरहेको उनीहरू बारम्बार बताउँछन् । यसबारे सबैभन्दा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चिन्ता छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ । शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकठाउँ उभिएर परास्त गर्नुपर्छ,’ उहाँले प्रायः दोहो¥याइरहने भनाइ हो ।
केही दिनअघि बसेको गणतन्त्रवादी दलहरूको बैठकको मूल एजेण्डा नै यही बनेको थियो । उनीहरूले संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका पक्षमा हामी सधैँ, सबै, सँगै छौँ ।’ उनीहरूले राजावादी र पूर्वराजाविरुद्ध पनि आक्रोश पौख्दै आएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि पूर्वराजालाई राजतन्त्र फर्काउने च्याँखे नथाप्न सुझाव दिनुभएको थियो । ‘राजा फर्काउँछु भनेर कोही आउँछ भने राजाले पनि जुवाको खालमा गएर च्याँखे थाप्ने होइन, च्याँखे खालमा दाउ नराख्नुस् महाराज,’ उहाँको भनाइ थियो,’ ‘खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस तयार छ । जाने पार्टी खोल्ने, चुनाव लड्ने । बहुमत ल्याउने, संविधान बदल्ने फर्काउने ।’ उहाँ मात्रै होइन गणतन्त्रवादी दलका अधिकांश नेताहरूले बारम्बार यसैगरी, पूर्वराजालाई चेतावनी दिइरहन्छन् । पूर्वराजा भने पछिल्लो समय मौन बस्नुभएको छ ।
इतिहासको चक्का अग्रगमनतिर बढ्छ, पछाडि फर्किन्न : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताउनुभएको छ । सोमबार छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको बताउनुभयो । मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन्,’ उहाँले भन्नुभयो, ‘तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किँदैन । यो परिवर्तनका वाहक दल, नेता, संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’
जनताले फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । सोमबार चितवन पुग्नुभएका देउवाले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताउनुभयो । ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ उहाँले भन्नुभयो,’ ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन । देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रको विरुद्धमा हुने कुनै पनि गतिविधि मान्य छैन ।’ गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने स्पष्ट पार्नुभएको छ । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने दाबी गर्दै भन्नुभयो, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’ सोही कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताउनुभयो । जिल्ला सम्मेलनमा कांग्रेसका अन्य विभिन्न नेताहरूले समेत सम्बोधन गरेका थिए ।
सरकार व्यवहारमा सफल देखिएन, देश समस्याग्रस्त हुँदै छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा बढ्दै गइरहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनतामा अन्योल र निराशा बढ्दै गएपछि एमालेले मध्यपहाडी लोकमार्ग यात्रा गर्न लागेको बताउनुभएको हो । सरकार व्यवहारमा सफल देखिन नसकेको भन्दै देश समस्याग्रस्त हुँदै गएको उहाँको भनाइ छ । ‘जनतामा अन्योल र निराशा बढ्दै गएको छ । युवाहरू पलायन भइरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन । देश समस्याग्रस्त हुँदै गएको छ । यसको कारण के हो ? र यसको समाधान कसरी निस्किन्छ ?’ अध्यक्ष ओलीले भिडिओ सन्देशमा भन्नुभएको छ, ‘प्रत्यक्ष रूपमा जनतासँग संवाद गर्न हामी यही मंसिर १४ गते बिहानबाट महाकाली किनार झुलाघाटबाट चिवा भञ्ज्याङ पूर्वको सिमाना सम्मको यात्रा गरिरहेका छौँ । मैले विश्वास लिएको छु । यो यात्रा समृद्धि यात्रा सार्थक र सफल रहनेछ ।’
