भेडी गोठमा बित्यो रनबहादुरको साढे छ दशक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । तमानखोला गाउँपालिका-५ खुङ्खानीका रन बहादुर सिर्पाली उमेरले सात दशक पार गर्नु भयो । उमेर घर्कदै गए पनि उहाँमा काम गर्ने जोस जाँगर भने तन्नेरीको भन्दा कम छैन । विहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय पचास बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मंसिरमा बेसी झर्नु भएका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थाल्नु भएको छ । सिपार्ली आफ्ना भाई देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा हुनुहुन्छ ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरि चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रंगका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आउनु भएका सिर्पालीको यात्रा अहिले पनि नडमगाई निरन्तर चलि रहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनु भएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित हुनुहुन्छ । भाई देवबहादुरले पनि सानै उमेरदेखि यही पेसामा आवद्ध हुँदै आउनु भएको छ । ६० वषीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाईसँग सहकार्य गर्दै आउनु भएको छ । उहाँहरुले भेडाहरु हुलमुलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रंगहरु लगाइ दिनुभएको छ । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नु पर्ने रनबहादुरको भनाइ छ ।

उहाँले आफ्ना पालामा अहिलेको जस्तो पढ्ने लेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखिनै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताउनुभयो । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताउनुभयो । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उहाँको भनाइ छ ।

“पहिले-पहिले एकै जनाको दुई/तीन हजार भेडा हुन्थे, अहिले त भेडापाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीहरुको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडापाल्ने भयो” रनबहादुर भन्नुहुन्छ- “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नु पर्‍यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गाेठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाँहदा परम्परागत भेडापालन बिस्तारै हराउँदै गएको छ । केही समय अगाडीसम्म बागलुङको उच्च पहाडी क्षेत्रहरुमा भेडा गोठाले र भेडाहरु प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेहरुको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउनुहुन्छ ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताउनुभयो । उहाँले पाँच भाईबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताउनुभयो । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाई छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यस तर्फ चासोनै नदिएको देवबहादुर बताउनुहुन्छ । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखाहरु सुनसान हुने उहाँको भनाइ छ ।

देवबहादुर भन्नुहुन्छ- “भेडा चराउन निकै टाढा-टाढा पुग्नु पर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडीसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालेहरुको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडाहरु पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।”

भेडाको सुरक्षाका लागि उहाँहरुले तीन वटा कुकुरसमेत पाल्नुभएको छ । उहाँहरु जता जानुहुन्छ, भेडा र कुकुर पनि र उतै लैजाने गर्नुहुन्छ । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाई छ । उहाँहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आउनु भएको छ । उहाँ राती सुत्ने बेला पनि भेँडा उहाँहरुकै छेउँछाउमा बस्ने गर्नुहुन्छ । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकहरुलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकहरुले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकहरुलाई अनुदान भनेको थाहानै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताउनुभयो । उहाँले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताउनुभयो ।
“पशुपालनका लागि तमानखोला उर्वर मानिन्छ, यहाँ घना जंगल र भईँ घाँसका लागि प्रसस्त ठाउँहरु छन्, परापूर्वकदेखिनै यहाँका स्थानीयले भेडा पालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,”

अध्यक्ष बुढा मगरले भन्नुभयो- “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रबिधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?