सप्तरीका युवाहरूले दिउँसै लाइट बालेर सांसद तथा मन्त्री खोजे

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरीका युवाहरू बुधबार दिउँसै लाइट बालेर सांसद तथा मन्त्री खोज्न राजविराज बजार निस्किएका छन् ।

शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणको काम सुरु नभएपछि दबाब दिन उनीहरूले सांसद र मन्त्रीको खोजी गरेका हुन् ।

सप्तरी युथको नेतृत्वमा राज रङ्गशालाबाट निस्किएका युवाहरूले गजेन्द्र चौक, नेता चौक र आसपासका क्षेत्रमा लाइट बालेर सांसद र मन्त्रीको खोजी गरे । सांसद र मन्त्री कतै नभेटिएपछि उनीहरूले नेता चौकमा कोणसभा गरे ।

कोणसभामा युवाहरूले प्रतिष्ठान निर्माणको काम तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले भोलि जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घन्टा धर्ना दिने सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले बताउनुभयाे ।

१४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने रहेको कार्यक्रम रहेका राम कुमार दासले बताउनु भयो ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । यद्यपि अहिलेसम्म डिपिआर निर्माण बाहेक त्यहाँ केही काम भएको छैन ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?