देशलाई मुक्त गर्ने एक मात्र बाटो संघीय जनगणतन्त्र स्थापना हो : वैद्य
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई संघीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गर्नुभएको छ । सोमबार विज्ञप्ति जारी गर्दै उहाँले देश भयावह अवस्थाबाट गुज्रिरहेको तथा जनता वर्तमान व्यवस्थाको विकल्पको खोजीमा रहेको बताउनुएको छ । जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गर्दै पश्चगामी शक्तिहरू संघीयताविरोधी र धर्म निरपेक्षता जस्ता सीमित अधिकारहरू समेतका विरुद्धमा राजा आऊ देश बचाऊ भन्ने नाराहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेको उहाँको भनाइ छ । ‘नयाँ दलालहरू सत्ता र व्यवस्था होइन नेताहरू बदमास हुन् भन्दै आफूलाई साम्राज्यवादको विश्वासिला चाकरका रूपमा पेस गर्न उद्यत छन्,’ उहाँले भन्नुभएको छ, ‘सत्ताधारीहरू आफ्नो वर्चस्वको रक्षा गर्न हरसम्भव कोसिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ । यो अवस्थाबाट देशलाई मुक्त गर्ने एक मात्र बाटो भनेको संघीय जनगणतन्त्र नेपालको स्थापना हो ।’
बृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको प्रस्ताव
कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहनेहरू एकजुट हुनुपर्ने निर्णय गरेको हो । समान विचारधारा भएकाहरू छरिएर होइन, जुटेर जाँदा देशमा सकारात्मक परिवर्तन सम्भव हुने राप्रपाको ठहर छ । अहिले नेतृत्व वा समूहगत स्वार्थका निम्ति झगडा गर्ने बेला नभएको राप्रपाले जनाएको छ । बैठकले वर्तमान व्यवस्था असफल भएको निष्कर्ष निकालेको छ । जनता विकल्पको खोजीमा रहेको उल्लेख गर्दै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको राप्रपाले जनाएको छ ।
राजसंस्थाका पक्षमा धर्मगुरुसमेत सडकमा, गौशालामा तनाव
दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरुहरू समेत सडकमा देखिए । विवादास्पद धर्मगुरु भनिने आचार्य श्रीनिवास पनि प्रदर्शनमा उपस्थित उपस्थित हुनुभयो । आन्दोलनमा आफ्ना समर्थकसहित गएर उहाँले उग्र अभिव्यक्तिसमेत दिनुभयो । गेरुवस्त्रमा त्रिशूलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गर्नुभएको थियो । त्यसक्रममा उहाँले धार्मिक अतिवादी समूहहरूलाई समेत बोलाउनुभएको थियो । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आउनुभएका व्यक्ति हुनुहुन्छ ।
व्यवस्था परिवर्तन गर्न भन्दै पाँच दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहनु भएका प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा झडपसमेत भएको थियो । प्रदर्शनकारीहरूले गौशालाको मूलसडक कब्जा गर्दै आन्दोलन सुरु गरेपछि झडपको स्थिति सिर्जना भएको थियो । प्रसाईं समर्थक र केही धर्मगुरुले सम्बोधन गरेपछि झडपको स्थिति आएको हो । धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको हो ।
साहित्यकार सौरभको प्रस्ताव- अबको राजा हृदयेन्द्र
विश्लेषक तथा साहित्यकार सौरभ सत्याल राजसंस्था पुनःस्थापनाको पक्षमा देखिनुभएको छ । काठमाडौंमा ‘नागरिक आवाज’ शीर्षकमा आयोजिक एउटा कार्यक्रममा उहाँले देशले राजा खोजेको प्रतिक्रिया दिनुभयो । जनताले ज्ञानेन्द्र शाह र पारस खोजेको नभई विदेशीले फेर्न नसक्ने ‘हेड अफ स्टेट’ खोजेको बताउनुभयो । ‘यस्तो कानुनी व्यवस्था होस् कि हाम्रो हेड अफ स्टेट विदेशीले फेर्न नसकून् । ज्ञानेन्द्र, पारस खोजेको होइन, हृदयेन्द्र भए पनि हुन्छ,’ सौरभले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच